निश्चल काउचा –
लाहुरे फूल
आदिम बस्तिहरुमा
मुखिया र जिम्वालहरुले उर्दी जारी गरेपछि
पहिलो भालेको डाँकोमा
गल्लावालको अघि लागेर
प्रियसीले दिएको रुमानी रुमालले आशु पुछ्दै
माथि डाँडाबाट अन्तिम पल्ट सुसेलेर
पल्टन छिरेका
हाम्रा पुर्खाहरु कहिल्यै फिरेनन्।
कहिल्यै घाम नअस्ताउने गोराको ईखले
हाम्रा पुर्खाहरु
मलाया, बर्मा, फोकल्याण्डमा किचाघान बनाईए
बदलामा गोराले दियो
वीर गोर्खालीको उपमा
जितेपछि दिएको सलामीले
चन्द्रशमशेर / वीरशमशेरले टट्टीघरमा समेत सुनको जलप लगाए।
साल्मेडाँडाको हाम्रा पुर्खाहरुको स्मारिकामा
दुई थोपा आशु चुहाउदै
पुष्पगुच्छा चदाउदै
मलाई सोध्न मन लागेको छ
आखिर लडेर के पायौ त?
भन्न मन लागेको छ
हाम्रा पुर्खाहरू आँखा खोलि हेर त
तिम्रै अगाडि
तिम्री प्रियसी बादलुको गाजल लगाई
माछापुच्छ्रे बनि तिम्रै प्रतीक्षामा छिन्
हो,
मलाई थाहा छ
हाम्रा पुर्खाहरु
राजीखुशी लाहुरेफूल बनेका होईनन्
राजा महाराजाहरुको सलामीको लोभले
बनाईएको थियो
हाम्रा पुर्खाहरुले
छुटने बेलामा सम्झना स्वरुप दिएको
त्यो अन्तिम गलबन्दी
सुनगाभा र लालिगुराँससंगै सधै फक्रिरहने छ
अब, यहाँ
लाहुरेफूल फुलाउन छोडेपछि
हाम्रा पुर्खाहरुप्रति
सच्चा श्रद्धाञ्जलि हुनेछ !
आमा! म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु (कविता) – निश्चल काउचा