कृष्णमणि दाहाल / एचकेनेपाल डट कम-
पोखरा, २३ फागुन। अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक विलियम टाड पेफरले विश्वका हिमतालहरुमा व्यापक परिवर्तन देखिएको बताएका छन्। अमेरिका, अफ्रिका र अन्टार्टिकाका हिमतालहरुको अध्ययनबाट आफू यस्तो निष्कर्षमा पुगेको उनले बताए।

सन् २००६ देखि ११ सम्म हिमतालहरुको स्थलगत अध्ययन गरेका प्राध्यापक पेफरले कुनै–कुनै तालको आकार ६ किलोमिटरसम्म घटेको जानकारी दिए। आफूसहित हिमताल विज्ञ टोलीको स्थलगत अध्ययनमाथि बनेको वृत्तचित्र पोखरामा शुक्रबार प्रदर्शन गरेका उनले नेपालीहरु पनि यसबारे जानकार हुनुपर्ने आवश्यकता औंल्याए।

लेकसाइडको होटल बाराहीमा प्रदर्शित वृत्तचित्र विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थी र शिक्षक÷प्राध्यापकलगायत वातावरणसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले हेरेका थिए। अघिल्लो दिन वनविज्ञान अध्ययन संस्थानमा प्राध्यापक पेफरले हिमताल अध्ययनमा फोटो तथा भिडियोको महत्वमाथि आफ्नो प्रस्तुति दिएका थिए।

हिमतालहरुमा आएको परिवर्तनले विश्वभरकै बासिन्दालाई प्रभाव पार्ने हुँदा नेपालमा समेत यसबारे जनचेतना फैलाउन वृत्तचित्र प्रदर्शन गरिएको अमेरिकी दूतावासको जनसम्पर्क शाखाका ध्रुव शाहले जानकारी दिए। उनले हिमाली र सामुद्रिक क्षेत्रमा हिमताल बन्ने तथा भत्कने प्रक्रिया र तिनका आयामहरुबीच समानता रहेको बताए।

‘यो विश्वभरकै लागि चासो र चिन्ताको विषय हो,’ प्राध्यापक पेफरले भने, ‘हिमतालहरु साँघुरिने, सर्ने र फुट्ने जोखिमबाट कोही पनि अछुतो रहन सक्दैन।’ सामुद्रिक क्षेत्रका हिमतालमा परिवर्तन हुँदा बंगलादेशजस्ता तटीय भूमि डुब्दै जाने र हिमाली क्षेत्रका तालमा आएको बदलावबाट अरुलाई असर गर्ने उनको भनाइ थियो।

हिमतालहरुमै पुगेर ५ वर्षसम्म लगातार लिइएका फोटो तथा भिडियोबाट अध्ययन गरिएको जानकारी पेफरले दिए। अमेरिकाको अलास्कादेखि अफ्रिको किलिमन्जरो हुँदै अन्टार्टिकासम्मका हिमतालहरुको ३० वर्षदेखि अध्ययनमा आफूलाई समर्पित गरेका पेफरले प्राकृतिक र मानवीय कारणबाट परिवर्तनहरु आएको बताए।

नेपालको खुम्बु हिमतालमा क्यामेरा जडान गरी त्यहाँको वस्तुस्थिति अध्ययन गरिरहेको जानकारी उनले दिए। युनेस्को र नेपालकै विज्ञ टोलीको सहकार्यमा नेपाली हिमतालको थप अध्ययन अनुसन्धान गर्ने योजना पनि उनले सुनाए।

अमेरिकी दूतावासको जनसम्पर्क शाखाकी क्यारोलाइन राइटले यो वर्ष ३० देशमा हिमतालबारे जनचेतना अभियान चलाइने जानकारी दिइन्। उनका अनुसार अर्काे वर्ष पनि अभियान जारी रहनेछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस