दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २९ फागुन। शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव पोखरामा जारी १२ औं संस्करणको आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ।
विहीबार पोखरा रंगशालामा भएको अन्तिम सेमिफाईनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लवलाई शून्यको बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनल यात्रा बनाएको हो। मनाङको जितमा सुजल श्रेष्ठले तीन गोल गरी ह्याट्रिक पुरा गरे भने अनिल गुरुङ र योना ईलियसले एक-एक गोल गरे।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
विजेता मनाङले शनिबार आयोजक सहारा क्लवसँग उपाधिसहित ३ लाख ५१ हजार नगर पुरस्कारको लागि प्रतिष्प्रर्धा गर्ने भएको छ। खेलको १० मिनेटमै सुजलले पहिलो गोल गरे। सुजलले करिब ३० यार्ड टाढाबाट प्रहार फ्रिकिक वलले जाली चुमेको थियो। सिधै गोलमा खेलको १८ मिनेटमा पुलिसका सुमन सुवेदीको पेनाल्टी एरियामा ह्याण्ड भएपछि रेफ्रि लव खत्रिले मनाङलाई पेनाल्टीको अवसर दिएका थिए। पाएको पेनाल्टीको अवसरलाई सुजलले गोलमा परिणत गरेर आफ्नो खातामा दुई गोल पुराए।
खेलको ३७ मिनेटमा पोखरेली खेलाडी अनिल गुरुङले तेश्रो गोल गरे। सुजलको क्रसमा अनिलले प्रहार गरेको बल सेकेण्डबारमा ठोक्किएर गोल भएको हो। त्यस्तै खेलको ४० मिनेटमा योना इलियसले विशाल राईको क्रसमा गोल गरे। पहिलो हाफमा ४-० अन्तरले अग्रता लिएको थियो । खेलको ७५ मिनेटमा सुजलले डिबक्स नजिकै पाएको बललाई दोश्रोबार च्याप्दै हानेको प्रहार गोलमा परिणत भएको थियो । मनाङले पाएका केहि अवसर खेर जाँदा गोलअन्तर अझ फराकिलो पार्ने अवसर चुकेको थियो। पुलिसले पाएका केही अवसरलाई उपयोग गर्न नसक्दा मनाङसंग फराकिलो गोल अन्तरले पराजित हुनु पर्यो।
खेलको २२ मिनेटमा भोला शिलवालको वन-भर्सेज-वन वल फष्ट बार नजिकैबाट बाहिरिएको थियो। उनले करिब ६ यार्डबाट प्रहार गरेको बल गोल हुन नसक्दा गतिलो अवसर चुकेको थियो। खेलको ३० मिनेटमा भोला शिलवालको कर्नर बललाई दीपेन श्रेष्ठले पोष्ट चार्ज गर्दा गोल लाईन नजिकै रहेका मनाङका विशाल राईले उत्कृष्ट बचाउ गर्दा गोल गर्र्न अवसर चुकेको थियो। खेलको ४६ मिनेटमा गणेश खड्काले करिब ६ यार्ड नजिकैबाट गरेको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो। दोश्रो हाफको ८ मिनेट इन्जुरी समयको ६ मिनेटमा दीपेन श्रेष्ठको प्रहार मनाङका शहीद अजिजले क्लियर गरिदिएका थिए। मनाङका गोलरक्षक विशाल श्रेष्ठ विट भएको अवस्थामा पाएको मौका चुक्दा पुलिसले सान्त्वना गोलको अवसर समेत गुमेको हो।
पराजित भएको प्रहरीका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले राम्रो खेल्दाखेल्दै पनि आफूहरु पराजित हुनुपरेको बताए। दुबै तर्फ ५०/५० को खेल थियो तर पनि उनीहरुले पाएका अवसर सदुपयोग भयो हाम्रो भएन हारको यही कारण हो श्रेष्ठले भने। उनले आफ्नो टिम हारको कारण गोलरक्षक तथा डिफेन्सका खेलाडीहरुलाई दोष लगाए।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले पाएका अवसरलाई सहुपयोग हुदा आफूहरुको गोल अन्तर धेरै भएको बताए। उनले भने “यतिधेरै अन्तरले पुलिसलाई पराजित गर्न सकिएला भन्ने मैले सोचेको पनि थिईन। पुलिसलाई यसअघि पनि पटक पटक पराजित गरेकोले यो पटक पनि पराजित गर्नेमा ढुक्क थिए।” फुटबल खेल राम्रो खेलेर मात्र नभई जित्नको लागि गोल नै गर्नु पर्ने उनले बताए।
फुटबल हेर्न आएका दर्शकले खेलकै चलिरहेको अबस्थामा खेलमैदानमा ढुंगा र पानीको बोतल प्रहार गरेपछि खेल करीब ५मिनेट स्थगित भएको थियो। यसै विच सहारा एकेडेमीको अक्षयकोष स्थापनाको लागि तमु समाज युके आमा समूहका अध्यक्ष माया तमुले २५ हजार सहयोग हस्तान्तरण गरेकी छन्। उनले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। फाईनल खेल शनिबार मनाङ मर्स्याङदी र घरेलु टिम सहारा क्लबबिच हुनेछ।