सन्तोष थलङ (लिम्बू) / एचकेनेपाल डट कम-
मार्च २० तारिखका दिन गोरखा सत्याग्रह आन्दोलनको अति महत्वपूर्ण चरण ‘मैखिक गवाही” को क्रममा फिलिपिन्सबाट गोरखाहरुका लागि गवाई दिन आफ्नै खर्चमा आएका कर्णल ह्यामिस आडमको प्रेजेन्टेसन (Oral evidence) थियो। हाउस अफ पार्लियमेन्टको कोठा नम्बर १४ गोरखाली दाजुभाइ, दिदीबहिनिहरुले टनाटन भरिएका थिए। मञ्चमा सर्वदलिय संसदिय छानविन समिती (APPC)की अध्यक्ष ज्याकी डोयल प्राइस, अर्का एक एम.पी, साइडमा प्रोजेक्टर स्क्रिन र छेउमा केही रिपोर्टरहरु थिए।

कर्णल ह्यामिस आडमका वरीपरी नजिकमा सत्याग्रहका पदाधिकारीहरु र उनका बयानलाई प्रमाणित गर्ने साक्षत प्रमाण पात्रहरु थिए। समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले कार्यक्रमलाई औपचारिकता दिए पश्चात कर्णल ह्यामिसले उनको लिखित बयान वाचन गर्न आरम्भगरे। साथमै रहेकी उनको छोरीले प्रोजेक्टरबाट उनले वाचन गरेका सम्पूर्ण अविलेखहरु सेतो पर्दामा देखाउँदै गईन। उनको तर्कपूर्ण एवम सत्यतथ्य प्रमाणसहितको बयानले, कारीव १५० जति गोरखाली दाजुभाइ, दिदिबहिनीहरुले भरिभराउ कोठा सुनसान भयो।

एमपीहरुलगायत सबैको ध्यान कर्णलको बयानमा एकोहोरो केन्द्रित भाईरह्यो। उनले लगातार २ घण्टा लिखित बयान पढिसके पश्चात १ घण्टाको बिश्राम भयो। त्यस पश्चात फेरी लगातार अर्को २ घण्टा बयान वाचन गरे। उनले जम्मा जम्मी लगातार ४ घण्टा बयान दिए। त्यति लामो बयानमा उनले के भने र कस्तो थियो तर्क भन्ने बिषय प्रमुख थियो र हो।

उनको बयानमा, त्रिपक्षीय सन्धी अन्तर्गत बेलायतले कुन कुन धारा उपधारा उलंघन गरेर गोरखाहरुलाई कस्ता कस्ता बिभेद गरिएकोछ भनेर सत्यतथ्य किटानसहित साक्षत प्रमाण (साँक्षी)हरु पेशगरे। सबै खाले पेन्सनको बिषयमा बेलायती समकक्षीहरु भन्दा कति कम दिईन्छ भनेर तुलनात्मक तथ्याङ्क नै प्रस्तुत गरे GOTT, GPS, AFPS बिभिन्न स्वेच्छिक नियम थोपरेर अन्याय गरेको दावी गरे।

गोरखाहरुले १९९७ अघि बेलायतभन्दा बाहिर देशहरुमा गरेको सेवाहरु पेन्सनको लागि १/३ मात्र गनिने नियम हदैसम्मको अन्याय भएको र १९९७ को समयसिमा राखिनु नै षड्यन्त्र भएको प्रष्ट गरे। बिभिन्न वहानामा १० वर्ष नपुगी रिडन्डन्सीमा पठाईेएकाहरुलाई जगेडा पेन्सन नदिएर अन्याय गरेको जानकारी गराए। गोरखा बिधवा पेन्सन सर्भिस पेन्सन भन्दा कम्ती भएको साथै सबै प्रकारको पेन्सनको क्षतिपूर्तिसमेत दिन पर्ने माग दावी गरे।

सेवामा छँदा गोरखाहरुलाई रासन, बस्ने ब्यारेकलगायत बिभिन्न सुबिधाहरुमा गरिएको अमानवीय बिभेदको बिषयमा तथ्यगत बयान प्रस्तुत गरे। गोरखाहरुलाई १५ वर्षको सेवाकालमा कारीव ३० महिना लङलिभको नाममा तलव नदिएको रहस्य समेत उजागर गरे। १८ वर्षमाथिका गोरखाका छोराछोरीहरुको बिषयमा, १९९७ भन्दा पहिला गोरखाहरुका परिवार वेलायत ल्याउन नदिएकोले, उनीहरु युकेको ILR/ILE पाउनबाट बञ्चित भएकाले, उनीहरुलाई UK आउने बस्ने सहज व्यवस्था मिलाउन पर्ने माग राखे। त्यस्तै, गोरखाहरुलाई १५ बर्षको सेवाकालमा २ देखि ३ वर्षमात्र आफ्नो परिवार आफूसँग राख्नपाउने अमानवीय अन्याय भएको दाबी गरे।

बेलायत सरकारले बि.एम.एच धरान उठेपछि नेपालमा भूपू गोरखाहरुलाई स्वास्थ्य सुविधामा ध्यान नदिएको, हाल जेजति औषधी उपचार भईरहेको छ त्यो गोरखा वेलफेयर ट्रष्टको बजेटबाट गरिएको प्रष्ट पारे। ईण्डियाले भूपू ईण्डियन गोरखाहरुलाई निशुल्क स्तरीय स्वास्थ्य सुविधा उपल्व्ध गराइरहेको तर बेलायतले त्यही सुविधा उपलव्ध गर्न नसक्नु लाजमर्दो बिषय भएको दाबी गरे।

वेलायत सरकारले ब्रिगेड अफ गोरखाजमा बेलायती सेनामा हुँँदै नभएको नियम, कानून बनाएर निर्दोष गोरखाहरुलाई बिभिन्न किसिमको नसियत दिईेएकोछ, बर्खास्त गरिएकोछ भन्दै धेरै उदाहरण प्रस्तुत गरे। यसै शिलसिला उनी क्विन गोरखा सिग्नलको कमाण्डिङ अफिसर छँदा उनका एकजना कर्पोरललाई बिदेशी महिला विवाह गरेको अभियोगमा नचाहँदा नचाहँदै बर्खास्त गर्न परेको तितो अनुभव सुनाउँदै पीडित गोरखा (कर्पोरल)सँग संसदिय समितिको अघि सार्वजनिक रुपमा क्षमा मागे। उनले भने “ब्रिगेड अफ गोरखाजमा भएका बिभेदकारी नियम कानूनहरु खारेज गरी गोरखाहरुलाई वेलायती समकर्क्षीहरुसरह समान तलव सुबिधा कायम गराउन अनेकौं प्रयास गर्दा पनि म एकलो भएकोले असफल भएँ।

त्यसैले नचाहँदा नचाहँदै विवश भएर त्यही नियम कानून अन्तरगत तपाईंहरु धेरैलाई कार्वाही गर्न वाध्य भएँ। यसको लागि म तपाईंहरु सबैसँग क्षमा चाहन्छु। यस्तो अमानवीय व्यवहार गर्न वाध्य गराउने संगठनमा सेवा गरिरहन मेरो नैतिकता, मूल्य र मान्यताले उपयुक्त ठानेन। त्यसैले मैले तत्काल सैन्य सेवा त्याग गरें।” यो उनको भनाइ सुनिरहेकी छानविन समितिकी अध्यक्ष ज्याकी डोएल प्राइसले केही कुरो बोल्न खोजिन् तर गला अवरुद्ध भयो बोल्न सकिनन। आँखाभरी आँसु छछल्की रहेको थियो।

कर्णलसँगै बसेकी उनको छोरीको आँखाबाट आँसु बरर झरि रहेको थियो। त्यसैगरी हलमा एक प्रकारको सन्नाटा छाएको थियो। उनका वरीपरी बस्ने सत्याग्रहका पदाधिकारीहरुलगायत अरु सबैका आँखा रसाएका थिए। उनका सत्यतथ्य एवम मार्मिक र तार्किक बयान सकिएपछि जवाफमा APPC की अध्यक्ष प्राइसले “गोरखाहरुमाथि भएको यो घोर अन्यायप्रति म बेलायत सरकारको प्रतिनिधिको हैसियतले क्षमा चाहन्छु भन्दै आज मलाई आफु बेलायती नागरिक हुनुमा घृणा बोध भएको बताईन्। त्यस्तै अर्का समितिका सदस्य एवम साउथहल कण्सीच्यूयन्सीका एमपिले आक्रोशित भएर “यो एक्काइसौं शताव्दीमा यस्तो अन्यायको परिकल्पना पनि गर्न सकिदैन। यो अन्यायको बिरुद्धमा लड्न म मेरो ठाउँँबाट मलाई उपलब्ध सबै अधिकार र सामर्थ्य प्रयोग गर्न चुक्ने छैन।” भन्दै प्रतिबद्धता जाहेर गरेका थिए।

मलाई सम्पूर्ण बयान सुनिसकेपछि कर्णल ह्यामिस आडम जस्ता गोरखालीका सबै पीडा महसुस गर्न सक्ने गोरखाली हृदय भएका बेलायती नागरिक अझ सम्बन्धित बिभेदका साक्षत गवाई (कमाण्डिङ अफिसर) पीडित गोरखाहरुको सहयोगार्थ भगवानले उपस्थित गराइदिए जस्तो महसुस भयो। कारण, गोरखाहरुको भेदभावहरुका बिषयमा स्वयम ब्रिटिश नागरिक, त्यसमा पनि ब्रिगेड अफ गोरखाजको बिभेदकारी नीति कार्यान्वयन गराउने निकायमा एकदशक बिताएका ब्यक्तिबाट ५५ पृष्‍ठको प्रतिवेदन र ४ घण्टा लामो मौखिक बयान प्रस्तुत हुनुले हामी (गोरखाहरु)ले उठाएका मागहरु शतप्रतिशत जायज प्रमाणित भएकोछ। र उनका प्रतिवेदन भावनात्मक आवेशमा लेखिएको पनि थिएनन्।

उनले ३ वर्ष खर्चेर नेपाल, बेलायत र भारत समेतको नियम कानून साथै सामाजिक, राजनैतिक, धार्मिक,आर्थिक सबै पक्षसँगै १९४७ को त्रिपक्षीय सन्धीका धारा उपधाराको शुष्म विश्लेषण गरेर तयार गरेको प्रतिवेदन वेलायत सरकारको लागि फलामको च्यूरा सावित हुने निश्चित छ। कर्णल ह्यामिशले प्रतिवेदनमा हामी गोरखाहरुले महसुस गरेर पनि भन्न लेख्न नसकेका र हामीलाई थाहै नभएका सबै खाले बिभेदका बिषयहरुलाई समेत शसक्तरुपमा औंल्याएका छन्। समग्रमा उनको प्रतिवेदन गोरखा आन्दोलनमा कोषेढुंगा साबित हुनेमा कसैको दुईमत छैन। अत: हामी गोरखाली/नेपालीहरुले उनको यो अति महत्वपूर्ण योगदानका लागि जति नै आभार व्याक्त गरे पनि धन्यवाद दिएपनि कम्ती नै हुन्छ।

कुनै पनि घट्नाक्रम र परिस्थितीले कुनै व्यक्ति र उसको महत्व उजागर गर्दो रहेछ। आज म सन १९९७ को याद गरिरहेकोछु। त्यसखेर कर्णल ह्यामिश आडम जि.आर.यु ब्रुनेईका डेपुटी कमाण्डेन्ट थिए। त्यसताका जिआरयु मा २,६०० भन्दा बढी गोरखाहरु कार्यरत थियौं। तत्कालिन कमाण्डेन्ट कर्णल स्कशन र केही विवेकहिन, दासत्व मनोवृत्तिका गोरखा अधिकृतहरुले जि.आर.यु का जवानहरुलाई अनावश्यकरुपमा शारिरीक, आर्थिक र मानसिकरुपमा शोषण गरिरहेको अवस्था थियो।

यो गोरखा जवानहरुको अवस्था नियालिरहेका डेपुटी ह्यामिशले जि.आर.यु.वेलफेयर मिटिङको आयोजना गरेर सबैलाई आफूलाई परेको सबै प्रकारका पिर मर्का निश्चिन्त भएर मिटिङमा सामूहिकरुपमा ल्याउन आव्हान गरे। र त्यही उनको आव्हानसंगै GRU मा गोरखाहरुको एकताको सुत्रपात भएको हो। अन्तत त्यही एकताले जि.आर.यु मा भएको अन्याय अत्याचारका साथै वेलायत सरकारले गोरखाहरुमाथि गरेको बिभेदका बिरुद्ध ४ सुत्रीय माग राखेर अघि बढाइएको आन्दोलनलाई आर्थिक एबम नैतिक सहयोग गरी ससक्त रुपमा अघि बढाउने एेतिहासिक काम गर्यो। मेरो मनमा आँफै एउटा प्रश्न उठ्छ, “के ह्यामिश ले जि.आर.यु मा त्यो अवसर नदिएका भए गोरखा एकता त्यति चाँडो सम्भव थियो? के हाम्रो आन्दोलन अहिले यो स्थितिमा हुन्थ्यो?

दुर्भाग्य नै मान्नुपर्छ, कर्णल ह्यामिश छुट्टीमा देश बाहिर रहेको बेला जि.आर.यु मा ११ जना डिपोर्टेसन काण्ड मच्चियो। शायद उनी ब्रुनेई मै भएका भए त्यो घटना नघट्ने थियो होला! दु:खको कुरो, त्यही घटनामा निर्दोष उनी (ह्यामिश)लाई पनि बर्खास्त गरियो। हामीले सुल्तानका स्थायी सचिवले “तिमीहरु कुन कमाण्डर चाहन्छौ?” भनेर सोधेका बेला डेपुटी कमाण्डेन्ट ह्यामिश आडम निर्दोष छन। उनलाई हामी कमाण्डेन्टका रुपमा चाहन्छौं भनेका भए। उनलाई बर्खास्तीबाट जोगाउन सक्थ्यौं होला! सबै गोरखाहरुको मनमा यो एउटा पश्चाताप रहिरहनेछ।

कर्णल ह्यामिश आडमले गोरखाहरुका लागि बिगतदेखि हालसम्म जे जति सहयोग गर्दै आएका छन् त्यसका लागि सम्पूर्ण गोरखाहरुका तर्फबाट आभार ब्यक्त गर्दै हामीले उनलाई अन्याय भएको बेला गर्न, भन्न केही नसकेकोमा क्षमाचाहन्छौं । “SORRY COLONEL !!!”

(लेखक लिम्बू गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके, नेपालका प्रमुख संयोजक हुन्। सं.)

Thanks for Sharing:

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस