एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, बेलायत पुगेका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपी रुद्र आचार्यलाई फिर्ता ल्याउन नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन’ नोटिस जारी गरे पनि बेलायतमा रहेको इन्टरपोलको एनसिबीले अदालतको पक्राउ आदेश माग गरेको छ।

आचार्य बेलायतमा रहेको सूचनाका आधारमा नेपाल प्रहरीले उनको पक्राउमा सहयोग माग्दै फागुन २१ गते डिफ्युजन नोटिस जारी गरेको थियो। नोटिस जारी भएसँगै इन्टरपोलको एनसिबीले ‘अदालतबाट आचार्यको नाममा वारेन्ट जारी भएको अवस्थामा मात्रै सहयोग गर्न सकिने’ जवाफ पठाएको स्रोतले बतायो।

फाइल तस्वीरः आमरण अनसनमा रहेका कृष्णप्रसादका बाबु नन्दप्रसाद।

हत्यामा पोलिएका ११ जनाको सूचीमा आचार्यको नाम थिएन। अनुसन्धानमा खटिएको चितवन प्रहरीले किटानी जाहेरीमा नाम उल्लेख नभएका आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल’ भनिने मदन पौडेल संलग्न रहेको निष्कर्ष निकालेको थियो। स्रोतका अनुसार लामिछाने र पौडेल द्वन्द्वकालमै सुरक्षाकर्मीसँगको भिडन्तमा मारिइसकेको प्रहरी रेकर्ड फेला परेको आजको नागरिक दैनिकमा छापेको छ।

प्रहरीले आफ्नो अनुसन्धानमा कृष्णप्रसादलाई बकलरचोकबाट कब्जामा लिएर अपहरण शैलीमा लग्नेमा तीनजना संलग्न रहेको र गोली हानी हत्या गर्नेमध्ये आचार्य एक भएको खुलाएको थियो।

२०५७ मा माओवादीमा लागेका चितवन रत्ननगर नगरपालिका–८ का आचार्य २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट’ भिसामा बेलायत गएको प्रहरीले जनाएको छ। प्रहरीले पाएको सूचनाअनुसार उनी उत्तरी आयरल्यान्डमा रहेको खुलेको हो। स्रोतका अनुसार बुधबार सरकारी वकिलको कार्यालयमा बुझाइएको रायसुझावमा आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको राय दिइएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस