एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसंग भेट
आर्थिक सम्बृद्धिमा साझेदारी, भिसा सरलीकरण र नागरिकताको निरन्तरतामा जोड

अनिल / एचकेनेपाल डट कम –
काठमाडौ, ७ चैत। गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वले प्रधानमन्त्री सुशील कोइरालासंग भेट गरि गैरआवासीय नेपालीले उठाउंदै आएका मुद्दा र सरकार एनआरएनए साझेदारीका सम्भावनाबारे जानकारी गराएको छ।

संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार कोईरालासंग भेट गरी आफ्नो कार्यकालका योजना र गैरआवासीय नेपाली संघका गतिबिधिबारे संक्षेपमा जानकारी गराउनुभयो। आफूले सरोकारवाला मन्त्रीहरुसंग भेट गरी गैरआवासीय नेपालीहरु तथा संघका सरोकारका बिषयबारे जनकारी गराएको वताउँदै समसमायिक बिषयहरुमा प्रधानमन्त्रीको समेत चासो र सहयोगको अपेक्षा राखेको भन्दै लिखित बुादाहरु पेश गर्नुभएको थियो।

उहाँले गैरआवासीय नेपाली ऐन २०६४ को प्रवधानअनुसार ‘गैरआवासीय नेपाली परिचयपत्र’को वहालि अवधिभर भिसा उपलव्ध गराउन सकिने भन्ने उल्लेख भए अनुसार विगतमा भिसा उपलव्ध गराईएको भए पनि अघिल्लो सरकारको पालादेखि ९० दिनको मात्र भिसा दिने व्यवस्था लागू गरिएकोमा यो ऐनको मर्मअनुसार नभएकोले पुरानै व्यवस्था कायम गर्न माग गर्नु भयो। उहाँले यस बिषयमा माननीय उपप्रधान तथा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीको निर्देशन भएमा अनुमोदनको लागि मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिउत्तर पाएको भन्दै त्यसका लागि समेत पहल गरिदिन अनुरोध गर्नु भयो।

अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुको ध्यान नेपालको सामाजिक र आर्थिक बिकासमा केन्द्रीत रहेको र यसका लागि विभिन्न लगानीका एकल वा सामूहिक अवधारण तथा आयोजनाहरु कार्यान्वयनमा ल्याइरहेको जानकारी दिनुभयो। उहाँले सरकारको सुधारका कार्यक्रम, नीति निर्माण तथा निर्णय प्रकृयामा सरोकारवाला, बिशेषज्ञ तथा सहयोगीको रुपमा गैरआवासीय नेपालीहरुलाई पनि समावेश गरेमा राष्ट्रलाई फलदायी हुने सुझाव दिनुभयो। यस अवसरमा अध्यक्ष घलेले लिखित रुपमै गैरआवासीय नेपालीहरुका सरोकारका बिषयहरु सम्माननीय प्रधानमन्त्री समक्ष पेश गर्नु भएको थियो।

अध्यक्ष घलेले संविधान लेखनमा मात्र नभई आर्थिक एजेण्डाहरु प्रति पनि समयमै सरकारको ध्यान जानु पर्ने औंलाउँदै सरकारलाई आर्थिक सम्बृद्धिका क्षेत्रमा सघाउन एनआरएनए तयार रहेको वताउनु भयो। उहाँले संघको संजाल ६७ राष्ट्रहरु विस्तार भईसकेको अवस्थामा राष्ट्रले यसको उपयोग गर्न पर्ने धारणा समेत राख्नु भयो।

गैरआवासीय नेपालीहरु मातृभूतिप्रतिको निस्वार्थ भावनाले सीप, ज्ञान र पूाजी लगानीका लागि प्रयत्न गरिरहेको भन्दै यसको कदर गर्न उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। संविधान जनचाहानाअनुरुप समयमै निर्माण हुने र त्यसले गैरआवासीय नेपालीहरुले उठाउँदै आएको नेपाली नागरिक्ताको निरन्तरतालाई संबोधन गर्नेमा सम्पूर्ण गैरआवासीय नेपाली बिश्वस्त रहेको अबगत गराउनुभयो।

एनआरएनबाट ठूलो आशा: प्रधानमन्त्री
प्रतिउत्तरमा सम्माननीय प्रधानमन्त्रीले नेपालको बिकासमा गैरआवासीय नेपालीहरुप्रति ठूलो आशा र अहम भूमिका समेत रहेको औंलाउँदै समन्वय, सहकार्य र एकआपसको विश्वासवाट मात्र राष्ट्रले यस बिषम परिस्थितिवाट निकास पाउने बताउनुभयो। आफ्नो कार्यकाल तीन बिषयहरु शान्ति, विकास र भ्रष्टाचार निवारणमा केन्द्रित हुने जनाउँदै यस कार्यमा हातेमालो गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नु भयो। बिकासको लागि आवाज उठाउनु गैरआवासीय नेपालीहरुको हक हो र यसको लागि साझेदारी गर्नु उनीहरुको कर्तव्य हो भन्दै “एक पटकको नेपाली संधैको नेपाली” भन्ने अभियानले आफूलाई अत्यन्तै भावुक तुल्याएको र यसलाई व्यवहारमा उतार्न आफू, आफ्नो सरकार र पार्टीको समेत पहल रहने बताउनुभयो।

खाडी मूलूकका श्रमिकले बिप्रेषणद्वारा राष्ट्रिय अर्थतन्त्र धानेकोमा कृतज्ञता व्यक्त गर्दै न्यूनतम आर्थिक सहमतिको लागि राजनीतिक पार्टीहरुलाई दवाव दिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्नु भयो। गैरआवासीय नेपालीहरुलाई भिसा प्रदान गरिने परिपाटीलाई पहिलेकै अवस्थामा फर्काउन पहल गर्ने वताउँदै केहि समस्या परेमा आफूलाई सोझै सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस