धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । नेपाली नयां बर्ष २०७१ को अवसर पारी बेलायतका विभिन्न शहरमा आयोजना गर्न लागिएको ‘मह यात्रा २०१४’ बारे लण्डनमा जानकारी गराईएको छ।
‘मह यात्रा २०१४’ आयोजक कमिटिले शनिबार इलिङस्थित मण्टिज रेष्टुरेण्टमा पत्रकार सम्मेलनगरी कार्यक्रम सम्बन्धि जानकारी दिएको हो। ‘मह’ यात्रा २०१४ का संयोजक कुल आचार्यले नेपालका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) का साथै गायिका अन्जु पन्त, मोहित आचार्य र नरेन्द्र कंसाकारको समूह बेलायत आउने बताए। कलाकारको टोली आगामी अप्रिल २४ मा ‘मह’ यात्राका लागि बेलायत उत्रनेछन।
मह यात्राको पहिलो कार्यक्रम स्वरुप २६ अप्रिल सांझ शनिवार अल्डरसटस्थित प्रिन्सेस हल, आइतबार २७ अप्रिल सांझ लन्डनस्थित ह्यारो लिजर सेन्टर र ४ मे मा हकिङ्ज कम्युनिटी सेन्टर, फोल्क्स्टोन केन्टमा हुनेछ। तीन घण्टा लामो सांगीतिक कार्यक्रममा सहभागिहरुले भरपूर मनारेञ्जन लिने कार्यक्रममा व्यवस्थापक सपन कुमार राईले जानकारी दिए। अल्डरसट, ह्यारो र फोल्क्स्टोन बाहेक नेपाली समुदायको अनुरोध आएमा अन्य कार्यक्रमहरु पनि आयोजना गर्न सकिने राईले बताए। कार्यक्रम सांझ ६.३० बजे शुरु हुने आयोजकले बताएका छन्।
नेपाली कला संस्कृतिको जगेर्ना गर्न र ख्यातिप्राप्त नेपाली कलाकारहरुको सम्मानमा बेलायतवासी नेपालीहरुको अपार सहभागिताको अपेक्षा गरेका छौं, संयोजक आचार्यले भने, ‘अहिलेदेखि नै थेग्न नसक्नेगरी टिकेटको माग भइसकेको छ।’ आफ्नो मातृभूमिका लोकप्रिय कलाकारहरुको साथमा नयां वर्ष शुभकामना आदानप्रदान गर्न यो कार्यक्रमको परिकल्पना गरिएको आचार्यको भनाई थियो।
बेलायतका विभिन्न स्थापनमा बर्षौदेखि कार्यक्रम तथा साउण्ड सिस्टम व्यवस्थापन गर्दै आइरहेको सपन इन्टरटेनमेन्ट लि. ले मह यात्रा प्रस्तुत गर्न लागेको हो। तीन स्थानमा गरिने कार्यक्रमबाट करीब तीनहजार बढि नेपाली सहभागिता हुने अपेक्षा गरिएको आयोजक मध्येका एक वीरेन खड्काले जानकारी दिए।
व्यवसायिक उद्देश्यका साथ महयात्रा कार्यक्रम शुरु गरिएतापनि कार्यक्रमबाट उठेको केही रकम सामाजिक काममा खर्च गर्न सकिने आयोजकले बताएका छन्। यद्यपि, त्यसबारे भने केही खुलाईको छैन। सो अवसरमा सहभागी पत्रकारहरुलाई ‘मह यात्रा २०१४’ व्यवस्थापन समितिले खादा लगाई सम्मान गरेको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस