विनोद रखाली मगर / एचकेनेपाल डट कम-
चैत्र ३ , गल्याङ्। जीप दुर्घटनामा ७ जनाको मृत्यु भएपछि पुरै गर्लाङ् गाउं शोकमा डुबेको छ। स्याङ्जाको जगत्रदेवी ८ गल्याङ्देखि सिर्सेकोट अकलादेवी मन्दिर दर्शन गर्ने यात्रु वोकी छुटेकोे लु १ ग १४५४ नम्वरको जिप पेलाकोट गाविस वडा न. ९ सेम्थुम्कामा आइतवार दुर्घटना हुदाँ ७ जनाको ज्यान गएको हो।

६ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा गल्याङ् सामुदायिक अस्पतालमा ज्यान गएको प्रहरी कार्यालय गल्याङ्ले जनाएको छ। मृत्यु हुनेमा पिडीखोला २ घलाम स्थाई घर भई हाल गल्याङ् वस्दै आएका एकै परीवारका अन्दाजी ३४ वर्षीया ज्ञानु नेपाली र उनका अन्दाजी ४० वर्षका श्रीमान मन वहादुर नेपाली, जगत्रदेवी गाविस टुकुनचौरका अन्दाजी वर्ष ३५ की शोभा थापा मगर, तीनदोवाटे गाविस वङ्ग्रातिका वर्ष २४ का कमल थापा मगर, पेलाकोट गाविस अल्केढुङ्गाका चुक वहादुर सारु मगर, जगत्रदेवी गल्याङ् वस्ने कालिकाकोट गाविसका वर्ष ३५ का किस माया सार्की डल्ली, वर्ष १५ की सिता वि.क.को ज्यान गएको हो। घाइते हुनेहरुमा जिप चालक इन्द्र वहादुर थापा मगर, उनका श्रीमती देवी थापा मगर र उनका २ वर्षकी छोरी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै जगत्रदेवी गल्याङ् वस्ने पानु वि.क., वर्ष १० की वालिका हेमा थापा मगर, राजेन्द्र वि.क., मिनु वि.क.घाइते भएका छन्। घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभास र मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ। जस मध्ये ३ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

मृतक सीता नेपाली ज्ञानु नेपालीकी बहिनीकी छोरी हुन् भने कासीमाया सार्की फूपूकी छोरी हुन्। घाइते हुने पानु विक मृतक ज्ञानु नेपालीकी वहिनी हुन्।

सिर्सेकोट गाविसमा अवस्थित अकलादेवी मन्दिरको दर्शन गर्न केही परिवारहरुको समूह उक्त जीप रिजर्व गरी आइतवार विहान करीव ८ वजे गल्याङ्देखि छुटेको थियो। छुटेको केही मिनेटभित्रै जिप दुर्घटनामा परेको हो। झण्डै २०० मिटर तल खसेको उक्त जिपमा पुजा गर्न लगिएको दुई वटा वाख्राको पाठी तथा केही कुखराहरु यत्रतत्र मृत अवस्थामा फेला परेका थिए।

स्थानीय वासिन्दाको सहयोग तथा गल्याङ् वजारदेखि सयौं वासिन्दाहरु, गल्याङ् प्रहरी चौकी, वडा प्रहरी कार्यालय वालिङ्, सशत्र प्रहरीलगायतको टोलिले करिव साढे १ घण्टा लगाएर उद्धार गरिएको थियो।

घटनास्थलमा उकालो कच्चि वाटो साथमा खहरे भएकाले ब्रेक फेल भई चालकले जिपका खलाँसीलाई ओट हाल्न जानकारी गराउदै गर्दा, अत्याधिक भिरालोका कारण थाम्न नसकी जिप खसेको उक्त जिपका खलासीले जानकारी दिए। खलासीसहित एक जना जिपको छतदेखि हाम फाली दुर्घटनादेखि वच्न सफल भएका छन्। स्मरण रहोस् उक्त स्थानमा केही वर्ष अगाडि पनि पिडीखोला गाविस अस्थाई वसोवास गर्ने एक युवकको ज्यान जिपको छतदेखि खसी ज्यान गएको थियो। ग्रामीण कच्ची सडक धेरै उकालो भएको हुँदा गाडी आफै पछाडी धकेलिएर भीरमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजामा प्रहरी निरीक्षक सन्तोष तामाङले बताए।

हरेक वर्ष होली पर्वले वजार छोप्ने गल्याङ् पुरै शोक मग्न छ। शनिवार मात्र वुटवलमा गल्याङ् निवासी एक युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको घटना सेलाउन नपाउदै आइतवारको घटनाले गल्याङ्वासी निकै त्रसित छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस