राजनीतिलाई व्यापारका रूपमा हेरियो: सरिता केसी, विद्यार्थी नेता
पछिल्लो युवापुस्ता राजनीतिप्रति खासै चासो राख्दैन। राजनीतिबारे युवाहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूको रेडिमेड उत्तर भनेकै ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने हुन्छ। अधिकांश युवाहरू राजनीतिबाट टाढा रहने गरे पनि केही भने राजनीतिमै आफ्नो भविष्य देख्छन् र सही राजनीतिबाट मात्रै समाज परिवर्तन गर्न सम्भव रहेकाले आफू राजनीतिमा लागेको तर्क गर्छन्। यिनैमध्ये राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी केन्द्रीय सदस्य सरिता केसी पनि एक हुन्। राजनीतिमा सक्रिय विद्यार्थी नेतृ केसीसँग गरेको कुराकानी: 

० अहिलेका युवाहरूको आकर्षण केमा छ?
– अधिकांश युवाहरू स्वतन्त्रता चाहन्छन् र उनीहरू पारिवारिक दबाबभन्दा टाढा भएर रमाइलो गर्न मन पराउँछन्।
० भनेपछि तपाई पनि स्वतन्त्रताभोगी हो?
– अवश्य पनि। म पनि यही समाजको प्रतिनिधि हुँ, तर स्वतन्त्रताको नाममा उत्ताउलोपन भने मलाई मन पर्दैन।
० अहिलेको युवापुस्तामा किन राजनीतिप्रति वितृष्णा?
– यहाँ राजनीतिलाई सेवाभन्दा पनि व्यापारका रूपमा हेरियो। जसले गर्दा राजनीति फोहोरी खेलका रूपमा चिनिन थाल्यो, जुन युवाहरूलाई मन पर्दैन। 
० कसरी राजनीतिमा आउनुभयो त?
– मलाई पनि सुरुमा त राजनीति मन पर्दैनथ्यो, तर पछि बुझ्दै जाँदा राजनीति नसुध्रेसम्म देश नसुधि्रने थाहा पाएपछि राजनीतिमा लागेको हो। राजनीति फोहोरी खेलका रूपमा चिनिए पनि म यसमा परिवर्तन ल्याउन चाहन्छु।
० राजनीतिबारे धेरै ज्ञान रहेछ त?
– (हाँस्दै) धेरै त होइन, भर्खर सिकिरा’छु। 
० राजनीतिमा लाग्दा बुबाआमाले चिन्ता गर्नुभयो होला नि?
– किन चिन्ता गर्नू? मेरो बुबाआमाले नै मलाई राजनीतिमा लाग्न उत्प्रेरित गर्नुभएको हो। 
० त्यसो भए तपाई राजनीतिक पृष्ठभूमिको मान्छे?
– हो, मेरो बुबा राप्रपासँग आबद्ध हुनुहुन्छ। त्यसैले पनि मलाई राजनीति गर्न केही सहज भएको हो। 
० किन राप्रपा बन्नुभयो अरु पार्टी पनि त छन् नि?
– कुनै खास कारण छैन। बुबा राप्रपासँग आबद्ध भएकाले म पनि राप्रपा बनें।
० जन्मजात राप्रपा?
– (लामो हाँसो) त्यही भन्नुपर्योा।
० पहिला राजावादी, अहिले गणतन्त्र पक्षधर, भीडको पछि दौडिने पार्टी भन्छन् नि राप्रपालाई त?
– त्यसो होइन। हिजो राजतन्त्र छँदासम्म राजावादी भए पनि परिवर्तनलाई पनि स्वीकार गर्नुपर्यो। जनताका लागि राजनीति गर्नेहरूले जनताको चाहनाको कदर गर्नुपर्छ।
० कति भयो तपाई राजनीतिमा लागेको?
– धेरै भा’को छैन। संविधानसभा चुनावको पूर्वसन्ध्यामा राप्रपामा लागेकी हुँ।
० राप्रपाको लागि भोट माग्दै हिँड्नुभयो होला नि त?
– त्यो त भइहाल्छ नि पार्टी कार्यकर्ता भएपछि।
० अहिले पार्टीभित्र कुनै भूमिकामा हुनुहुन्छ कि?
– म पार्टीको विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुँ। र, संगठनकै खेलकुद र प्रचार–प्रसार समिति संयोजक पनि छु।
० ठूलै भूमिकामा हुनुहुँदो रहेछ?
– त्यस्तो होइन, पार्टीले जहाँ बसेर जे गर भनेर आदेश दिन्छ, त्यहीँ बसेर काम गर्ने हो।
० कत्तिको गाह्रो छ राजनीति गर्न?
– निकै गाह्रो किनकि व्यक्तिको क्षमताभन्दा पनि नेतृत्वको निकटता र चाकडी गर्नेहरूले नै पार्टीमा ठाउँ पाउँछन्।
० भनेपछि तपाई पार्टीभित्र पीडित?
– त्यसो नभनिहालौं, तर नेतृत्वले कार्यकर्ताको क्षमता र क्रियाशीलताको भने मूल्यांकन गर्नै पर्छ।
० पार्टी अध्यक्षसँग कतिको भेटघाट हुन्छ?
– पार्टी कामबाहेक म व्यक्तिगत रूपमा अहिलेसम्म पनि अध्यक्षलाई भेट्न गा’को छैन।
० पार्टीभित्र तपाईलाई को नेता मन पर्छ?
– राजेश्वर देवकोटा र लोकेन्द्रबहादुर चन्द।
० किन?
– देवकोटाको विचार र चन्दको सरल जीवनशैली मलाई ज्यादै मन पर्छ।
० अरु दलका कोही नेता छन् तपाईलाई मन पर्ने?
– प्रधानमन्त्री डा.बाबुराम भट्टराईको म फ्यान।
० राप्रपाको मान्छेलाई माओवादी नेता मन पर्ने?
– मैले कुनै पार्टी नेताभन्दा पनि भट्टराईको बौद्धिकताको सम्मान गरेकी हुँ। 
० राजनीति मात्र गर्नुहुन्छ कि अरु केही व्यवसाय पनि छ?
– म एक गैरसरकारी संस्थामा काम गर्छु।
० कुन संस्थामा?
– प्रयास नेपालमा।
० कस्तो संस्था हो यो?
– यस संस्थाले गरिब, असहाय, अनाथ र दुर्गम क्षेत्रका बालबालिकालाई निःशुल्क पढाउने काम गर्छ।
० राम्रै संस्थामा काम गर्नुहुँदो रहेछ नि?
– म मेरो कामसँग सन्तुष्ट छु।
० घरमा को को हुनुहुन्छ?
– बुबाआमा, म र मेरो भाइ। जम्मा चारजना। खुसी परिवार छ हाम्रो।
० बिहे गर्ने बेला भएन त?
– बेला त भयो तर……..(हाँसो)
० तर के?
– पहिला क्यारियर बनाउने पक्षमा छु।
० चाहेको जस्तो पुरुष नपाएर त होइन?
– त्यो पनि हो। (लामो हाँसो)
० राजनीति र गैरसरकारी संस्थामा पनि काम गर्नुहुन्छ, राम्रै मान्छे खोज्नुभा’को होला नि?
– धेरै ठूलो चाहना त होइन। कम्तीमा पनि शिक्षित त हुनैपर्यो, त्यसपछि संस्कार बुझेको र अरुलाई सम्मान गर्ने मान्छे।
० तपाईले भनेको जस्तै कोही आयो भने बिहे गर्नुहुन्छ?
– एकछिन सोच्नुपर्छ।
० बिहेपछि धेरै महिलाको राजनीतिक यात्रा रोकिएको छ नि?
– बिहेले मेरो राजनीतिक क्यारियरमा कुनै असर गर्दैन। 
० यसमा बिहेअघि नै सम्झौता हुन्छ?
– सम्झौता नै नभनौं, साझा समझदारी त हुनैपर्छ
प्रस्तुतीः सूर्य चन्द

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस