सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
अभिनेता राजेश हमालले फिल्म ‘हसिया’लाई मनोरञ्जनको प्याकेजको रुपमा घोषणा गरेका छन्। आइतबार फिल्मको गीति एल्बम विमोचनमा बोल्दै उनले फिल्ममा मनोरञ्जनका सम्पूर्ण खुराक रहेको टिप्पणी गरे।

सञ्चारकर्मीलाई करिब एक घण्टा कुराएका उनले भने, ‘ फिल्मलाई लिएर म साह्रै उत्साहित छु। यत्तिका मेहनत गरेर नेपालमा कमै फिल्म बन्छन्। संगीत,द्धन्द्ध सबै कुरा उत्कृष्ट छ। सानो बजार छ भन्ने जान्दा जान्दैपनि निर्माण समूहले जसरी फिल्म बनाउनु भएको छ त्यो सह्रानिय छ।’ हमालले फिल्ममा १३७ जना फाइटरसंग फाइट खेलेकी हेमाको पनि प्रशंसा गर्न भ्याए। ‘हेमा जी एक्सनमा पोख्त हुनुुहुँदो रहेछ। निकै राम्रो काम गर्नु भएको छ,’ छोटो सम्बोधन गरेका हमालले भने।

जेठ ९ गतेलाई सार्वजनिक प्रदर्शनको मिति तोकेको फिल्मले आइतबार एल्बम विमोचन गर्दै प्रचार प्रसार थालेको हो। कलाकारहरु राजेश हमाल, हेमा श्रेष्ठ, अनुपबिक्रम शाही, रुबी राणा गायक गायिका राजेश पायल राई, सुवानी मोक्तान आदिले सुंयुक्त रुपमा एल्बम सार्वजनिक गरे। कल्याण सिंहको संगीत रहेको एल्बममा चार गीत रहेका छन्। तीनमा सुवानी मोक्तानको स्वर रहेको छ भने एकमा राजेश पायल राईको आवाज समेटिएको छ भने गीतको रचनाकार निलम आङबुहाङले गरेकी छिन्।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। म्युजिक भिडियोको लामो अनुभवपछि फिल्म निर्देशनमा उत्रिएका उनले फिल्मलाई फरक धारको दाबी गरे। लन्डनको लन्डन फिल्म एकेडेमीबाट फिल्म मेकिङ सम्बन्धी डिप्लोमा कोर्ष गरेका निर्देशक मिलन चाम्सको खास त केही छैन, तिमी जस्ती, सयौं जुनीसम्म, लाउन त लाइदियो, छैन तिमी लगायतका थुप्रै म्यूजिक भिडियोहरुले चर्चा कमाएको छ। नेपाली चलचित्रलाई विश्वव्यापी रुपमा चिनाउने महत्वकांक्षासहित निर्देशक मिलन चाम्सले चलचित्र हसियाँ निर्माण गरेका छन्। ‘यो नारी प्रधान फिल्म हो। लेडिज एक्सन यसको विशेषता हो। फिल्मलाई राम्रो बनाउन कुनै कम्प्रोमाइज गरेको छैन,’ चाम्सले भने। पूर्णरुपमा फरक ढंगले प्रस्तुत गर्न खोजिएको हसियाँमा एडभान्स फिल्म मेकिङ्ग इक्यूपमेन्टहरु प्रयोग गरिएको हुनाले यसका दृश्यहरु रोमाञ्चक र मनोरञ्जनात्मक हुने र फिल्मलाई ९३ दिन लगाएर खिचिएको पनि उनले जानकारी गराए।

तेक्वान्दोकी थर्ड डन हेमा श्रेष्ठले दुविधाका बीच फिल्म सुटिङ सुरु गरेपनि सुटिङसँगै सहज महसुस हुँदै गरेको अनुभव सुनाईन्। ‘ मिलन दाइले फिल्म खेल्न अफर गर्दा सक्दिन होला जस्तो लागेको थियो। तर टिमका सबै सदस्यको सहयोगले डर हट्दै गयो। फिल्ममा धेरै मेहनत गरेकी छु। सबैले हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आश गरेकी छु,’ हेमाले भनिन्।

चाम्स इन्टरटेनमेन्टको ब्यानरमा दुर्गा घले निर्माता रहेको ‘हसियाँ’ अप्रिल २७ मा हङकङ र अप्रिल ३० मा लण्डनमा प्रिमियर गर्ने तय भएको छ। कार्यक्रममा चलचित्र हसियाँको अडियो सिडीसंगै प्रोमो र आजको रातमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो। आजको रातमा बोलको उक्त्त आइटम गीतको भिडियोमा नायिका प्रियंका कार्कीले नायिका हेमा श्रेष्ठसंगै नृत्य गरेकी छिन्।


तस्वीर सौजन्यः साइबर संसार

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस