कुमार के.सी. / एचकेनेपाल डट कम-
बेलायत। प्रबासी नेपाली मंच बेलायतको आयोजनामा १०४ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस अल्डरसटमा एक भब्य समारोह बीच सम्पन्न भयो।

नेपाली राजदूतावास लण्डनका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न राजनीतिक दल, गैरआबासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, भूतपूर्ब सैनिक संगठन गेसो तथा अन्य संघ संथाहरुको उल्लेख्य सहभागीता रहेको थियो।

कार्यक्रममा १०४ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदै प्रमुख अतिथि क्षेत्रीले बेलायतमा रहने सबै नेपालीहरुको समस्याहरुको समाधान गर्न दूताबास सधै तत्पर रहेको र कुनै समस्या आएमा संगै बसेर समाधान निकाल्न सकिने कुरा बताउनु भयो। प्रबासी नेपाली मंच बेलायतका अध्यक्ष रामशरण सिम्खडाले नारी दिवसमा उपस्थित सम्पूर्ण अतिथि महानुभाबहरुलाई बिशेष धन्यबाद दिदै राज्यले सिमान्तकृत पारिएका तथा समाजमा पछाडि परेका हरेक समस्याहरुसंग जुध्ने राज्यको जिम्मेवारी भएता पनि यस पटक कमलरीहरुको समस्या प्राथमिकतामा पारी मंचले गरेको यस शुभ-कार्यमा सहयोग सहयोग गर्ने सबैलाई आह्वान गर्नु भयो।

कार्यक्रमका अतिथि तथा जनसम्पर्क समिति बेलायतका नेता बिश्व आदर्श पण्डितले कमलरीहरुको सहयोगको लागि गरेको कामको सराहना गर्दै अब बन्ने संबिधानमा प्रबासी नेपालीहरुको नागरिकताको सुनिश्चितताको लागि हामी सबै जना मिलेर आवाज उठाउनु पर्ने कुरा बताउनु भएको थियो। त्यसै गरी, जनप्रगतिशिल मंच युरोपका संयोजक सुरेन्द्र श्रेष्ठले कार्यक्रम अति नै सान्दर्भिक रहेको र आम दिदीबहिनी तथा सबैमा यसले उत्साह थपेको भन्दै सफलताको कामना गर्नु भयो। अर्का अतिथि गैरआबासीय नेपाली संघ बेलायातका निबर्तमान अध्यक्ष कुल आचार्यले नारी दिवसको चर्चा गर्दै हरेक ठाउँमा हामीले मिलेर कम गर्नुको बिकल्प नरहेको कुरा बताउनु भयो। कार्यक्रममा आयोजक समितिका सदस्य प्रतिमा के.सी.ले कमलरीहरुको संक्षिप्त परिचय र हाल उनीहरुको लागि गरिएको कार्यक्रमहरु बारेमा आफ्नो मन्तब्य राख्दै पश्चिम नेपालका कमलरी बालबच्चाहरुको सहयोगार्थ विभिन्न महानुभाबहरुसंग आर्थिक सहयोग अनुरोध गरिएको र कार्यक्रमबाट बचत हुने रकम शान्ता चौधरी प्रतिष्ठान मार्फत उनीहरुलाई सहयोग गर्ने कुरा बताउनु भयो। उहाले नारीहरुको उत्पीडन समन्धमा मार्मिक कविता समेत बाचन गर्नु भएको थियो। सो कार्यक्रममा आयोजक समितिका सदस्य राधा भट्टराई, गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष शान्ति थापा, नेपालबाट बेलायत भ्रमणमा रहनु भएका मानकाजी श्रेष्ठ तथा भूतपूर्ब सैनिक संघ गेसोका उपाध्यक्ष कृष्ण कुमार राई र महिला अधिकाराकर्मी देबीमाया पुनले समेत सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतको तेस्रो अधिबेशनबाट निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो। समय अभावको कारण अधिबेशनको दिन प्रदान गर्न बाँकी रहेको प्रमाणपत्रहरु निर्बाचन आयुक्त राधा भट्टराइले वितरण गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा सो कार्यक्रमका संयोजक तथा प्रबासी नेपाली मंच बेलायतका सदस्य सरस्वती के.सी.ले कार्यक्रममा सहयोग पुर्याउनु हुने सबै लगायत आर्थिक सहयोग गर्नु हुने संघसंस्था तथा बिभिन्न महानुभाबहरुलाई बिशेष धन्यवाद दिनु भएको थियो। उहाँले हल तथा स्वादिष्ट खाना उपलब्ध गराएकोमा भेटघाट रेष्टुराँ तथा ब्यबस्थापनमा लाग्नु हुने सम्पूर्ण महानुभाहरुलाई बिशेष धन्यवाद दिनुभएको थियो।

प्रबासी नेपाली मंच बेलायत सल्लाहकारहरु भक्त गुरुङ, डा. कृष्ण रेग्मी, कृष्ण भट्टराई, राजेन्द्र पुडासैनी, दिनेश घिमिरे, सुष्मा राई तथा कार्य समितिका उपाध्यक्षत्रय रबिन्द्र कंडेल, रमेश बाँस्तोला, रामजी बराल, महासचिब तुंग भद्र भुसाल तथा सचिब धन क्षेत्रीलगायत अधिकांश कार्यसमितिका सदस्यहरुको सो कार्यक्रममा सहभागीता रहेको थियो। त्यस्तै कार्य्रममा दूताबासका आर्मी एटैची ब्रिगेडियर जनरल विश्वनाथ घिमिरे, एनआरएन यूकेका पूर्ब अध्यक्ष सूर्य गुरुङ, बुद्धिजीबी डा. चन्द्र बहादुर गुरुंङ, बिजन भट्ट, कृष्ण तिमिल्सीना, पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष चिरन शर्मा, उपाध्यक्ष धर्म अधिकारी तथा एनआरएन आईसीसीका सल्लाहकार डा. हेमराज शर्माको समेत सहभागितामा समाजमा लब्धप्रतिष्ठित बिभिन्न ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो। प्रबासी नेपाली मंच बेलायतका सल्लाहकार समितिका सदस्य सुष्मा राईको अध्यक्षता, प्रबासी नेपाली मंच बेलायतका सदस्य तथा आयोजक समितिका सह-संयोजक सुशिला राईको स्वागत मन्तब्य तथा केन्द्रिय सदस्य तथा सो नारी दिवस आयोजक समितिका सदस्य स्मीता आत्रेयको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममको दोस्रो भागमा नाचगान तथा सांस्कृतिक कार्यक्रमहरु भएको थियो। कार्यक्रममा स्थानीय कलाकार सुजन पराजुलीको सुमधुर गीतले सम्पूर्ण सहभागीहरुलाई भरपूर मनोरंजन गराएका थिए।

बेलायतमा कुनै पनि राजनैतिक दलसंग सामिप्यता राख्ने संस्थाले गरेको यो मौलिक र उद्धेश्यमूलक कार्यक्रमको सहभागी सबैले उच्च प्रशंसा गर्दै नितान्त राजनैतिकमात्र नभै मानबीय कार्यमा समेत प्रवासी नेपाली मंच युके जुटेकोमा दर्शक दिर्घामा राम्रै भलाकुसारी भएको पाईएको थियो। यस्तो सन्देशमूलक तथा मौलिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने आयोजकको भनाई रहेको छ।

नेपालको पश्चिम तराईमा बिद्यमान कमलरी प्रथा र शान्ता चौधरीले सो को बिरुद्ध गर्नु भएको साहासिक आन्दोलनको बारेमा बृत्तचित्र देखाउंदा धेरैका आंखा रसाएको प्रत्यक्ष देख्न पाईन्थ्यो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस