सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ५ मार्च। प्रवासी नेपाली साहित्य समाज वेलायतले अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार १ सय ८८ रुपैया सहयोग हस्तान्तरण गरेको छ।

राजधानीको दरबारमार्गस्थित मधुशाला गजल रेष्टुरेन्टमा बुधबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष तथा नेपाल प्रतिनिधि तथा चलचित्र निर्देशक मिलन चाम्सको संयोजनमा चर्चित गायक राजेश पायल राई तथा चर्चित सफल गायक उदय सोताङको हातबाट खालिङका आमा डिकमाया खालिङ, उनका श्रीमति रविता राई खालिङ तथा खालिङ बचाउ अभियानका प्रतिनिधिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। सोही कार्यकर्ममा नै गायक राजेश पायल राईले २५ हजार रुपैंया खालिंगको परिवारलाई आफ्नो राजेशपायल राई फाउन्डेशनमार्फत प्रदान गरे। बेला बेलामा आफूलाई सामाजिक काममा समेत लगाउने उनले अबुधाबीको कन्सर्ट कै बेला गएको साता खालिंगको परिवारलाई रकम दिने बताएका थिए।

युएईमा मृत्युदण्ड सुनाईएका २३ बर्षीय खालिङ्को जीवन रक्षाको लागि आवश्यक पर्ने ‘ब्लड मनि’को निमित्त प्रवासमा सक्रिय साहित्य समाजले उक्त रकम प्रत्यक्ष र अनलाइन मार्फत दाताहरुबाट संकलन गरेको हो। अनिस खालिङका लागि ४११ दाताले सहयोग गरेको थिए। सङखुवासभाका युवा अनिस खालिङग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन्। दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङगाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौं आएका हुन्। २३ बर्षे अनिस खालिङ सि.एम.ए अध्ययन गर्दा गर्दै आमा र श्रीमति पाल्नको लागि यु.ए.ई दुबईमा बैदेशिक रोजगारको लागि गएका थिए।

मृतक बंगाल खानको रगतको मूल्य (ब्लड मनि) रु ८६०००००(छियासी लाख)तिर्न सकेमा अनिस खालिङलाई मृत्युदण्डबाट बचाउन सकिन्छ। अनिस खालिङ बचाऊ अभियान अन्तर्गत नेपाली रुपैया ८६०००००( छियासी लाख) ब्लड मनि संकलन कार्य सुरु गरिएको छ। समाजका अध्यक्ष जितेन्द्र चेम्जोङ र महासचिव आनन्द रानोहोछाका संयोजनमा रकम संकलन कार्यलाई अगाडि बढाएको थियो। समाजका अध्यक्ष जितेन्द्र चेम्जोङका अनुसार नेपाली साहित्यिक संस्थाले कल्याणकारी कामको लागि उठाएको यो रकम सम्भवतः आज सम्मकै ठूलो राशी हो। मानवीय महत्व राख्ने यस्तो सहयोगका कार्यमा भविष्यमा पनि निरन्तरता दिइने अध्यक्ष चेम्जोङले वताए। सन् २००१ मा स्थापित साहित्य समाजले प्रत्येक बर्ष एकजना उत्कृष्ट स्रष्टा र उत्कृष्ट समाजसेवीलाई सम्मान साथै अन्य कल्याणकारी कामहरु गर्दै आएको छ। समाजको सक्रियतामा संकलित रकमको विवरण र दाताहरुको नामावली आफ्नो वेवसाइट www.pravasi.com.np मा राखिने पनि जनाएको छ। दाताहरु वेलायत, जर्मनी, अमेरिका लगायतका रहेका छन्।

साहित्य समाजका पदाधिकारीहरुः
अध्यक्षः जितेन्द्र चेम्जोङ
उपाध्यक्षः मिलन चाम्स
महासचिवः आनन्द रानोहोछा
सचिवः किसन राई
कोषाध्यक्षः प्रकाश राई
सहकोषाध्यक्षः लिम्बु नयन
सदस्यः महेश वनेम
सदस्यः सन्देश नेम्वाङ
सदस्यः संजिव राई
सदस्यः मिलन लामा
सदस्यः नवराज राई (पूर्व महासचिव)
सदस्यः सुरेन्द्र इङनाम (पूर्व अध्यक्ष)
सदस्यः विश्वास दीप तिगेला (पूर्व अध्यक्ष)
इमेलः pravasisamaj@googlemail.com

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस