लालबहादुर ढेंगा / एचकेनेपाल डट कम-
दुबई, युएई। युएईस्थित कार्यरत नेपालीहरु सधै सांस्कृतिक कार्यक्रम या संघ संस्थाद्धारा आयोजना गरिने कार्यक्रमहरुमा व्यस्त रहन्थे भने गएको २८ फेब्रुवरी शुक्रबारका दिन दुबईबाट ९६ किलोमिटर टाढा पहाडै पहाडले भरिएको अति नै रमणीय तथा शान्त ठांउ डिब्बामा विभिन्न नेपाली परिकारका स्वादसंगै विविध लोक भाका र नृत्यको प्रस्तुतिका साथ बनभोज कार्यक्रम सम्पन्न गरेको छ। सो बनभोज कार्यक्रम गुल्मी सेवा समाज युएईद्धारा आयोजना गरिएको हो।
गुल्मी सेवा समाज युएईका उपाध्यक्ष कृष्णप्रसाद गौतमको संयोजकत्वमा भएको बनभोज कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता सोही गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नु भएको थियो। अन्य अतिथिमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु रहेका थिए। वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको मरुभूमिमा रहेता पनि आफ्नै देशको नेपाली विभिन्न परिकारका स्वादसंगै नेपाली सांगीतिक माहौलमा रम्न पाउदा सबैजनाको चेहरामा खुशी झल्केको देख्न सकिन्थ्यो । दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्त रहने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले त्यस दिन भने अलगै रमाइलो अनुभूति गरेका छन् । यस्ता खालका कार्यक्रमले केवल भेटघाट र मनोरञ्जन मात्र होइन, एक आपसमा भाईचाराको सम्बन्ध पनि कायम भएको हुन्छ।
कोही मादल र खैजाडुको तालमा नाच्दै थिए त कोही गाउनमा व्यस्त थिए। त्यसै पनि म्युजिक लगाएर संगीतको आनन्द लिनेहरुको कमि थिएन। कतै फेरी दोहोरी खेल्नेहरुको जमघट देखिन्थ्यो। सायद कसैलाई त खान पिउनभन्दा नाच्न र गाउनमा नै रमाईलो लागेको आभास हुन्थ्यो। कुल मिलाएर हेर्ने हो भने मरुभूमिको पहाडमा नेपाली संगीत गुन्जिएको सुनिन्थ्यो।
नेपालमा जस्तै पहाडले घेरिएको ठांउ त्यसमाथि ताजा खसीको मासु, सेलरोटी, आलुको अचार, सलाड र पोलेको मासुले सुनमा सुगन्ध थपेको थियो। टाढा र दुर्गम ठांउ भएता पनि बस लगायत हरेक सरसमानको निकै व्यापस्थापन गरेका थिए। यसका लागि आयोजक र व्यावस्थापन टिमलाई धन्यबाद दिनै पर्दछ।