नरेन्द्रराज प्रसाई-
वानीरा गिरीका बुबा इन्द्रराज गिरी चौबीस वर्ष पुगेपछि उनको बिहे भयो। इलामका कृष्णबहादुर सुतार कार्की र नैनकला कार्कीकी चौध वर्षीया छोरी जानुकादेवी कार्कीसँग यिनको लगनगाँठो बाँधिएको थियो । बिहे गरेपछि यिनको जीवनमा धेरै परिवर्तन पनि आएको थियो। गिरीमा आएको उत्साहले पनि उनको व्यापारले निक्कै सफलता पाएको थियो।
जानुकादेवी असाध्यै सुन्दरी थिइन् । उनी सधैभरी मीठो बोलीवचनले सबैलाई विमुग्ध पार्थिन् । साथै उनी व्यवहारमा पनि निपूर्ण थिइन्; सांसारिक जीवनपद्धतिसँग उनको गहिरो नाता थियो । उनी जीवन, जगत् र प्रकृतिका बारेमा धेरै चिन्तन गर्ने गर्थिन् । अनि उनी त्यसबारेको सवालजवाफमा पनि निपूर्ण नै देखिन्थिन्।
इन्द्रराज गिरीको बिहेका बारेमा एउटा रोचक प्रसङ्ग छ । उनी बीस वर्षको उमेरमा नै गाउँठाउँमा राम्रो व्यापारीका रूपमा कहलाइसकेका थिए । त्यसैले उनी ‘साहूजी’का रूपमा चर्चित थिए । उनी आफ्ना मन परेका मान्छेहरूलाई ऋण पनि दिन्थे । त्यसै सिलसिलामा कृष्णबहादुर सुतार कार्कीले पनि उनीसँग ऋण लिने गर्थे । गिरीसँग ऋण लिने र कार्कीले तिर्ने प्रक्रिया चलिरहेको थियो तर कार्कीको व्यावहारिक कठिनाइका कारण उनले गिरीसँग लिएको पछिल्लो ऋण भाकाअनुरूप तिर्न नसक्ने अवस्थामा पुगेका थिए । उपायहीन अवस्थामा पुगेका कार्की गिरीसमक्ष प्रायः ऋण तिर्ने भाका सार्ने अनुनय मात्रै गर्न थालेका थिए।
ऋण उठाउने सिलसिलामा गिरी कार्कीको घरमा बराबर जाने गर्थे तर उनले ऋणीलाई प्रायः भेट्न सक्तैनथे । ऋणकै ताकेताका लागि अर्को एकदिन उनी कार्कीका घरमा पुगेका बेला उनले सधैं झैं कार्कीलाई भेट्न सकेनन् । त्यसै बेला उनले कार्कीकी छोरी जानुकादेवीसँग यसबारेको कुरा गरे— ‘नानी ! तिम्रो बुबाले मसँग धेरै लुकामारी खेलिसके। अब म सहने अवस्थामा रहिनँ । कि त पढ्केले म तिरोतारो गर्दिनँ भन्नुपर्यो; या त मेरो पैसा तिर्नुपर्यो।’
जानुकाले गिरीका कुरा सुनेर नमीठो मानिन् । तर पनि उनले साहू गिरीलाई अत्यन्तै मीठो आतिथ्य सत्कार त दिइन् साथै गिरीका सबै कुरा सुनेर उनले भनेकी पनि थिइन्— ‘मेरो बुबा ऋण काड्न भनेर नै पारी गाउँमा जानुभएको छ । गिरीको पैसा तिर्नु छ भनेर उहाँ सधैं भुटभुटिनुहुन्छ । गिरी भनेको तपाईं नै हुनुहुँदो रहेछ । हो त नि ! खाएपछि त तिर्नैपर्छ नि ! मेरो बुबाले तपाईंको पैसा खानुहुन्न, तिर्नुहुन्छ । अहिलेसम्म उहाँको थाप्लोमा कसैको ऋण थिएन।’
जानुकादेवीको कुरा सुनेर त्यस दिन इन्द्रराज गिरी प्रसन्न भए । एउटी कलकलाउँदी, सुकुमारी र मृदुभाषी किशोरीसँग उनको मन पनि बसिसकेको थियो । अनि उनले मनमनै विचार गरे, ‘कार्कीले ऋण त तिर्ने छाँटकाँट छैन । तर ऋणको बहानामा यो नानीलाई हेर्न म अब दिनदिनै आउँनुपर्ला !’ त्यसपछि गिरी दिनदिनै चारपाँच घन्टा पैदल हिँडेर कार्कीको आँगनमा आउँन थाले । अनि कार्की पनि गिरीसँग मुख देखाउन गाह्रो मानेर दिनदिनै घरबाहिर जान थाले।
धेरै दिनसम्म गिरीको प्रवेश कार्कीका घरमा भइरह्यो । जानुकाले गिरीलाई सुमधुर आतिथ्य सत्कार गर्दै विनम्र भावमा फकाई सधैं फर्काउने गरेको बेहोरा पनि उनले आफ्ना बुबालाई निवेदन गर्ने गर्थिन् । यता जानुकाको मान्छेप्रतिको शिष्टाचारले गिरी फतक्कै गलिसकेका थिए । ‘यी कन्यालाई पाएँ भने मेरो भाग्य जाग्थ्यो’ भन्ने चिन्तनमा नै गिरीको त्यसपछिका दिनहरू कट्न थाले । त्यसै रीतमा एकदिन गिरीले आधारातसम्म बाटो ढुकेर कार्कीलाई फेला पारे । त्यस बेला कार्कीले पनि ‘बाघका मुखमा परियो’ भन्ने दुःखद् समयको महसुस गरे । कार्कीको निन्याउरो अनुहार हेरेर गिरीले भनेका थिए— ‘हेर कृष्णबहादुर ! तिमीले आत्तिनुपर्दैन । अब तिमीले ऋण तिर्न पनि सकेनौ । तिमीले मेरो पैसा तिर्ने कुरामा मलाई विश्वास पनि रहेन ।’ गिरीका खस्रा कुरा सुनेर कार्कीले नरम स्वरमा बोलेका थिए— ‘म तिर्छु । मैले अहिलेसम्म कसैको कपाली बोकेकै छैनँ, बुझ्यौ?’ अनि फेरि गिरी बोलेका थिए— ‘तिमीले ऋण तिर्नुपर्दैन र अब म उठाउन पनि आउँदिनँ । तर तिमीले मेरो एउटा वचन पुरा गरिदिनुपर्छ । म तिमीसँग केही माग्छु । तिमीबाट मेरो माग पुरा हुनेछ भन्ने मैले आशा लिएको छु । अब हामी ऋणी र साहूबाट अलग्गै बस्नुपर्छ। तर तिमीले मेरो मागबमोजिम काम गरिदिनुपर्छ, बुझ्यौ?’
इन्द्रराज गिरीका कुरा सुनेर कृष्णबहादुर कार्कीको मनमा केही सन्तोषका भाकाहरू सर्न थाले । अनि उनले कौतूहलवश गिरीको मागबारे जान्न चाहे । तर गिरीले आफ्नो माग पुरा हुन्छ भने मात्र आफ्ना कुरा भन्ने निर्णय सुनाए । उनको जिद्दी देखेर कार्की बोलेका थिए— ‘साहूले जे भन्छौ, म त्यही मान्छु । ल बोल!’
इन्द्रराज गिरीले आफ्नो माग राखे— ‘हेर कार्की ! तिम्री छोरीको बिहे भएको पनि छैन । मेरा सारा व्यवहार हेर्ने यस्तै सुकन्या मैले पनि खोज्दै हिँडेको छु । मलाई तिम्री छोरी देऊ । तिमीले मेरो ऋण तिर्न पनि सकेनौ र अब तिर्नु पनि पर्दैन । बरु तिमी मलाई कन्यादान गर । त्यसो भएमा तिमीलाई ‘ब्रह्मस्व’ पनि लाग्दैन । तिमीले यी कन्यासँग मेरो बिहे गराइदियौ भने म यिनलाई मेरो सम्पत्तिको मालिकनी बनाउनेछु।’
गिरीका कुरा सुनेर कार्कीको अनुहारमा एकाएक खुसीका धर्साहरू देखिन थाले । केहीबेर अघिसम्म गिरीलाई देखेर झन्नै मूर्छित भएका कार्की गिरीको प्रस्ताव सुनेपछि बेहोसीबाट बौरिएसरह भए । त्यस घडी उनको अनुहारमा हर्षभाव सीमा थाम्न नसक्ने गरी पोखियो । अनि उनले गिरीसमक्ष भने— ‘ल हजुर ! मेरो ज्वाइँसाहेबका रूपमा मैले तिमीलाई स्वीकार गरेँ । अब मेरी छोरी हजुरकै पत्नी भइन्।’
त्यस दिनका कार्कीको शब्दले गिरी साह्रै खुसी भए। उनले कार्कीप्रति अति नै श्रद्धापूर्वक नमस्कार पनि गरे। बिहे गरेपछि इन्द्रराज गिरीको व्यवसाय निक्कै उचालिएको थियो । त्यसपछिको गिरीको लगनले उनी खर्साङमा नै धनी व्यक्तिका रूपमा स्थापित भएका थिए । उनको आर्थिक हैसियत त्यहाँका मान्छेको तुलनामा अग्रपङ्क्तिमा नै देखिन्थ्यो । साथै उनको घर पनि त्यहाँको समाजमा नामी मानिथ्यो । यसै क्रममा उनले एकजना बेलायतीको घर किनेका थिए । बेलायती नारी उनैलाई घर बेचेर स्वदेश फर्केकी थिइन् । पछि त्यही घरमा जानुकादेवीले आफ्नो खुट्टा घुमाएकी थिइन् । तर त्यस दृश्यले कृष्णबहादुर कार्की झनै गद्गद् थिए।
इन्द्रराज गिरीले आफ्नी पत्नीलाई उधुम माया गर्थे । उनी आफ्नी पत्नीको मोहमा टमक्कै बाँधिएका थिए । वास्तवमा, जानुकादेवी उनले सोचेजस्ती थिइन् । जानुकालाई भित्र्याएपछि उनले घरभित्रको केही विषय पनि हेर्नुपरेन । सबै घरव्यवहार उनकै प्रिय पत्नीबाट राखनधरन र तिरोफारो हुने गथ्र्यो।
जानुकालाई इन्द्रराज गिरीले राजकुमारीकै ठाँटबाँटमा राखेका थिए । उनीहरूको दाम्पत्यजीवन अति नै सुन्दर र सुखमय देखिन्थ्यो । उनीहरूको माधुर्ययुक्त जीवनचर्या देखेर गाउँलेहरू छक्क नै पर्थे । त्यति मात्र होइन, जानुकादेवीको हैसियत उमेरसँगसँगै फराकिलो हुन थाल्यो । उनी वादविवाद र छलफलमा पनि कुशल देखिन थालेकी थिइन् । एकातिर उनको राजर्षि ठाँटबाँट र अर्कोतिर वैयक्तिक सुन्दर आचरणका कारण राजनीतिज्ञहरूको पनि उनीमाथि झुकाव देखिन्थ्यो । त्यसैले त्यहाँका दुईजना महिला राजनीतिज्ञहरू मायादेवी क्षत्री र शनी खातीले जानुकादेवी गिरीलाई पनि राजनीतिमा लाग्न अनुरोध गरेका थिए । त्यस बेला काङ्ग्रेस पार्टीले उनलाई अनेक गरेर आफ्नो राजनीतिक पार्टीतिर तान्न नै खोजेको थियो।
जानुकादेवीको बौद्धिक चेत उच्चस्तरको थियो । उनको वाक्शक्ति पनि माथिल्लो कोटिको थियो । त्यसैले मायादेवी क्षत्री उनीसँग मरिमेटेर लागेकी थिइन् । वास्तवमा क्षत्री पनि जति सुन्दरी थिइन्, उनमा बौद्धिक शक्ति पनि त्यति नै देखिन्थ्यो। सांसद मायादेवी क्षत्री र शनी खातीको प्रायः ‘जाइ’ निवास अर्थात् जानुकादेवी र इन्द्रराज गिरीका घरमा अड्डा जम्न थालेको थियो । उनीहरूको दबाबले प्रायः जानुकादेवीलाई रन्थन्याउन थालिसकेको थियो । त्यसैले उनीहरूको हाउभाउलाई इन्द्रराज गिरीले सहन मन गरेनन् । फलस्वरूप उनले ती नारीद्वयलाई घरभित्र नपसाउन अनेक चेष्टा पनि गरे । तर उनले सोझो मुखबाट उनीहरूको आगमनलाई रोक्न भने सकेनन् । अनि एकदिन उनले ती दुवै नारीउपर झर्केर भनेका थिए— ‘ए पढ्के हो ! तिमीहरू जेमा लाग्छौ, लाग । तिमीहरू जे गर्छौ, गर, तर तिमीहरूले मेरी श्रीमतीलाई लिएर हिँड्ने काम नगर !’ गिरीका संवाद त्यति बेला उनीहरूले सुनेको नसुनेझð गरेका थिए । अनि उनीहरू त्यहाँ आउँने क्रम पनि रोकिएको थिएन । त्यसैले एकदिन गिरीले उनीहरूको सातो लिएर हाँकडाँकैले बोलेका थिए— ‘ए पढ्के हो !अब आइन्दा तिमीहरू यस घरमा नटेक । तिमीहरूले यहाँ आउँने काम नै छैन । म मेरी श्रीमतीलाई राजनीतिमा जान दिन्नँ।’
जानुकादेवी सङ्गीतप्रति विशेष झुकाव राख्थिन् । उनको स्वर मीठो थियो । उनी घरमा गीत पनि गाउथिन् । बिहानबेलुका आरती गर्दा पनि उनी प्रायः भजन गाउने गर्थिन् । साथै उनी संस्कृतका धेरै श्लोकहरू पनि पारायण गर्थिन्। पूर्वी पहाडको लोकप्रिय बाजा मुर्चुङ्गा जानुकादेवीको प्रिय साङ्गीतिक सामग्री थियो । उनी कुशल साङ्गीतिक पारामा मुर्चुङ्गा बजाएर त्यसमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्षम थिइन्।
जानुकादेवी गिरी साह्रै सुन्दरी थिइन् । त्यस बेहोराले पनि इन्द्रराज गिरीको मनमा कताकता घोच्ने गथ्र्यो । त्यतिमात्र होइन, जानुका उनीभन्दा दस वर्षले कान्छी पनि थिइन् । त्यसैले उनले आफ्नी श्रीमतीलाई कहिल्यै एक्लै छोडेनन् । साथै उनले जानुकालाई कसैसँग पनि बाहिर जान पनि दिएका थिएनन्।
prasai.nai@gmail.com