Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

डा.वानीरा गिरीलाई पाँच लाख रूपियाँको पुरस्कार

डा.वानीरा गिरीलाई पाँच लाख रूपियाँको पुरस्कार
विश्व नारी साहित्य सम्मेलन जेठमा हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं। त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ आगामी जेठ १५, १६ र १७ गते काठमाडौंमा हुने भएको छ। सम्मेलनमा नेपालभित्रका १४ अञ्चल र नेपालबाहिरका २० राष्ट्रका नारी स्रष्टाहरूले कार्यपत्र मार्फत आआफ्नो उपस्थिति जनाउने छन्।

सम्मेलनमा भाग लिने राष्ट्रहरूमा अफ्रिका, अमेरिका, अस्ट्रिया, अस्ट्रेलिया, इजरायल, ओमान, द.कोरिया, क्यानाडा, चीन, जर्मनी, जापान, नर्बे, पोर्चुगल, फ्रान्स, बहराइन, बेलायत, भारत, भियतनाम, म्यान्मा, स्विट्जरल्यान्ड रहेका छन्।

सम्मेलन समारोहमा ‘नेपाली साहित्यका विश्व नारी रत्न’ डा. वानिरा गिरीलाई पाँच लाख रूपियाँ राशिको पुरस्कारसहित ‘नेपाली साहित्यका विश्व नारी रत्न’ को औपचारिक उपाधि प्रदान गरिने छ।

डा. वानिरा गिरी त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका साथ


सम्मेलनमा सन्ध्या पहाडी र सुनीता कार्की संयोजक र सहसंयोजक रहेको केन्द्रीय स्वागत समितिको पनि गठन गरिएको छ। सो सम्मेलन’का अवसरमा १४ वटा पुस्तक प्रकाशन गरिने छन्। जसअनुसार सन्ध्या पहाडी र रजनी ढकालको सम्पादनमा विश्व नारी नेपाली कविता, इन्दिरा शाह र उषा हमालको सम्पादनमा विश्व नारी नेपाली कथा, उषा शेरचन र गीता कार्कीको सम्पादनमा विश्व नारी नेपाली निबन्ध, बाबा बस्नेत र ललिता दोषीको सम्पादनमा विश्व नारी नेपाली नाटक र प्रा.डा.उषा ठाकुर तथा लीला लुइटेलको सम्पादनमा विश्व नारी नेपाली समालोचना प्रकाशित हुनेछन्।

साथै नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा कवितामा वानीरा, वानीरा गिरीको कृतिस्तम्भ, विश्व नारी नेपाली साहित्यको रेखाङ्कन र चौध अञ्चलमा नारी साहित्य नामक ग्रन्थहरू पनि त्यसै सम्मेलनका अवसरमा प्रकाशित हुने भएका छन्। त्यसै गरेर रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारीद्वारा लिखित विश्व नारी नेपाली साहित्यःपरम्परा र प्रवृत्ति, प्रा.डा. गार्गी शर्माद्वारा लिखित विश्व नारी नेपाली साहित्य विवेचना, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा लिखित विश्व नारी नेपाली स्रष्टा कोश र नरेन्द्रराज प्रसाईद्वारा लिखित नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी र त्रिनारी रत्न नाउँका कृति पनि प्रकाशित हुने भएका छन्।

सम्मेलन’मा काठमाडौं उपत्यका बाहिरबाट भाग लिन आउने अञ्चल सम्मेलनका पदाधिकारी, जिल्लासम्मेलनका अध्यक्षहरू तथा भारतबाट आउने नारी स्रष्टाहरूलाई यातायात खर्च दिइने छ। सम्मेलनमा जम्मा पचास लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by