बुनु उप्रेती / एचकेनेपाल डट कम –
युएई। नेपाली कांग्रेसका सभासद अर्जुनप्रसाद जोशीले युएईको आबुधाबीमा आयोजित कार्यक्रममा नेकपा माओबादी जातीय राज्यको पक्षमा जाँदा पतन भएको बताएका छन्।
माओबादीले बन्दुक, हत्या र हिंसाको भरमा राजनीति गरेको कारण जनताबाट तिरस्कृत हुनु परेको आरोप लगाउदै जोशीले नेपाली कांग्रेस यस्ता क्रियाकालापबाट टाढै रहेर देशप्रेमको भाव बोकी आपसी समझधारीमा रहेर अघि बढ्ने र मुलुकले यहिबाट निकास पाउने बताए। उनले गोली, गट्ठा, हत्या र हिंसाबाट टाढै रहेर राजनीति गर्न माओबादीलाई आह्वान गरेका छन्।
देश जटिल राजनीतिमा फसेको कारण सकारात्मक हस्तक्षेप तथा खबरदारी गर्न कार्यक्रममा रहेका सर्वसाधारण सबैलाई प्रोत्साहित गर्दै आफू युएइ आउनुको प्रमुख औचित्य नेपाली कामदारका समस्यालाई मध्यनजर गर्नु रहेको बताए। नेपालीले भोग्नु परेका समस्या तिनका समाधानका बिषयमा आफू नेपाल फर्केपछि सदनमा कुरा राख्ने प्रतिबद्धता समेत ब्यक्त गरे।