न्युज अपडेटः हराएको मलेसियन विमान हिन्दमहासागरमा दुर्घटनाग्रष्त, सबै यात्री मृत घोषित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), ११ चैत्र। मार्च ८ तारिखदेखि हराइ रहेको मलेसियन जेटलाइनर MH370 विमान हिन्दमहासागरमा कतै विलय भइसकेको मलेसिया सरकारले निष्कर्ष निकालेको छ।
विमान दक्षिणी हिन्दमहासागरमा कतै विलय भइसकेको निष्कर्ष निकाल्दै अब विमान खोजीको अध्यायलाई पनि अन्त्य गरिने घोषणा गरेको छ। मलेसियाली प्रधानमन्त्री नजीब रजाकले पत्रकार सम्मेलनमा बोल्दै यो समय हराएको विमानबारे सूचना लुकाउन नहुने बताए। विमानमा परेका परिवारलाई अतिरिक्त ५ हजार डलर भुक्तान गरिनेसमेत जानकारी दिए। उनले सोमवार ट्वीट गर्दै वेपता विमान दक्षिणी हिन्द महासागरमा कतै विलय भएको र अब उसको तलाश बन्द गरिने जनाएका थिए। विमान खोजीको पछिल्लो डाटा विश्लेषणपछि प्रधानमन्त्री रजाकले ट्रवीट गरेका छन्- ‘गहिरो दुख र खेदका साथ मान्नु पर्ने समय आएको छ कि MH 370 फ्लाइट दक्षिणी हिन्दमहासागरमा विलय भइसकेको छ।’
केही दिनअघि दक्षिणी हिन्दमहासागरमा भूउपग्रह(सेटलाइट)ले खिचेका तस्वीर हराएको विमानको टुक्राहरू हुन सक्ने भन्दै अष्ट्रेलिया, चीन र फ्रान्सले जारी गरेका थिए। तर, केही दिनपछि खोजी दलले खोज्न जाँदा ती टुक्राहरू फेला पार्न सकेनन्। ती टुक्राहरू महासागरमा डुबि सकेका थिए वा पानीका फोहारा थिए पुष्टि हुन सकेको छैन।
२३९ यात्रुसहित मलेसियाबाट चीनको बेइजिङतर्फ उडेको मलेसियन बोइङ ७७७-२०० फ्लाइट एमएच ३७० उडान भरेको केही घण्टामै दक्षिण चीन सागरको आकाशबाट वेपत्ता भएको थियो। विमान पुग्नु पर्ने गन्तव्यभन्दा ठीक विपरीत दिशातिर मोडिनु आफैंमा एक आश्चर्य र रहस्यको विषय बनेको थियो। विमान प्राविधिक कारणले वा कसैको षडयन्त्र वा अपहरणको कारणबाट दुर्घटना भएको हो त्यसको रहस्य भने खुलि सकेको छैन।
हराएको विमान हिन्दमहासागरमा अन्त्य भएको जानकारी दिंदै मलेसियाली प्रधानमन्त्री नजीब रजाक।
विमान दुर्घटनाग्रष्त भएको जानकारीपछि विमानमा परेका यात्रीका परिवार तथा आफन्त।
न्युज अपडेटः १० डलर मात्र खर्च गरेको भए हराएको विमान फेला पर्थ्यो
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), ८ चैत्र। कहिलेकाही सा-साना हेलचक्र्याई तथा वेवास्ता गर्दा पछुताउनुको विकल्प हुदैन। हराएको मलेसियन जेटलाइनर MH370 विमानको सम्बन्धमा पनि यस्तै भएको छ। विमान कम्पनीले १० डलरमात्र खर्च गरेको भए हराएको विमान जुन सुकै अवस्थामा भए पनि सहजै फेला पर्न सक्थ्यो। वाशिङ्गटन पोस्टको एक रिपोर्टअनुसार केवल १० डलर खर्च गरेर प्रति फ्लाइट कम्प्युटर अपग्रेड गरेको भए विमानसंग सारा सम्पर्क टुटेको भए पनि हराएको विमान खोज्ने काम, उसको जाँच सही दिशामा, छिटो र सही एटिट्यूट पत्ता लगाउन सक्थ्यो।
यदि स्विफ्ट नामक यो सिस्टमको पूरा प्याकेज लिएको भए इन्जन प्रदर्शन, ईन्धन उपभोग, स्पीड, एटिट्यूड र डायरेक्शनको जानकारी दिइ रहन्थ्यो। यी सब जानकारी विमानको कम्युनिकेसन्स सिस्टम खराब भएपछि पनि पाइ रहन्थ्यो। तर मलेसियन विमान कम्पनीले विमान अवतरण भइसकेपछि मात्र यूएसबी स्टिकमा डाटा डाउनलोडिङको सस्तो विकल्प चुनेको थियो।
त्यसैगरी, अष्ट्रेलियाले वेपत्ता विमानको टुक्रा हिन्दमहासागरमा तैरिएको हुन सक्ने भन्दै जारी गरेको भूउपग्रह तस्वीर गलत सावित भएको छ। खराब मौसमका कारण विहीवार स्थगित गरी शुक्रवार खोज्दा केही फेला नपरेपछि खोजि दल रित्तो हात फर्किएको थियो।
न्युज अपडेटः हराएको विमान विष्फोट वा दुर्घटनाग्रष्त भएको प्रमाण भेटिएन
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), ५ चैत्र। मार्च ८ देखि हराइ रहेको मलेसियन जेटलाइनर MH370 विमानकाे अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन। यद्यपि, बहूराष्ट्रिय खोजी दलहरूले विमान खोज्ने काम रोकेका छैनन्। दिनहरू बित्दै जाँदा हराएको विमान फेला नपरेपछि अनेक हल्लाहरू बाहिर पनि आए। विमान बरमुढा ट्रिएन्गलमा भेटिएको त कसैले कुनै घनाजंगलमा सकुशल अवतरण गरेको हल्लाहरू बाहिर फैलाए।
ताइवान विश्वविद्यालयका विद्यार्थीले स्याटलाइटमार्फत भेटिएको भनिएको MH370 विमान
यसैबीच, परमाणु कार्यक्रममाथि निगरानी राख्ने संयुक्त राष्ट्र समर्थित व्यापक परमाणु परीक्षण निषेध संधि संगठन [सीटीबीटीओ] ले विमान विष्फोट वा दुर्घटनाग्रष्त भएको प्रमाण फेला नपरेको जनाएको छ। संयुक्त राष्ट्र महासचिव बान की मूनका प्रवक्ता स्टीफेन डुजारिकले अहिलेसम्म हराएको विमान कुनै जमिन या समुद्रमा दुर्घटनाग्रष्त भएको जानकारी फेला नपरेको बताएका छन्। विमान विष्फोट वा दुर्घटनाग्रष्त भए नभएको पत्ता लगाउन उसले सेन्सरहरू उपयोग गरेको थियो। जसले अधिक उचाईमा विमानमा विस्फोट भएको आशंकाको बारेमा पत्ता लगाउंने काम गर्छ।
त्यसो भए के हराएको विमान सम्पर्क हुनै नसक्ने कुनै विकट तथा दुर्गम मरूभूमि वा घनाजंगलमा अवतरण त भएको छैन? के विमानमा सवार यात्रु र सवारी चालक दल सबै सकुशल नै छन्? रहस्य झन गहिरिदै गएको छ।
न्युज अपडेटः हराएको विमान अपहरणमा परेको आशंका
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), १ चैत्र। गत शनिवारदेखि बेपत्ता MH370 विमान अपहरणमा परेको मलेसियाली अधिकारीहरूले आशंका जनाएका छन्। क्वालालम्पुरबाट बेइजिङ उडेको विमान हराएको करीव हप्ता दिनपछि मलेसियाली अनुसन्धानकर्ताहरू विमान अपहरणमा परेको हुन सक्ने निष्कर्षमा पुगेका हुन्। समाचार संस्था एपीका अनुसार मलेसियाली अधिकारीहरूले शनिवार विमान अपहरणमा परेको हुन सक्ने जानकारी दिएका हुन्। विमान उडानको समेत राम्रो अनुभव रहेका अपहरणकारीले जानीजानी सञ्चार उपकरण बन्द गरेर विमान अपहरण गरेको हुन सक्ने मलेसियाली अधिकारीलाई उदृत गर्दै एपीले जनाएको छ।
यसैबीच, हराएको विमानमा जानाजानी सञ्चार सम्पर्क विच्छेद गराएको, निर्धारित बाटो मोडेको र विमानसँग अन्तिम सम्पर्क शनिबार बिहान ८ बजेर ११ मिनेटमा भएको नयाँ तथ्य मलेसियाका प्रधानमन्त्री नजीब रज्जाकले शनिवार सार्वजनिक गरेका छन्। यसअघि बिहान १ बजेर ७ मिनेटमा अन्तिम सम्पर्क भएको भनिएको थियो। विमानको सञ्चार उपकरण विच्छेद गराउनु र उडानको दिशालाई कसैले जानाजान परिवर्तन गरेको बताएका छन्। विमानको सेटलाइट र राडार ट्रयाकिङको आधारमा नयाँ तथ्य पत्ता लागेको सञ्चारकर्मीहरूसंग बताउंदै रज्जाकले अनुसन्धान अब नयां चरणमा प्रवेश गरेको जनाएका छन्। उनले विमान अपहरण भएको हुन सक्नेतर्फ संकेत गर्दै चालक दलका सदस्य र विमानमा रहेका सबै यात्रुका विषयमा अनुसन्धान केन्द्रित रहने बताएका छन्।
त्यस्तै, हराएको विमान खोज्ने क्षेत्रफललाई अझ फराकिलो पारेको छ। उपलब्ध नयाँ भूउपग्रहीय तथ्याङ्क र कजाखस्तान र तुर्कमेनिस्तानको सिमामा विमानको अन्तिम सम्पर्क भएको ठाउँका आधारमा उत्तरी करिडर अन्तर्गत कजाखस्तानबाट उत्तरी थाइल्यान्डसम्म र दक्षिणी करिडर अन्तर्गत इन्डोनेसियादेखि दक्षिणी हिन्द महासागरसम्म रहेको छ।
न्युज अपडेटः सम्पर्क टुटेको ४ घण्टासम्म उड्दै थियो विमान
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), ३० फागुन। गत शनिवारदेखि बेपत्ता MH370 विमान सम्पर्क टुटेको चार घण्टासम्म सेटलाइट(भूउपग्रह)लाई सिग्नल पठाइरहेको अमेरिकी अधिकारीहरूले नयाँ रहस्यको खुलासा गरेका छन्। यसका कारण सम्पर्क टुटेपछि पनि विमानले सयौं मिलको उडान भरेको हुन सक्ने अनुमान गरेको छ। बिमानले उपग्रहमा डाटा नपठाए पनि लगातार सिग्नल पठाएर सम्पर्क गर्ने प्रयाश गरिरहेको जनाएको छ।
न्युज अपडेटः विमान निश्चित मार्गबाट मल्लका स्ट्रेटतर्फ मोडिएर ४ घण्टा उडे भने?
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी), ३० फागुन। मलेसियाले चीनद्वारा जारी स्याटलाइट (भूउपग्रह) तस्वीरहरू र वेपत्ता मलेसिया एयरलाइन्स MH370 विमानसंग कुनै सम्बन्ध नभएको स्पट पारेको छ। चीनले सरकारी वेबसाइटमा स्याटलाइट तस्वीरहरू जारी गरेपछि उक्त स्थानमा खोजबिन गर्दा केही फेला नपरेको जनाएको छ। करीव एक हप्ता बित्न लाग्दा पनि हराएको विमान फेला नपरेपछि रहस्य झन गहिरिदै गएको छ। यसैबीच, विमान नियन्त्रण कक्षसंग सम्पर्क विच्छेद भएपछि बेइजिङ पुग्ने चार घण्टाको गतिमा विमान कोटाभारूबाट मोडिएर मल्लका स्ट्रेटतर्फ उडेको थियो भने कहाँसम्म पुग्न सक्ला भन्ने प्रश्न उठेको छ। बेइजिङ पुग्ने चार घण्टाको अवधि यदि मोडिएर मल्लका स्ट्रेटतर्फ गएमा उक्त विमान हिन्द महासागरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। तर, हराएको विमान फेला नपरेसम्म यि सबै अनुमानमात्र हुने छन्। विमान फेला परेको वा संकेत मिलेको यसअघिका दाबीहरू पूर्णतय असत्य भइसकेका छन्। दिनहरू गुग्रिदै जाँदा हराएको विमान खोज्ने चुनौती झन् झन् बढ्दै गएको छ।
ग्राफिक्स तस्वीरः साउथ चाइना मोर्निङ पोष्ट
न्युज अपडेटः स्याटलाइट तस्वीरमा देखिएका टुक्राहरू हराएको विमानको हुन सक्छ!
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी),२९ फागुन। चीनले स्याटलाइट (भूउपग्रह) तस्वीरहरू जारी गर्दै ती टुक्राहरू ६ दिनअघिदेखि हराइरहेको मलेसिया एयरलाइन्स MH370 विमानको हुनसक्ने अनुमान गरेको छ।
चीनको सरकारी वेबसाइटमा जारी तस्वीरमा केही टुक्राहरू समुद्रको सतहमा तैरिरहेको देखिएका छन्। ती टुक्राहरू भियतनाम र मलेसियाबीचको दक्षिण चीन सागरमा १०५.६३ डिग्री देशान्तर पूर्व र ६.७ डिग्री अक्षांश उत्तरमा फेला परेको जनाएको छ। स्याटलाइटद्वारा देखिएका टुक्राहरू २० वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएका थिए र यिनका साइज १३X१८ मीटर र २४X२२ मीटरका थिए। यी तस्वीरहरू आइतवार खिचिएका भएपनि चीनले बुधवारमात्र सार्वजनिक गरेको हो। बेपत्ता विमान र ती तस्बिरहरूबीचको सम्बन्ध भन्ने स्पष्ट भइसकेको छैन। खोजी दल अहिले त्यसतर्फ प्रस्थान गरिसकेको छ। यसअघि पनि भियतनामी र मलेसियाली अधिकारीहरूले हराएको विमान फेला परेको दाबी गरेपनि पुष्टि हुन सकेको थिएन। MH370 विमान हराउनु उड्डयन जगतसहित पूरा दुनियाको लागि रहस्यको विषय बनेको छ। गत शनिवार विहान चालक दलसहित २३९ यात्रु सवार क्वालालम्पुरबाट बेइजिङ उडेको विमान एक घण्टामै गायब भएको थियो। हराएको विमान खोज्न १२ देशका ४० पानीजहाज तथा ३४ विमानसहित खोजीदलहरू परिचालित छन्।
न्युज अपडेटः विमान बेपत्ता हुनुअघि मल्लका स्ट्रेटतर्फ मोडियो
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी),२८ फागुन। मलेसियाली सेनाले विमान बेपत्ता हुनुअघि निश्चित गन्तव्यतर्फ नगइ मल्लका स्ट्रेटतर्फ मोडिएको जनाएको छ। ५ दिनदेखि वेपत्ता विमान मलेसियादेखि पश्चिमतर्फको समुद्र मल्लका स्ट्रेटतर्फ मोडिएको संकेत राडारमा देखिएको दाबी गरेपनि फेला परेको छैन। सेनाका अनुसार मल्लका स्ट्रेट हवाई ट्राफिक कन्ट्रोलसंग अन्तिम पटक सम्पर्क गरेको ठाउंबाट धेरै टाढा पर्छ। हवाई ट्राफिक कन्ट्रोलसंग अन्तिम पटक सम्पर्क गरेको ठाउं कोटाभारूबाट बिमानले बाटो परिवर्तन गरेको र उडानको उचाइ कम हुदै मल्लकातर्फ मोडिएको जनाएको छ। यसलाई सेनाले आश्चर्यचकित पार्ने अर्को रहस्य भनेको छ। मल्लका स्ट्रेट हिन्द महासागर र प्रशान्त महासागरबीचको अति व्यस्त पोत मार्गमध्ये एक हो। यसअघि सेनाले सो क्षेत्रमा विमान फेला परेको दाबी गरेको थियो। विमान फेला परेको संकेत नमिलेपनि सो क्षेत्र वरपर खोजी अभियान तिब्र पारेको छ।
न्युज अपडेटः वेपत्ता विमानमा चोरीको पासपोर्ट लिएर उडेका थिए २ ईरानी
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी),२७ फागुन। मलेसियाबाट बेइजिङ उड्दै गर्दा वेपत्ता भएको विमानमा चोरीको पासपोर्ट प्रयोग गरेका ईरानी नागरिक १८ वर्षे पुरिया नुर मोहम्मद मेहर्दाद र अर्को २९ वर्षे दिलावर सेयेद मोहम्मदरेजा रहेको खुलासा भएको छ। मलेसियन प्रहरी अधिकारीका अनुसार उनीहरू कुनै आतंककारी गतिविधिमा संलग्न नभएर जर्मनी छिरेर उतै लुकीछिपी बस्ने आशामा थिए। यसैबीच, हराएको विमान खोजीको क्षेत्रलाई फराकिलो बनाएको छ। ४८ घण्टा बढी समय बितिसक्दा पनि हराएको विमानको कुनै संकेत फेला नपरेपछि विमान दुर्घटना अझ रहस्यमय बनेको छ।
न्युज अपडेटः विमान बेपत्ता हुनुमा कतै आतंककारीको हात त छैन?
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ (एजेन्सी),२६ फागुन। कयौं देशका खोजकर्ताहरूको निरन्तर खोजी अभियानपछि पनि मलेसियाबाट चीनको बेइजिङतर्फ उडेको बेपत्ता विमान फेला पर्न सकेको छैन।
विमानमा ४ जना संदिग्ध यात्रुले गलत पासपोर्ट प्रयोग गरेको पाइएपछि विमान वेपत्ता हुनुमा आतंककारीको हात त छैन भन्दै मलेसियन अधिकारीहरूले अनुसन्धान शुरू गर्नुका साथै इन्टरपोलसमेत आतंकविरोधी एजेन्सीहरूलाई सचेत गराइएको थियो। युरोपीय अधिकारीहरूका अनुसार विमानमा दुई व्यक्तिले चोरी भएको पासपोर्ट प्रयोग गरिरहेका थिए। इन्टरपोलले पनि प्रयोग भएको दुई पासपोर्ट चोरी भएको वा हराएको डाटाबेसमा उल्लेख भएको पुष्टि गरेको छ।
२ सय ३९ यात्रुसहित मलेसियाबाट चीनको बेइजिङतर्फ उडेको विमान बेपत्ता भएको ३६ घण्टा बढी समय बितिसक्दा पनि भेटिएको कुनै संकेत फेला परेको छैन। मलेसियन बोइंग ७७७-२०० फ्लाइट एमएच ३७० दक्षिण चीन सागरको आकाशबाट वेपत्ता भएको थियो।
विमान वेपत्तापछि भियतनामको सरकारी मिडियाले एक नौसेना अधिकारीको भनाइ उदृत गर्दै विमान भियतनामनियन्त्रित समुद्रमा दुर्घटनाग्रस्त भएको बताएको थियो। तर, विमान दुर्घटनाग्रष्त भेटिएको बताएपनि विमानका अवशेष वा विमान दुर्घटना भएको पुष्टि हुने कुनै संकेत फेला पर्न सकेन। हराएको विमानको खोजीकार्य जारी रहेको मलेसिया एयरलाइन्सले जनाएको छ।
क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको मलेसिया एयरलाइन्सको विमान स्थानीय समय अनुसार गत शनिवार विहान २ बजेर ४० मिनेटबाट सम्पर्क विहीन भएको थियो। १४ मुलुकका यात्रुहरुसहितको विमान उडान भरेको २ घण्टापछि सम्पर्कविहीन भएको थियो। स्थानीय समय अनुसार १२:४१ मा उडेको विमान विहान ६:३० बजे बेइजिङ पुग्नुपर्ने थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस