अपडेटः लोक गायिका महतको अन्त्येष्टि
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ चैत्र। लोक गायिका मञ्जु महतको सोमवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शनिबार निधन भएकी महतको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो। मञ्जुलाई श्रद्धाञ्जलि दिन आफन्त तथा कलाकारहरू आर्यघाट पुगेका थिए।

यसैबीच, गल्कोपाखादेखि सामाखुशी चोकसम्मको सडकलाई मञ्जु महत लोकमार्ग नामाकरण गरिने, ग्राण्डी अस्पतालको साढे चार लाख उपचार खर्च व्यवसायीले व्योहोर्ने र महतको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने कलाकार र यातायात व्यवसायीबीच सहमति भएपछि मञ्जुको शव आफन्तले बुझेका थिए।

अपडेटः लोक गायिका मञ्जु महतको शव आफन्तले बुझेनन्, कलाकारहरुमाथि प्रहरीको लाठीचार्ज
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १६ चैत्र। उपचारको क्रममा शनिवार निधन भएकी लोक गायिका मञ्जु महतको शव आफन्तले बुझेका छैनन्। ठक्कर दिने माइक्रोवसले क्षतिपूर्ति दिनु पर्ने माग गर्दै महतको शव आफन्तले नबुझेका हुन्। शनिवार अबेरसम्म भएको वार्तामा माइक्रोवस व्यवसायी समितिले क्षतिपूर्ति दिन आलटाल गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए।

यसैबीच मञ्जुको परिवारले क्षतिपूर्ति पाउनु पर्ने मागसहित सामाखुशीमा प्रदर्शनमा उत्रेका कलाकारहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ। त्यस्तै दुई दर्जन कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव रमेश बिजीले बताएका छन्। समितिले क्षतिपूर्ति दिन आलटाल गरेको भन्दै कलाकारहरू आफन्तलाई साथ दिदै आन्दोलनमा उत्रेको हो।

स्कुटरमा सवार मञ्जु महतलाई विहीवार माइक्रोबसले ठक्कर दिएको थियो। दुर्घटनामा उनकी बहिनी लक्ष्मी महतसमेत घाइते भएकी छिन्। लक्ष्मीको उपचार खर्च र मञ्जुका छोरोछोरीको पालनपोषणको व्यवस्था गर्नुपर्ने आफन्त र कलाकारहरूले माग राखेका छन्।

फाइल फोटोः लोक गायिका मञ्जु महत

लोक गायिका मञ्जु महतको निधन
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ चैत्र। स्कुटी दुर्घटनामा परेर गम्भीर घाइते भएकी लोक गायिका मञ्जु महतको शनिबार निधन भएको छ।

यसरी भएको थियो दुर्घटना

माइक्रोबसले ठक्कर दिंदा गम्भीर घाइते भएकी २८ वर्षीया महतको शनिबार अपराह्न ग्राण्डी अस्पताल धापासीमा उपचारका क्रममा निधन भएको हो। गीत रेकर्डिङको लागि जादै गर्दा ठमेलस्थित गल्कोपाखामा उनी सवार स्कुटीलाई माइक्रोबसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते महतको उपचारका क्रममा निधन भएको हो। दुर्घटनामा उनकी बहिनी लक्ष्मी महतसमेत घाइते भएकी छिन्। मञ्जु लामो समयदेखि लोकदोहोरीको क्षेत्रमा क्रियाशिल थिईन्। कास्कीको भरतपोखरीकी मञ्जु सानैदेखि लोक गीत भनेपछि हुरुक्कै हुन्थिन्। गीत संगीतप्रतिको उनको सानैदेखिको यही मोहलाई उनले पछि पेशाकै रुपमा अगाँलेकी थिइन्। उनका श्रीमान, एक छोरी र डेढ वर्षका छोरा छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस