पाकिस्तानी हत्या आरोप खेपिरहेका अनिश खालिंग राई ६ महिनादेखि एक बर्षभित्र जेल मुक्त हुने: अध्यक्ष कृष्ण भुषाल
गैरआवासीय समन्वय परिषद युएईका अध्यक्ष तथा अनिश खालिंग बचाउ समिति युएईका संयोजक कृष्ण भुसालसंग अनिश खालिंगको मृत्युदण्डको बारेमा तथा एनआरएन युएईको गतिबिधिबारे सूर्य चन्दसंग गरेको बिशेष कुराकानीः
१. तपाई कहिलेदेखि युएईमा हुनुहुन्छ अनि यो भन्दा अगाडि अरु कुनै संघ संस्थामा बसेर काम गर्नु भएको छ कि?
– म १४ बर्षदेखि युएईमा कार्यरत छु र एनआरएनको अध्यक्ष हुनुभन्दा अगाडि म नेपाली समाज युएईको केन्द्रिय सदस्य थिए र एनआरएनमा पनि बिगत तीन सालदेखि आबद्द छु र यो भन्दा अगाडिको कार्यकालमा बरिष्ट उपाध्यक्ष भएर काम गरेको छु।
२. एनआरएन युएईको भूमिकाको बारेमा केहि प्रष्ट जानकारी दिनु हुन्छ कि ?
– एनआरएन युएई भनेको एउटा नेपालीहरुको छाता संगठन हो हाम्रो प्रयत्न भनेको सबै प्रबासी नेपालीहरुलाई आबद्द गराई हामी नेपालीहरु बीच परेको साझा समस्यालाई सुल्झाउदै देश निर्माणमा सहयोग गर्ने हो जस्तै हामीले मुलपानी इन्डोर क्रिकेट ग्राउण्ड निर्माणको लागि तथा समग्र क्रिकेट खेलको विकासको लागि क्रिकेट खेलाडीको ड्रेसलाई विभिन्न ठाउँमा बिक्री वितरण गरि रकम संकलन गर्ने अन्य दाता तथा एन आर एन का सदस्यहरुबाट रकम संकलन गरेर सहयोग गर्ने कार्य गरेको छौं र हामीले भर्खरै मात्र मुलपानी इन्डोर क्रिकेट ग्राउण्ड निर्माण सयोगार्थ सांगीतिक मेला आयोजना गर्यौ जुन भब्य रुपले नि सफल भयो र साथै बिशेष गरि अहिले आएर अनिश खालिंग बचाऊ अभियानलाई सफल पार्न गैरआवासीय समन्वय परिषद युएईको पहलबाट अनिश खालिंग बचाऊ समिति गठन गरि रकम संकलन गर्ने कार्य गर्यौ जसमा अहिलेसम्म युएईबाट ७०,२५७ युएई दिराम जम्मा भएको र अहिलेको स्थितिमा देशविदेशबाट अनिशको जीबन रक्षाको लागि पुग्दो तथा बढी रकम (लगभग एक करोड भन्दा बढी) पनि जम्मा भएको परिस्थितिमा बढी भएको रकम के गर्ने भन्ने प्रश्न पनि छ? भोलिको दिनमा पनि हामी नेपालीहरु बीच यस्तै समस्याहरु आउन सक्छन त्यसको लागि हामीले दिर्घकालिन सोच बनाई फेरी पछि आउने अरु समस्यालाई मध्यनजर गर्दै एउटा परोपकारी समिति बनाउने र यो पुरानो समितिलाई नाम परिबर्तन गरि निरन्तरता दिने भन्ने पनि कुरा आईरहेको छ यो समितिलाई क्रियाशील गराई भोलिको दिनमा पनि हामी यो अभियानलाई प्रयोग गर्दै अरु परोपकारी सेवामा लाग्ने हाम्रो पहल हो।
३. अनिस खालिंग बचाउ अभियानमा युएईको संयोजकको हैसियतले तथा एन आर एन युएईको सक्रियता कस्तो छ?
-हामीले अनिश भाई बचाउनको लागि विभिन्न खालको अपिलहरु प्रकाशित गरि रकम संकलन गर्ने उठेको रकमहरु जनता सामु पारदर्शीता होस् अनि उठेको रकमहरु पीडित पक्षको हितमा काम गरोस् र अन्य कुनै व्यक्तिको हातमा गलत प्रयोजनको लागि नजाओस भनेर हामीले एघार जनाको सचिबालय बनाएको छौं। त्योभित्र पनि र्को लेखा समिति बनाई यसलाई झन् बढी पारदर्शीता दिने काम गरेको छौ र एक दुइ वटा व्यक्तिले व्यक्तिगत तबरबाट पैसा उठाएको पायौं र यसलाई तत्कालै रोक्ने प्रयास पनि गर्यौ अनि निरन्तर हामी क्रियासिल भइ अनिश खालिंगको मुद्दालाई बुझ्ने काम पनि गरिरहेका छौ र छिटो भन्दा छिटो रिहा गर्ने पहलमा छौं।
४. अनिस राईको मुद्दा अहिले कसरी अगाडि बढी रहेको छ अनिस बचाउ अभियान बिश्वभर चलि रहको छ यहाँबाट, नेपाल सरकार, उनका परिवार साथै अन्य देशका एनआरएनलगाएत अन्य नेपालीहरुसँगको समन्वय कसरी अगाडि बढाई राख्नु भएको छ?
– सर्ब प्रथम त हामीले नेपाली दूताबासमा निरन्तर छलफल र सरसल्लाह गरि हामी हाम्रो कार्यमा अघि बढिरहेको अवस्था हो। जब अनिश खालिंगलाई ब्लड मनि तिरेर निस्कन पाउने फैसला भयो त्यसपछि त्यो फैसलाको एक प्रति हामीले दूताबासबाट पाएको छौ अनि हामी दूताबास सरसल्लाह गरि हामीले विभिन्न संघ सस्थाहरु जुन बिश्वब्यापी रुपमा अनिश बचाऊ अभियान संचालन गरि रहनु भएको छ बिशेष गरि त्यसमा दुइ थरिका अभियानहरु देखिएका छन् एउटा एनआरएनको प्रत्यक्ष संलग्नता अर्को किरात राईहरुको संघ सस्थाबाट यो कार्य भइ रहेको छ र रकम जम्मा गर्दा नि उहाँहरुको व्यक्तिगत खातामा जम्मा गर्ने कि एनआरएनको आपतकालीन कोषमा जम्मा गर्ने भनेर नि यत्र तत्र विवादहरु देखिएको अवस्था हो। तर त्यसमा हामी के कुरा प्रष्ट छौ भने गैरआवासीय समन्वय परिषदले एनआरएनको आपतकालीन कोषमा रकम जम्मा गर्न आव्हान गरेको छौ र हामीले आइसीसीको उद्दार कोषमा तथा पहिले डोल्मा शेर्पालाई उद्दार गर्दा प्रयोग गरेको खातालाई नै अहिले पनि प्रयोग गरेको हो यसका लागि हाम्रो सचिबालयले पारदर्शीता रुपमा खाताको विवरण प्रस्तुत गरेको छ र गर्ने छ। हाम्रो उद्देश्य भनेको अनिश राईलाई ब्लड मनि तिरेर जति सक्दो चाडो उद्दार गर्नु हो तर त्यो भन्दा बढी भएको रकमलाई त्यस्तै अनिश जस्तै पीडित व्यक्तिलाई सहयोग गर्ने हो जसको लागि हाम्रो सचिबालयले निर्णय गर्नेछ र हामी यसमा अगाडि बढ्नेछौं।
५. अनिश राईर्लाइ बचाउन सँकलन गरि रहेको ब्लड मनीले मात्र अनिसलाई बचाउन सकिने आधारहरु के के हुन्?
-हामीले केही सहयोगहरु दूताबासबाट नि पाइरहेको छौ तर यहाँको कानुन अन्तर्गत यसरी आर्थिक संकलन गर्न नाजायज भएको हुंदा यो अभियानलाई पनि हामीले सतर्कतापूर्बक गरि रहेको हौं र हामीले कानुनको परिधिभित्र रहेर काम गर्नु पर्ने बाध्यता छ हामीले सोझैँ अनिशलाई भेट्न पनि नपाउने अवस्था छ अर्को कुरा अनिशलाई बचाउने आधारहरु भनेको यहाँको अदालतको फैसलाको आधारमा हामीले तीन लाख दिराम जम्मा गरि दिएको अवस्थामा उहाँलाई मृत्युदण्डबाट बचाउन सकिने छ। तथापि यहाँको कानुन अनुसार उहाँ जुन दिनदेखि जेल पर्नु भएको छ त्यो दिनदेखि पाच वर्षसम्म चाहि जेल बसेर सजाय भोग्नु नै पर्ने रहेछ। तर पाँच वर्षलाई यसरी गनिदो रहेछ जस्तै दिनको एक दिन अनि रातको एक दिन साथै सार्बजनिक बिदाहरु कटाउदा मोट मोटी उहाँ ढाईदेखि तीन बर्षको अबधिमा जेलबाट मुक्त हुन सक्नु हुन्छ। उहाँले अहिले लगभग दुइ बर्ष जति जेलमा बिताई सकेको अवस्थामा अब ६ महिनादेखि एक बर्षभित्रमा जेलबाट रिहा गर्ने अवस्था छ र हामी त्यसको पहलमा लागि रहेको छौं। साथै अनिश खालिंगलाई बचाउन हामीसंग मुद्दाको फैसलाको मिसिल प्रति छ र हामीले ब्लड मनि तिरेको खण्डमा उहाँ रिहा हुन सक्नु हुन्छ जसको लागि अहिले हामीसंग प्रयाप्त रकम पनि संकलन भएको छ।
६. यसमा नेपाल सरकारको सहभागिता हुनु पर्ने हैन र रकम सँकलन भए पनि नेपाल सरकारको असहयोगका कारण कतै अमरबहादुर बम जस्तै यो अनिस बचाउ अभियान पनि त्यति कै सेलाउने त हैन? बिश्वभरबाट सँकलन भै रहेको रकमको बारेमा के भन्न चाहनु हुन्छ?
-अमरको बारेमा धेरै कुरा अनि टिका टिपणीहरु सुन्नमा आउछ। तर हामी के कुरामा प्रष्ट हुनु पर्छ भने अमरबहादुर बमको जुन अदालती फैसला छ उसलाई जति सुकै ब्लड मनि तिरेर पनि निकाल्न सकिने अवस्था छैन जहाँसम्म मलाई लाग्छ त्यति बेलाको अभियान कर्ताहरुले नि उहाँको पारिवारिक सहयोग तथा वकिल खर्च भनेर रकम उठाए जस्तो लाग्छ। म त्यो कार्यमा समिल नभएको हुदा खासै मलाई आधिकारिक जानकारी पनि छैन तर अनिश राईको बारेमा भन्दा खेरि विश्वको बारेमा त म भन्न सक्दिन तर युएईको सन्दर्भमा यदि कसैले आफूले सहयोग गरेको रकमको बारेमा पारदर्शीता तथा जानकारी लिन चाहेमा हाम्रो लेखा समिति मार्फत जुन सुकै बेलामा नि जानकारी लिन सक्नु हुनेछ।
७. देशको एउटा नागरिक विदेशमा गएर मृत्युदण्ड पाएको अवस्था छ यो बेलामा नेपाल सरकारले प्रत्यक्ष सहभागिता अनि सहयोग गर्नु पर्ने होइन र?
– हो यो बिषयमा नेपाल सरकारको प्रत्यक्ष सहयोग र सहभागिता हुनु पर्ने तर हाम्रो दुर्भाग्य नै भन्नु पर्छ नेपाल सरकारबाट खासै त्यस्तो सहयोग पाए जस्तो लाग्दैन। हामीले विदेश आउदा तिरेको करहरुबाट नि सहयोग गर्न सकिन्थ्यो यो कुरालाई हामीले दूताबासबाट पहल गरि दिन पनि कुरा राख्यौ तर दूताबासबाट यो कुरामा कुनै पनि चासो नदेखाएको पाइयो र हामीले हाम्रो नेपालीलाई बचाउन लागि हामी सामाजिक संघ सस्थाहरुको अगुवाईमा पहल गर्यौ र गर्नु परेको छ जुन कुरा नेपाल सरकारबाट हुनु पर्थ्यो। तर विश्वमा अरु देशको नागरिकमा यस्तो घटना घट्छ त्यस बेला त्यो मुलुकको सरकारले आफ्नो निगरानीमा राखी प्रत्यक्ष संलग्न हुन्छ तर नेपाल सरकारबाट त्यस्तो कुनै पनि कार्य भएको छैन र यस्तो गम्भीर बिषयमा ध्यान पुराएको छैन।
८. अहिले आएर अनिश खालिंगलाई बचाउन सक्ने तथा बढी रकम पनि जम्माभइ सकेको अवस्था छ तर अझै देश विदेशबाट रकम संकलन कार्य भएरहेको छ यो बढी रकमलाई कसरी उपयोग गर्नु हुनेछ?
– हामीले यो सम्बन्धमा के प्रष्ट हुनु पर्छ भने देशविदेशमा भएका नेपालीहरुले आफ्नो गास काटेर रकम सहयोग गरेको अबस्थामा हामीले अनिशलाई बचाउने हो। तर, बाँकी रकम उसलाई पुरस्कार दिने होइन पारिवारिक खर्चमा लगाउने होइन फेरि अर्को अरु कसैलाई अनिश खालिंगलाई परे जस्तै समस्या पर्न सक्छ त्यो बेला अनिशलाई जस्तै हामीले सहयोग गर्नु पर्छ भन्ने कुरा बुझ्न जरुरत छ। यो बेला हामीले अनिशलाई बचाउन नै ठूलो कुरा हो र यो संकलित रकमलाई पारदर्शीता दिने र दुरुपयोग हुन नदिने मेरो पक्ष हो। त्यस्तै अर्को मुद्दा पनि हाम्रो सामु आई सकेको अवस्था छ थम बहादुर कुँवर उसलाई पनि हामीले सहयोग गर्नु पर्ने अवस्था आउनेछ र यस्तै अरु अरु कुरामा नि हामीले सोच्नु पर्ने भएको छ। जसका कारण म सम्पूर्ण साथीहरुलाई के भन्न चाहन्छु भने भोलिको दिनमा भैपरि आउने अवस्थालाई पनि हेरुं र त्यसैको लागि सोचेर मिलेर अगाडि बढौं र विवादमा नफसौं। अनिश खालिंग बचाउने हाम्रो अभियान हो यसमा हामी अब सफलताको नजिकसम्म पुगेको छौ यो कुराहरुमा तपाईहरु ढुक्क हुनु होस्। (तपाइँ एचकेनेपाल डट कममा प्रकाशित अन्तर्वार्ता पढ्दै हुनुहुन्छ।)
९. तपाईहरुले प्रवाशी नेपालीहरुलाई कसरि एकबद्ध बनाएर अगाडि बढ्ने सोचमा हुनु हुन्छ?
-कतिपय मनिसहरुलाई एनआरएन भनेको कस्तो संस्था हो भनेर पनि जानकारी नभएको अवस्था पनि छ। युएईमा एनआरएनको स्थापना २००५ देखि भएको हो त्यो भन्दा पहिले एनआरएन भनेको यूरोप अमेरिका बस्नेहरुको लागि दोहोरो नागरिकताको लागि खडा गरिएको सस्था भनेर बुझिएको थियो। तर यथार्थमा के हो भने नेपाल सरकारले परिभाषित गरेको बिधान अनुसार सार्क राष्ट्र बाहेक जो कोही नेपाली तीन बर्ष या त्यो भन्दा बढी विदेशमा बस्ने नेपालीहरु पनि गैरआवासीय नेपालीहरु हुन् भनेर बिधानमा उल्लेखित छ र यो संस्था भनेको विदेशमा बस्ने नेपालीहरुको साझा चौतारी हो। यो कुनै जात व्यक्ति बिशेष तथा कुनै राजनीतिक सस्थासंग जोडिएको संस्था होइन। यो सस्था भनेको विदेशमा बस्ने नेपालीहरु साझा संस्था हो हामी यो संस्थामा एकबद्ध भइ हामीहरु बीच भएको साझा समस्याहरुलाई पहिचान गरि भाइचाराको भाबना राखी संगठित हुदै एक आपसमा हातेमालो गर्दै नेपालीहरुको समस्यालाई सुल्झाउदै सबै क्षेत्र तथा अन्य संघ सस्थासंग हातेमालो गर्दै हाम्रो अगाडि बढ्ने सोच हो। यसको लागि हामीले क्षेत्रिय कमिटिमार्फत सबैलाई जानकारी गराउने र त्यस्तै आहिले हामीले गैरआवासीय नेपालीहरुलाई सदस्य कार्ड (परिचय पत्र) पनि वितरण गरेको अवस्था छ र आगामी दिनमा बृहत चेतनामूलक कार्यक्रम गर्दै जनचेतना फैलाउने हाम्रो लक्ष्य हो।
१०. अन्तमा देशविदेशमा छरिएर बस्नु भएको नेपालीहरुलाई के भन्न चाहनु हुन्छ?
आहिले हामी नेपालीहरु विदेश जाने संख्या दिन प्रतिदिन बढ्दो छ र हामीले विदेशमा भोग्नु पर्ने समस्याहरु नि बढ्दै जाने क्रम छ। यसका लागि म सबैलाई के अनुरोध गर्न चाहन्छु भने हामी कुन देशमा कस्तो काम जाने हो र त्यहाँको नियम कानुनबारेमा बुझ्न जरुरत छ र आफूलाई अनुभब भएको रोजगारीमा विदेश जाँदा खेरि राम्रो हुन्छ सम्मानजनक हिसाबले काम गर्ने बाताबरण मिल्ने छ साथै विदेशमा भएका सम्पूर्ण सामाजिक संस्थाहरुले समन्वय गर्दै एक ढिक्का भएर नेपालीहरुलाई परेको समस्यालाई सुल्झाउदै जाने हो भने पक्कै पनि हामीले परिणाममूलक कामहरु गर्न सक्छौं र देश विकासमा अगाडि बढ्न सक्छौं तथा सम्पूर्ण सहयोगी भावना राख्ने नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेबी पत्रकार साथीहरुलाई धन्यवाद दिन चाहन्छु।