हिमाल क्षेत्री / एचकेनेपाल डट कम-
बेलायत । ह्याम्सायर क्षेत्रमा रहेका नेपालीहरुलाई विभिन्न तवरबाट सहयोग पुर्याउंदै आएका समाजसेवी कमल पुर्जा बेलायतमा सम्मानित भएका छन्।

कमल पुर्जा

ह्याम्सायर काउण्टी काउन्सीलले रश्मुर क्षेत्रमा रहेका गोर्खाली एवं नेपाली बृद्धबृद्धाको सहयोगमा समर्पित भएबापत उनलाई ‘हाई शेरिफ कम्युनीटि अवार्ड’बाट सम्मानित गरेको हो।

रश्मुर क्षेत्रमा सामाजिक काम गर्दै आएका पुर्जा समुदायमा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत सम्मानित भएका हुन्। नेपाली मद्दत समूहको को-फाउण्डर एवं को-चेयर पूर्जा रश्मुर भोलिन्टिर सर्भिस मार्फत ‘हाई शेरीफ अवार्ड’मा छानिएका थिए।

ह्याम्सायर बरोभित्र रहि सामाजिक कार्यमा संलग्न करीब दुई दर्जन समाजसेवीहरुलाई टेलिभिजन प्रस्तोता टम ब्राड्बीले हाई शेरीफ अवार्ड वितरण गरेका थिए। कार्यक्रममा ह्याम्सायर कउण्टी काउन्सिलका प्रमुख केन थोन्बरले स्वागत मन्तव्य दिंदै ह्याम्सायरको नाम उच्च बनाउन समाजसेवीहरुको भूमिका महत्वपूर्ण रहेको बताए।

काउण्टी काउन्सीलले प्रदान गर्दै आइरहेको हाई शेरीफ अवार्डबारे रुपेट योङ्गरले जानकारी दिएभने ह्याम्सायर लाईफकी सम्पादक एलिजावेथ बार्नेटले समाज सेवामा उल्लेख्य योगदान दिएका सम्मानित व्यक्तित्वहरुबारे चर्चा गरेकी थिइन्।

सन् २००८ मा नेपाली मद्दत समूहको स्थापना गरेदेखि उनी सामाजिक काममा निकै अग्रसर छन्। रश्मुर बरो तथा इष्ट्लीमा रहेका नेपालीहरुको हरेक समस्यामा उनले सहयोग गर्दै आइरहेका छन्। ब्रिटिश गोर्खा आर्मीमा सेवारत रहंदा अस्वस्थताका कारण उनले आर्मी सेवाबाट अवकास पाएका थिए र त्यसयता उनले सामाजिक काममा आफ्नो समय खर्चदैं आएका छन्। स्थानीय क्षेत्रमा रहेका नेपालीहरुलाई पर्न जाने भाषाको समस्या र वेलफेयरमा उनले महवपूर्ण सहयोग गर्दै आएका छन्।

कमल पुर्जा

अवार्डबाट स्म्मानित भएपछि प्रतिक्रिया दिंदै उनले ह्याम्सायरको सबैभन्दा पुरानो अवार्डबाट सम्मानित हुन पाउंदा आफूलाई खुशी लागेको बताए। अवार्ड तथा सम्मान पाउनकै लागि आफू समाज सेवामा नलागेको स्पष्ट पार्दै उनले काउन्सिलको आफ्नो कामप्रति देखाएको सदासयता प्रंशनीय रहेको बताए। ह्याम्सायरका विभिन्न क्षेत्रमा रहेका विभिन्न समुदायका मानिसहरुलाई मानवताको नातले आफ्नो सहयोग हुने उनको भनाई थियो। नेपाली मद्दत समूहले गोर्खाली बृद्धबृद्धाहरुको सहयोगमा पुर्याएको योगदान स्वरुप आफू नोमिनेसनमा परेको उनले बताए। समाज सेवा लिनको लागि नभई दिनको लागि भएकोले यसमा एकमनले लाग्न समाजसेवीहरुलाई उनले आग्रह गरे।

काउण्टी काउन्सीलले गरेको सम्मान कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्रीले ह्याम्सायरका पिरचित नेपाली समाजसेवी कमल पुर्जा सम्मानित भएकोमा खुशी व्यक्त गर्दै बधाई दिए। उनले नेपालीहरुमा समाजसेवाको भावना रहेको बताउंदै सबै समाजसेवी नेपालीहरुलाई उनीहरुको कामको मुल्यांकन गर्ने स्थानसम्म पुर्याउन एनआरएनले पहल गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका युवा नेता एकराज नेम्वाङले समाजसेवी कमल पुर्जा हाई शेरिफ अवार्डबाट सम्मानित हुनु नेपालीहरुकै लागि गौरब भएको बताउंदै समाजसेवाको सहि सम्मान र नेपालीहरुको प्रतिनिधित्वले आफूलाई खुशी लागेको उल्लेख गरे।

ह्याम्सायर हाई शेरीफ अवार्डबाट सम्मानित पुर्जा इष्ट्ली गोर्खा नेपालीज एशोसियसनको ट्रष्टिज पनि हुन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस