एचकेनेपाल डट कम –
काठमाडौँ, २७ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले अब बन्ने संविधान जनताले दिएको म्यान्डेटभन्दा बाहिर गएर निर्माण नहुने बताउनुभएको छ।
नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समितिको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा रिजालले भन्नुभयो, “संविधानसभामा नेपाली जनताले मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा (एमाले)लाई मिलेर सामथ्र्यका आधारमा पहिचानसहितको संविधान निर्माण गर्न म्यान्डेट दिएकाले सोहीअनुसार नै नयाँ संविधान निर्माण हुनेछ।”
अघिल्लो संविधानसभामा निषेधको राजनीति हाबी भएकाले संविधान बन्न नसकेको बताउँदै मन्त्री डा रिजालले भन्नुभयो, “सहमति र दुई तिहाई बहुमतका साथ बनेको वर्तमान सरकार संविधान निर्माण गर्नका लागि उचित वातावरण बनाउन प्रधानमन्त्री आफँै सक्रिय हुनुभएको छ।”
समितिलाई आफ्नो मन्त्रालयबाट हुन सक्ने सहयोग र संरक्षण रहने बताउँदै उहाँले राष्ट्रिय समाचार समिति परिवारलाई थप मिहिनेत र उत्साहका साथ कार्य गर्न सुझाव दिनुभयो।
राससका महाप्रबन्धक रामकुमार कोइरालाले पत्रकारका समस्याका बारेमा पत्रकार नै बढी जानकार हुने भएकाले उनीहरुको समस्यालाई सम्बन्धित पक्षले नियालेर समाधानका लागि अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले कडा निर्देशन जारी गर्नुपर्नेमा जोड दिँदै श्रमजीवी पत्रकारका हकहितका लागि अब साझा ट्रेड युनियनको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव शिव लम्साल, पूर्व अध्यक्ष समीरजङ्ग शाह, राससका सम्पादक एकराज पाठक, उपप्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलगायतले बोल्नुभएको थियो।
रासस प्रेस युनियनका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला सक्रिय पत्रकारिता पुरस्कारबाट उपप्रमुख समाचारदाता बस्नेतलाई सम्मान गरिएको थियो। सम्मानपछि रु पाँच हजार राशिको उक्त रकम सम्मानित बस्नेतले रासस प्रेस युनियनलाई नै सहयोग गर्नुभएको थियो। रासस
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस