द्रोण रिजाल/ एचकेनेपाल डट कम-
नेदरल्याण्न्ड। नेदरल्यान्डसमा २९-३० मार्चका दिन दुई दिनसम्म आयोजना गरिएको इनास फिल्म अवार्ड कार्यक्रम र युरोपस्तरीय नृत्य प्रतियोगिता भव्य सफलताका साथ सम्पन्न भएको छ।
लगातार दुई दिनसम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको युरोप क्षेत्रीय मिटिङका साथै नेपाली चलचित्रको प्रवर्द्धनमा इनास र प्रवासी नेपालीहरुको भूमिकाको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरी ब्यापक छलफल गरिएको थियो। नेपाल चलचित्र बिकास बोर्डका तर्फबाट अनुपम निरौला र बिदेशी चलचित्र निर्माण कम्पनीका तर्फबाट ब्रिटिश फिल्म मेकर तथा निर्माता म्याथेव ह्वाकिन्स र डा मार्ता रोबिन्स्कोवाले बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि एनआरएनए युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ, इनास नेदरल्यान्डसका सल्लाहकार जस बहादुर याखालगायतका प्रतिनिधिहरुबाट टिप्पणी तथा सुझाव प्रस्तुत गरिएको थियो।
कार्यक्रमको दोश्रो दिन मार्च ३० मा इनास फिल्म अवार्ड र युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरियो। प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको उदघाटन राजदूत पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक रामप्रताप थापा, गैरआवासीय नेपाली संघ, युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ र बरिष्ठ अभिनेता नीर शाह, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवालले संयुक्तरुपमा दीप बालेर गर्नुभएको थियो। उदघाटन पश्चात प्रमुख अतिथि राजदूत पोखरेलले कला र संस्कृति जहाँ रहे पनि प्यारो हुने र यसलाई जगर्ना गर्न सबै जुट्नुपर्ने बताउदै यस कार्यमा राजदूतावासले सहयोग पूर्याउने जानकारी गराउनुभयो। मन्तव्यकै क्रममा उहाँले नेपाली चलचित्र क्षेत्रको बिकासमा सबैको भूमिका उत्तिकै हुनुपर्ने कुरामा जोड दिदै अन्तर्राष्ट्रिय कलाकार समाजले आयोजना गरेको यसप्रकारको अवार्ड कार्यक्रमले नेपाली चलचित्रको प्रवर्धन गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो। मन्तव्यकै क्रममा एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाली कला र संस्कृतिको संरक्षणमा इनास र गैरआवासीय संघको अबधारणा उस्तै भएको भन्दै अघिल्लो वर्ष जर्मनीमा भएको कार्यक्रमदेखिनै आफू यो अवार्ड कार्यक्रममा सहभागी भएर सहयोग गर्दै आएको बताउनुभयो।
बरिष्ठ निर्देशक तथा अभिनेता नीर शाहले हामी नेपालीहरु जहाँ रहे पनि नेपालीत्व प्यारो हुने भन्दै नेपाली कला र संस्कृतिको संरक्षणको साथै नेपाली सिनेमाको प्रवर्द्धनको लागि केही वर्षदेखि इनास सकृय भएर देखिएकोमा आफूलाई खुशी लागेको बताउनुभयो। एउटा देशले गर्नुपर्ने काम इनासले गरेको भन्दै उहाँले आफू इनासको सल्लाहकार हुन पाउदा गर्व महसुस हुने बताउनुभयो। त्यस्तै निर्माता उद्धव पौडेलले इनासको कार्यक्रम सराहनीय भएको भन्दै आफू इनासलाई हरतरहले सहयोग गर्न तयार रहेको जानकारी गरानुभयो। ब्रिटिश चलचित्र निर्माता डा. मत्थेव ह्वाकिन्सले नेपालको चलचित्र ईतिहास र वर्तमानको ईतिहास हेर्दा धेरै सुधार भएको आफूले पाएको बताउदै नेपाली चलचित्रकर्मीहरुलाई इनासमा रहेर आफूहरुसँग सहकार्य गर्दै अघि बढ्नसकिने सम्भावना प्रशस्त रहेको बताउनु भयो। इनास बेलायतका सल्लाहकार समेत रहेका उहाँले आफूहरुलाई पनि नेपाली चलचित्र क्षेत्रमा रुची भएकोले सहकार्य गर्दै अघि बढ्नसकिने बाटोहरु पहिल्याउन अनुरोध पनि गर्नुभयो यसका लागि इनास एक सहायक माध्यम हुने उहाको धारणा थियो। सबै अतिथिहरुलाई एनआरएन होल्यान्डका आइसिसी र इनास ग्लोबल कमिटीका सल्लाहकार फनिन्द्र पन्तले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गायिका स्व. मन्जु महत, साम्भा पाटिल, चलचित्र निर्देशक शिव रेग्मी, लोक गायक तथा सारङगी वाधक तिर्थ बहादूर गन्दर्भ, जंग बहादुर गन्दर्भ लगायतका कलाकारहरुको आत्माको चीर शान्तिको लागि प्रार्थना गर्दै एक मिनट मौन धारणा गरिएको थियो।
नेदरल्यान्डसको द मेर्सी हलमा भएको यसपटकको उक्त अवार्ड कार्यक्रममा ‘इनास सर्वोत्कृष्ट चलचित्र’ को उपाधि सहितको अवार्ड दूर्गिस फिल्मको ‘होस्टेल’ ले पाएको छ। चलचित्र कालीबाट निर्देशक सबिर श्रेष्ठ सर्वोत्कृष्ट निर्देशक बन्न सफल भए भने सोही चलचित्रबाट नायिका रेखा थापाले इनास वर्षकै सर्वो उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल भएकी छिन्। इनास सर्वोत्कृष्ट नायकको अवार्ड भने धन्दाबाट नायक अर्पन थापालाई प्रदान गरिएको छ। नायक थापा चलचित्र धन्दा र चलचित्र मौन गरी दूई वटा चलचित्रबाट उत्कृष्ट नायकमा मनोनयन भएका थिए। फरक कथामा आधारित भएर निर्माण गरिएको चलचित्र मौन इनास जुरी अवार्ड पाउन सफल भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले फिल्म अवार्डको दोश्रो श्रींखलाका लागि २०१३ भित्र प्रदर्शनमा आएका चलचित्रबाट उत्कृष्ट ५ वटा चलचित्र छानेर पठाउने जिम्मा चलचित्र प्राविधिक संघलाई दिएको थियो। प्राविधिक संघले पठाएको चलचित्र मौन, काली, होस्टल, साँघुरो र धन्दालाई फेसबुकमार्फत पब्लिक भोटिङ र इनासको आन्तरिक जुरीले गरेको निर्णय अनुसार उक्त अवार्ड घोषणा गरिएको हो। त्यस्तै गरी प्रवासबाट निर्माण गरिएको चलचित्रलाई विशेष अवार्ड प्रदान गर्दै आएको इनासले यस पटकको इनास विषेश अवार्ड श्याम श्रेष्ठद्वारा निर्मित चलचित्र स्टार र नायक तथा निर्माता ध्रुब दत्तद्वारा निर्मित चलचित्र नाइन ओक्लकलाई प्रदान गर्यो।
त्यस्तै गरी ३० तारिखकै दिन आयोजना गरिएको इनास युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगितामा प्रथम हुँदै बेल्जियमकी दीपिका केसीले इनास युरोप-नेपाल डान्सिङ स्टार २०१४ को उपमासहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र जित्न सफल भइन् भने स्पेनकी सोनु दोश्रो हुँदै फर्स्ट रनर अपको टाइटल सहित युरो ५०१ हात पार्न सफल भइन भने पोर्तुगलका श्याम लामाले सेकेन्ड रनर अपको उपाधिसहित तेश्रो स्थान हासिल गर्दै युरो ३०१, ट्रोफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए भने पाँचौं स्थान हासिल गर्ने फिन्ल्यान्डकी सृष्टि न्यौपानेले म्युजिक भिडियोमा अभिनय गर्ने अबसर प्राप्त गर्ने भएकी छिन्।
कार्यक्रमको अन्तमा आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय अध्यक्ष पुष्प बरुवालले सबैको सहयोगले हामीले सोचे भन्दा पनि धेरै रामो र सफल कार्यक्रम भएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न संयुक्त आयोजक संस्थाका रुपमा रही सहयोग गर्ने नेपाली राजदूतावास बेल्जियम, नेपाल चलचित्र बिकास बोर्ड, गैर-आवासीय नेपाली संघ युरोप क्षेत्रीय समन्वय परिषद, गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका साथै गैर-आवासीय नेपाली संघ जर्मनी, नेपाली एकता समाज फ्रान्स, नेपाल चलचित्र प्राविधिक संघ, युरोपीयन हिमालयन एसोसिएसन जर्मनी लगायतका संघसंस्थाहरुलाई विशेष धन्यवाद तथा आभार ब्यक्त गर्नुभएको थियो।
त्यस्तै गरि उहाँले कार्यक्रमलाई प्रायोजन तथा सहयोग गर्ने नमस्ते फूड रेस्टुरेन्ट हफ्डदोर्प नेदरल्यान्डस, होटेल हुबर्ट जर्मनी, हिमालयन किचन नेदरल्यान्डस, सरोज श्रेष्ठ तथा जर्मनीको हम्बर्गबासी सम्पूर्ण नेपाली समूदायहरु, क्षेत्र कुमार श्रेष्ठ काठमाण्डु फास्टफुड रोम इटाली, शिखर खड्का जर्मनी, रण बहादुर साउद, टेक नेपाली, मनकाजी नेपाली, मदन दाहाल जर्मनी, पूर्ण वन्धन डेनमार्क लगायतका प्रायोजक तथा सहयोगी महानुभावहरुलाई साथै, मिडिया पार्टनरलगायत प्राविधिक तथा उदघोषणमा महत्वपूर्ण सहयोग गर्नुहुने चिरन्जिबी गुरागाई, राजु गुरुङ, अच्युत कट्टेल, सोफिया महर्जन, म्युजिका खड्का, बिरेन्द्र श्रेष्ठ लगायत सबैलाई धन्यवाद दिनुका साथै कार्यक्रमलाई हरतरहले सहयोग गर्ने नेदरल्यान्डसवासी नेपाली संघ संस्था तथा समूदायलाई विशेष धन्यवाद दिनु भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस