सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्।

सम्भवतः पहिलोपल्ट नेपाली स्टेजमा बिदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्याएका नेपालभाषी डान्सर देखिने भएका छन्। भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री चैत २५ गते राजधानीस्थित सानोगौचरन, ज्ञानेश्वरमा नृत्य प्रस्तुत गर्दैछन् । ‘लेट्स डान्स’ नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ।

संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजन प्रालिले उनीहरुलाई नेपाली मञ्चमा उतार्न लागेको हो। सौम्या भारतीय टीभीकै चर्चित रियालिटी शो ‘बुगीवुगी लिटिल चाम्स’को फस्ट रनरअप बनेकी थिइन्। त्यसैगरी उनले डिआइडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन्। अर्का बाल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआडी लिटिल चाम्सको फस्टरनरअप भएका थिए। उनको भर्सटायल नृत्यको बलिउडका टप सेलिब्रिटीले पनि तारिफ गरेका थिए। त्यसैगरी यसपटक नेपालमा धुम मच्चाउने तयारीमा रहेका प्रदीप गुरुङ डिआडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन्। उनी उक्त शोमा ‘ट्रेन्सकी टोली’ अन्तर्गत थिए। डान्स प्रशिक्षक ट्रेन्स लिविसका फेबरेट डान्सर पनि थिए। उनी डिआडी सिजन ३ मा फस्र्ट रनरअप भएका थिए।

त्यसैगरी इन्डियका ठूलो रियालिटी शोमा देखिएका नेपाली हुन् सुनिल क्षेत्री। उनले पनि डिआडी सिजन ४ मा राम्रो चर्चा कमाएका थिए। त्यसैगरी डिआइडीमैँ सिजन २ मा नेपालको सुर्खेतका नरेशवीर सिंहले धमाका मच्चाएका थिए। रेम्बोको रंगिला अन्तर्गत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए।

डान्सकलाबाट सम्मोहित सबै हुने भन्दै नेपालभाषी कलाकारलाई नेपाली भूमिमा प्रत्यक्ष देखाउन कार्यक्रमको आयोजना गरिएको आयोजमध्यका एक राजेन्द्र सेढाइले बताए। उनले भने, ‘सामाजिक सेवाका साथै नेपालभाषी डान्सरलाई नेपाली स्टेजमा देखाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो।’ कार्यक्रममा निर्वाण एण्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्र्यु र हिपहप ह्यान्ड टू ह्यान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर विसी, पार्वती राई, विजय थापाका साथै चर्चित हाँस्यकलाकारको पनि प्रस्तुति रहने बताइएको छ।

कार्यक्रमका लागि टिकट द स्टाइल काठमाडौं मल र हिमालय जाभाका शाखाहरुमा पाइने बताइएको छ। टिकट मूल्य ५ सय र १ हजार रुपैयाँ तोकिएको छ।

vedio https://www.facebook.com/photo.php?v=736806589703552&set=vb.100001226522854&type=2&theater

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस