खोलो फर्कायो सहाराले
सरोज दाहालको निर्णायक गोल मद्दतले मनाङलाई हराउदै सहारालाई आहा राराको उपाधि
सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम-
पोखरा, १ चैत्र। बुढापाकाले भन्ने गर्थे १२ बर्षमा खोला फर्किन्छ। यो उखान आज पोखराको सहारा क्लवमा लागु भएको छ। सहाराले १२ बर्षे फुटवल ईतिहासमा पहिलो पटक उपाधि जित्दै ईतिहास रचेको छ। पोखरामा शनिबार सम्पन्न भएको १२ औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता २०७० को उपाधि जित्दै सहाराले ईतिहास रचेको हो। पोखरा रंगशालामा खचाखच दर्शकहरुको माझमा भएको फाइनल प्रतिष्पर्धामा यस सिजनमा सर्वाधिक धन राषिको पुरस्कारसहित ५ वटा उपाधि जितेको लक्ष्मीहुण्डाई मनाङ मर्स्याङदी क्लवलाई १–० को गोल अन्तरले पराजित गरी उपाधि जितेको हो।
तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम
फाईनल खेलमा म्यान अफ दी म्याच घोषित सहाराका सरोज दाहालले खेलको ५४ मिनेटमा निर्णायक गोल गरे। विजयी भएको सहाराले उपाधिसहित ३ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पायो। उपविजेताले मनाङ मस्र्याङदीले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पायो। हेमन्त गुरुङको कर्नर बललाई डिबक्स नजिकै रहेका दाहालले हेड गर्दा बलले जाली चुमेको हो। खेलको ४० मिनेटमा सहाराका अनिल ओझाको कर्नरलाई बिष्णु केसीले हेड गर्दा मनाङ मस्र्याङदीका रुपेश केसीले क्लियर गर्दा अग्रता लिने मौका चुकेको थियो। मनाङ मस्र्याङदीका प्रशिक्षक हरिओम श्रेष्ठले स्ट्राईकरमा राम्रो तालमेल नमिलेका कारण आफूहरु पराजित हुनु परेको बताए। उनले भने‘विपक्षी टिमले कर्नरमा गोल गरेपछि हामीलाई फर्काउनै गाह्रो भयो। ”सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफूहरुले विपक्षीलाई खेल्न नदिने रणनीतिमा मैदानमा उत्रिएकोले जित हासिल गरेको बताए।
१२ बर्षे फुटवल ईतिहासमा पहिलो पटक उक्त उपाधि जित्न पाउदा आफूहरु निकै खुसि भएको बताउदै श्रेष्ठले खेलाडी, दर्शकसहित सम्पूर्णलाई धन्यवाद दिएका छन्। गत बर्षको १० औं संस्करणमा मनाङलाई सहाराले क्वाटरफाईनलमा पराजित गरेको थियो भने फाईनल खेलमा थ्री स्टारसंग पराजित हुदा उपविजेता भएको थियो। २०६८ सालमा सिमरा गोल्ड कपको फाईनलमा मनाङले सहारालाई पराजित गरेको सहाराले बदला समेत लिएको छ।
फागुन २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा सहाराका हेमन्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। उनले टिभिएस मोटरसाईकल पुरस्कार पाए। त्यस्तै सर्वाधिक गोलकर्तामा मनाङ मस्र्याङदीका सुजल श्रेष्ठ घोषित भए। उत्कृष्ट स्ट्राइकरसमेत भएका उनले चार गोल गरेका थिए। सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राईकर बनेका उनले २५ हजार पुरस्कार पाए। प्रतियोगिताका उत्कृष्ट गोलकिपर सहाराका सागर गुरुङ घोषित भए। त्यस्तै डिफेन्डर सहाराकै पीटर सेगुन, मिडफिल्डमा सहाराकै हेमन्त गुरुङ र प्रशिक्षकमा सहाराकै किरण श्रेष्ठ उत्कृष्ट बने। उनीहरुलाई जनही दश हजार रुपैयाँ नगद पुरस्कार दिईयो। फेयर प्ले टिम बनेको एनएमबी मछिन्द्रले १० हजार रुपैयाँ पुरस्कार पायो।
विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापा, समाजसेवि तथा हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक सुर्यबहादुर केसी, क्लवका अध्यक्ष विरभद्र आचार्य लगायतले पुरस्कार वितरण गरे। हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रयोजनमा उक्त प्रतियोगिता पोखरामा सम्पन्न भएको हो। फाईनल खेलमा पोखरा रंगशाला भरी खचाखच दर्शकहरु रहेका थिए।
प्रबेश टिकटबाट लक्की ड्र गर्दा स्याङजाका बिरबहादुर गुरुङले एलजी टेलिभिजन उपहार पाए। न्यु साउण्ड एण्ड भिजनद्धारा प्रायोजित उक्त टेलियलभिजन शनिबारनै हस्तान्तरण गरिएको छ। उक्त प्रतियोगिता समापनको अवसरमा पत्रकार सुरज श्रेष्ठले ५ हजार, बृटिस गोर्खाका क्याप्टेन डोल गुरुङले १० हजार, पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ(चन्द्र)ले ११ हजार १ सय ११ र भ्याली स्पोटर्स क्लवका उपाध्यक्ष नगेन्द्र गुरुङ (राजु) ले ११ हजार १ सय ११ रुपैया सहारा क्लवलाई हस्तान्तरण गरे। उनीहरुले सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन्।
आइतबार विहान ७ बजे पोखरा रंगशालाबाट पोखरामा विजयी र्याली प्रदर्शन गरिने भएको क्लवका महासचिव केशवबहादुर थापाले बताए। रनिङ ट्रफिसहित खेलाडीहरुको साथमा नगर परिक्रमा गरिने भएको थापाले बताए।