विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, ८ चैत्र। अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) को सप्ताहमा ३१ बर्षदेखि निरन्तर सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (एएनए)को ३२ औ एएनए सम्मेलन होटल शेराटन टाईसन् कर्नर डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने निधो भएको छ।
जुलाई ४,५ र ६ तारिखमा हुने ३२ औ एएनए सम्मेलनका संयोजक हेमन्त श्रेष्ठ तथा उपसंयोजक लक्ष्मण प्रधानको बिशेष पहलमा लामो समयको खोज र नेपाली समुदायलाई सुहाउदो अतिथि गृह तथा सम्मेलन स्थल पाईएको संयोजक हेमन्त श्रेष्ठले बताए।
संयोजक श्रेष्ठले नेपालीहरुको अत्यधिक सहभागिता हुने हुनाले नेपाली खाना खोज्ने र उक्त व्यवस्था हुन् सकोस भनि धेरै अतिथि गृह (होटल )धाएको र कहिँ पनि नेपाली खानाको व्यवस्था गर्न नसकिने देखिएकोले वाशिंगटन डिसी महानगर क्षेत्रमा यो शेराटन प्रिमिएर टाइसन कर्नर सबैलाई केन्द्र पर्ने र आयोजकको आग्रहलाई शेराटन व्यवस्थापनले स्वीकार गरेपछि सम्झौतामा हस्ताक्षर गरिएको बताए।
उपसंयोजक लक्ष्मण प्रधानले अब कार्यक्रम स्थलको निधो भएकोले अब सबै काम द्रुत गतिमा लाने बताउदै बिशेष योजना तर्जुमा गर्ने बताए। ३१ बर्ष अगाडि वाशिंगटन डिसीमा दर्ता भएको एएनएको ३२ औ एएनए सम्मेलन आयोजक समितिमा हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको २१ सदस्यीय संयोजन समिति गठन भै सकेको र आ-आफ्ना काममा लागि रहेको जानकारी श्रेष्ठले दिए। धमाधम सम्मेलनको संजाल (वेब साइट )बनिरहेको र ३२ औ एएनए सम्मेलनको नारा (थिम) बारेमा सोचि रहेको थप जानकारी दिइएको छ।
शेराटन प्रिमिएर टाइसन कर्नर करीब ४५,००० हजार स्क्वायर फीट क्षमता भएको छ भने नयाँ र मर्मत गरिएको उक्त होटल डलस अन्तर्राष्ट्रिय बिमान स्थलबाट करिब १० मिनेटको दूरीमा रहेको छ। सम्मेलन केन्द्र २० मिनेटमा अन्य बिमान स्थलबाट आई पुगिने छ भने रेल सेवा (डिब्बे गाडी) र बस (यात्री बाहक बाहन) को पनि सुबिधा नजिक रहेको छ।