विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया, १५ फाल्गुन। फ्रान्समा बसोबास गर्दै आएका नेपाली मूलका प्रशान्त उप्रेतीले नेपालमा रक्तदाताहरुलाई उत्प्रेरणा र हौसला पुगोस् भन्ने हेतुले रु. १ लाख सहयोग गरेका छन्।
फ्रान्सबाट काठमान्डू भर्खरै मात्र आई पुगेका उप्रेतीले फ्रान्समा रहंदा नेपालमा बिरामीहरुले समयमा रगत नपाएर जीवन गुमाएको थाहा पाउदा धेरै दुख लागेको बताउदै आफू आएको २ दिनमा नै उक्त रकम हस्तान्तरण गरेको बताए।
नेपालमा व्यापक रुपमा रक्तदान बारे उत्प्रेरणा गर्नुपर्छ भन्ने सोच रहेकोले इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स (अन्तर्राष्ट्रिय नेपाली रक्तदाता )का उप-समितिका सदस्य खेटराज मैनालीलाई उक्त रकम हस्तान्तरण गरेका छन्। सोही अबसरमा आम युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान गर्न आब्वान गर्दै आफूहरु विश्वब्यापी रुपमा रक्तदान कार्यक्रममा सघाउ पुर्याउन इच्छुक भएको कुरा व्यक्त गरे।
विश्वको कुनै पनि भागमा नियमित रक्तदान गर्न, गराउन, सहयोग तथा उत्प्रेरणा गर्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाताहरुको संस्थामा उप्रेती कार्यकारिणी सदस्य पनि हुन्। नेपालमा रहंदा उनी लायन्स क्लबस अन्तर्राष्ट्रिय जिल्ला ३२५ ए मा संलग्न थिए भने करीब ६ बर्ष अगाडि फ्रान्समा गएपछि पनि त्यहाँका नेपाली संघ संस्थाहरुमा आबद्ध भै बिभिन्न सेवा कार्यमा संलग्न रहेका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस