सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १३ चैत। धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ महिलाको गलाको थाइरोइड क्यान्सरको शल्यक्रिया गरेर आइतबार ‘नाक, कान, घांटी शल्यक्रियाको अद्यावधि र प्रत्यक्ष शल्यक्रिया कार्यशाला’ मा प्रत्यक्ष प्रसारण गरिएको छ।
नाक कान घाटीको क्यान्सर सम्बन्धी चिकित्सकहरुलाई ती रोग र समस्याको निदान गर्ने नयाँ पद्धति र उपायबारे जानकारी दिदै कार्यशालामा प्रत्यक्ष प्रसारण गरिएको हो।
नाक कान घांटी विभागमा गलाको उपाचार गर्न आएका झापाका शनिश्चरे बस्ने ३८ वर्षीया सरस्वती गिरि र धरान-१६ बस्ने ६१ वर्षीया बद्रीमाया राईको गलाको क्यान्सरको शल्यक्रिया गरिएको थियो। गिरिको हेमिटो थाइरोइड क्यान्सर र राईको टोटल थाइरोइडेक्टोमी वीथ नेक डिसेक्सन क्यान्सरको शल्यक्रिया गरिएको डा. श्याम थापाले बताए।
शल्यक्रियामा मुम्बईको टाटा क्यान्सर अस्पतालका डा. प्रथमेस पाई, डा. नटेस, प्रतिष्ठानका डा श्याम थापा, डा. दीपक र डा. आसिस, डा देव लगायतको संग्लनता रहेको थियो।
प्रतिष्ठानको इएनटी विभागको आयोजनामा सुरु भएको तीनदिने नाक कान घाटी (इएनटी) को क्यान्सर सम्बन्धी तीनदिने ‘नाक कान घांटी शल्यक्रियाको अद्यावधि र प्रत्यक्ष शल्यक्रिया कार्यशाला’ को अवसरमा अप्रेसन थिएटरमा गरिएको उनीहरुको सफल शल्यक्रियालाई प्रतिष्ठानको अडिटोरियम हलमा बसेका अन्य चिकित्सक, नर्सहरुलाई प्रत्यक्ष प्रसारण गरेर देखाइएको थियो।
प्रतिष्ठान अन्य रोगको उपचारसंगै सुपर स्पेशियालिटी सेवा विस्तार गर्ने उद्धेश्यले नाक कान घांटीको क्यान्सर सम्बन्धी कार्यशाला आयोजना गरिएको संयोजक तथा विभागीय प्रमुख प्रा डा संगिता भण्डारीले बताइन्। उनले नाक कान घाटीका क्यान्सर रोगीहरुको संख्या दिनदिनै बढेको छ तर उपचार गर्ने जनशक्ति कम भएकाले थप जनशक्ति उत्पादन गर्न कार्यशाला गरिएको बताइन्। उनले प्रतिष्ठानमा उपचार गर्न आएका नाक कान घाटीका विरामी मध्ये २३ प्रतिशतमा क्यान्सर पाइएको वताउदै उउनले त्यसमध्ये थाइरोइड क्यान्सर २३ प्रतिशतमा देखिएको जानकारी दिइन। तर थाइरोइड क्यान्सरको समयमै उपचार गर्न सक्दा शतप्रतिशत निको पार्न सकिने भएपनि जानकारी नभएकाले अन्तिम अवस्थामा विरामी आउने गरेका उनको भनाई छ। उनका अनुसार गुड्का, सर्तीजन्य बस्तु, पान, अल्कोहल र आणविक विकिरणको कारण मुख, गला र ध्वनियनन्त्रमा क्यान्सर हुने गरेको पाइएको उनले बताइन्।
कार्यशलामा भारत र नेपालका सय विशेषज्ञ चिकित्सकको सहभागिता रहेको छ । नाक कान घांटीको क्यान्सरको कार्यशालामा भारतबाट टाटा मेमोरियल क्यान्सर अस्पताल मुम्बइ र नर्थ बङ्गाल अङ्कोलोजी सेन्टर सिलिगुरी, भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्प्ताल, चिकित्सा शास्त्र अध्ययन संस्थान र विभिन्न मेडिकल कलेजबाट चिकित्सकहरु सहभागी छन्।
कार्यशालाको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले गरेका थिए । उनले उद्घाटन गर्दै प्रतिष्ठानलाई नाक कान घांटी, मुटु, आंखा, नशा, मानसिक रोग लगायतको सुपर स्पेशियालीटी सेवा विस्तार गर्ने तयारी भएको बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस