सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, ४ चैत। होलीमा जथाभावि रंग नलगाउन र मादक पदार्थ सेवन नगर्न सचेत गराउँदै मिस पूर्वाञ्चलका विजेता र सहभागी सुन्दरीहरुसहित प्रहरी, ट्राफिक प्रहरी, युवाहरुको टोलीले सोमबार धरानमा स्कुटी र्याली निकालेका छन्।

इलाका प्रहरी कार्यालय धरानबाट निस्किएको स्कुटी र्यालीले बुद्धचौक, क्याम्पगेट, रत्नचौक, मंगलबारे, कल्याणचौक, पुतलीलाईन, भानुचौक, छाताचौक, जिरोप्वाईन्ट, अमरहाट, पुरानोबजार, माछाभौडीहुँदै भानुचौकमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा बोल्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मुकुन्द रिजालले होलीका नाममा विकृति बढेकाले होलीलाई मर्यादित, सुरक्षित र भयरहित बनाउन र्याली निकालिएको बताए। यसरी प्रहरी र स्थानीयको सक्रियतामा होलीलाई लक्षित गरी सचेतनामूलक र्याली निकालिएको देशमै पहिलो हुन सक्ने भन्दै उनले भने ‘पर्वको नाममा नशालु पदार्थ खाने, झैझगडा गर्ने र शान्ति सुरक्षामा असर पुर्याउने सम्भावना रहेको हुँदा, विकृति हटाउन यस्तो अभियान चलाएका हौं। यो प्रभावकारीपनि बन्यो।’

जिल्ला ट्राफिक प्रहरी प्रमुख नविनकुमार अधिकारीले धरानमा मुख्य बजारमा र्यालीसँगै सवारी चालकहरुलाई सचेत गराउन पम्प्लेट वितरण गरेको बताए। ‘होलीको बेला मातेर, असुरक्षित तरिकाले सवारी चलाउनेहरु धेर हुने हुँदा दुर्घटना हुने गर्छ, त्यसलाई कम गर्नपनि यो र्यालीले महत्वपूर्ण भूमिका खेल्यो।’ अधिकारीले भने। ¥यालीमा सहभागी भएका एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य ज्ञानदिप लिम्बुले युवाहरुलाई विकृति कार्य छाडेर सचेतनामूलक कार्यमा लाग्न आग्रह गरे।

सोनालिका, स्काईसप, पूर्वेली थकाली भान्साघर लगायतले सहयोग गरेको र्यालीमा सिल्भर इन्टरटेन्मेन्टका दिपक बनेपाली, सौगात रिजाल, कोरियोग्राफर प्रियारानी लामा, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ, सेकेन्डरनर अप निलम थापा, मिस पूर्वाञ्चल २०१३ की फस्टरनरअप अलिसा श्रेष्ठलगायतका युवतीहरु सहभागी थिए। मिस पूर्वाञ्चलका क्रियटिभ डाईरेक्टर राजेन्द्र रिमालले मिस पूर्वाञ्चलका विजेता र सहभागीहरुलाई सचेतनामूलक र सामाजिक कार्यमा संलग्न गराउने कार्यक्रम अनुसार उनीहरुलाई सहभागी गराएर होलीको नाममा हुने विकृति अन्त्यकालागि सचेतनामूलक र्याली आयोजना गरेको बताए। उनले भने ‘यस्तै सामाजिक काममा उनिहरुलाई सहभागी गराउने योजना छ।’

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस