राजेश राई / एचकेनेपाल डट कम –
काठमाडौँ, २२ चैत्र। भूतपूर्व गोरखा सैनिक र तिनका परिवारले विश्वयुद्धमा मारिएका गोरखाहरूलाई आज यहाँ स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। गोरखा सैनिक आवाज मासिकले अप्रिल ५ अर्थात् पुर्खा दिवसको सन्दर्भमा राजधानीको होटल हार्दिकमा आयोजना गरेको पुष्पअर्पण तथा विमर्श कार्यक्रममा गोरखा सैनिक तथा तिनका परिवारजनले विश्वयुद्धमा मारिएका गोरखा सैनिकहरूको नाममा गोरखा सैनिकको तस्बीरमा फूल तथा खादा चढाएर श्रद्धाञ्जलि व्यक्त गरे।
कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति पदमबहादुर गुरुङले विश्वयुद्धमा मानव ढाल बनाउनको निमित्त बेलायतले नेपालका सोझासाझा युवाहरूलाई बलजफ्ती लगेर मारेको तर आजसम्म तिनको अवस्था सार्वजनिक नगरेकोले बेलायतलाई युद्ध अपराधको मुद्दा लगाउने तयारी भइरहेको बताए। उनले लाखौँ नेपाली जनजाति युवाहरूलाई नेपालले बेचेको र बेलायतले खरिद गरेर अमानवीय दूव्र्यवहार गरेको आरोप लगाए। उनले भने, ‘विश्वयुद्धमा तीन लाख गोरखाहरु लगिएका छन्, तिनीहरु कहाँ छन्? साठीहजार मारिएका छन्, तिनलाई मार्नुपर्ने उनीहरूको के दोष थियो?’
उनले नेपाल र बेलायती शासकहरूको चेपुवामा परेर निर्दोष गोरखाहरूलाई मानव ढाल बनाइएकोले नेपाल र बेलायतलाई हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा उभ्याउने तयारी भइरहेको बताए। उनले गेसोले मे ८ तारिखमा बेलायत र नेपाल सरकार दुवैलाई प्रश्नहरू राख्ने र त्यसको चित्त बुझ्दो जवाफ नआए दुई सय वर्षको दौत्य उत्सव मनाउन नदिने समेत चेतावनी दिए।
कार्यक्रममा गोरखा अध्येता डा. देवकुमारी गुरुङले गोरखाहरूलाई बेलायतले चरम दुर्व्यवहार गरेकोले गोरखाली समुदाय आन्दोलित हुन बाध्य भएको बताइन्। उनले भनिन्, ‘गेसोले जुन आन्दोलन गर्यो, त्यसले बेलायती साम्राज्यको जग हल्लाएको छ, यो आन्दोलन सामान्य ताकतले गर्न सकिँदैन थियो।’ गोरखाहरूलाई भाडाको सिपाही भनेर उल्लेख गरिनु कथित विद्वानहरूको वेवकुफी भएको बताउँदै उनले सच्चा इतिहास उद्घाटन हुन बाँकी रहेको बताइन्। उनले विश्वयुद्धमा होमिन बाध्य तुल्याई विश्वशान्ति स्थापनामा योगदान गरेका गोरखाहरूलाई बेलायतले अन्याय गर्नु अमानवीय भएको र सच्चा नेपालीले बेलायतलाई कानुनी चुनौती दिन सक्नुपर्ने बताइन्।
कार्यक्रममा गोरखा अभियन्ताहरू इन्द्रकुमारी राई, बुद्धिराज राई, रत्न राई, सुनिता गुरुङलगायतले बेलायतसँगको न्यायिक लडाइँ नसकिएको र ताकेको उपलब्धि हासिल गरेर गोरखाहरूको इतिहास उँचो बनाइ छाड्ने उद्घोष गरे। कार्यक्रममा लेखक, पत्रकार, बुद्धिजीवीलगायतले गोरखा पुर्खाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
