एचकेनेपाल डट कम संवाददाता-
‘पैसा छैन गोजीमा, मायालुको खोजीमा’ कमेडी गीत गाएर चर्चामा कमाएका कमेडियन कलाकार तथा गायक गजबको गुरूङ सोल्टीले भक्तपुरको चाँगुनारायण मन्दिर छेउको हेलीप्याड डाँडामा आफ्नो नयाँ गीत ‘खाँउला चनाचट्पटे कारै त मंहगो भो चढौंला भट्भटे’ बोलको गीतको म्यूजिक भिडियो छायाँकन गरेका छन्। मिस राई २०१४ का फस्ट रनर अप कला राई पनि यहि म्यूजिक भिडियो मार्फत डेव्यु गर्दैछिन्।

‘सिंगापुरे लाहुरे र गाँउघरको चाउरे बारे कथा छ। लोक कमेडी गीत हो, भिडियोमा पनि फ्यूजन गरिएको छ।’, सोल्टीले भिडियो बारे भने, ‘किराती दुईजना सुन्दरीहरुसँगै सिंगापुरे लाहुरेलाई नै भिडियोमा उत्तारिएको छ।’ मिस किराँत २०१२ का पाँचौं स्थान ओगेटेकी सुबि बायुङ्ग राई र सिंगापुरे लाहुरे सन्तोष राईसहित म्याक्स बायुङ्ग, रिता राई र कुसुम लिम्बूले पनि भिडियोमा अभिनय गरेका छन्।

झण्डै एक लाख रुपैयाँ खर्च गरिएको भिडियो श्रीमान तथा महशुष जस्ता सफल चलचित्रको छाँयाकन गरेका क्यामरा पर्सन दिव्य सुवेदीले छाँयाकन गरेका हुन् नृत्य निर्देशन प्रेम राईले गरेका छन्। होप स्टुडियो, काठमाडौंका हिमाल जोशीले सम्पादन गर्दैछन्। सोल्टीको दोस्रो म्यूजिक भिडियो एल्बममा यो भिडियो समावेश गरिने उनले जानकारी गराए।

हङकङमा किरात राई यायोक्खाद्धारा आयोजित पाँचौं यलम्बर नाइटमा दमदार प्रस्तुती दिएर नेपाल फर्किए लगत्तै पूर्वको धरान, इटहरी र राजधानी काठमाण्डौंका विभिन्न कार्यक्रममा व्यस्त बनिएका सोल्टीले व्यस्तताविच आफ्नो नयाँ गीतको म्यूजिक भिडियोको सुटिङ्ग गरेका हुन्। भिडियोको निर्देशन उनी आफैले गरेका हुन्। यसपछि उनी धराने गुरूङ सोल्टी कमेडी सर्ट फिल्म निमार्ण गर्दैछन्। सोल्टीकै मुख्य भूमिका रहने फिल्मको कथा, पटकथा, संवाद, संगीत, निमार्ण तथा निर्देशन उनी आफैले गर्दैछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस