एचकेनेपाल डट कम संवाददाता –
प्रवासी नेपाली मञ्च यूकेको नेपाली नागरिकता निरन्तरता अभियान सम्बन्धि कार्यदलको पहिलो बिस्तारित बैठक यहि २३ फेव्रुवरीमा रेडिङस्थित नर्थवेष्ट कलेजमा सम्पन्न भयो।

कार्यदलका संयोजक भक्त गुरुङको संयोजन तथा अध्यक्षतामा सम्पन्न भएको बैठकलाई कार्यदलका सदस्य–सचिव तथा प्रवासी नेपाली मञ्चका महासचिव तुङ्गभद्र भुषालले सञ्चालन गर्नुभएको थियो। बैठकमा प्रवासमा बस्ने नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी समस्याको बारेमा छलफलका लागि कार्यदलका सदस्यहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो।

बैठकमा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिंखडाले “नेपाली नागरिकताको निरन्तरता सम्बन्धी अभियानको विगत, वर्तमान र भविष्य” सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले नेपाली नागरिकता बचाउ अभियानबारे विगत संविधानसभामा भएको प्रगतिको बारेमा बिस्तृत जानकारी गराउदै प्रवासमा बसेका नेपालीहरुको प्रमुख सरोकारको विषय नेपाली नागरिकताको निरन्तरताको मागलाई नेपालका विभिन्न राजनीतिक दलहरुले कसरी ग्रहण गरेका छन् र विगत निर्वाचनहरुमा ति दलहरुका घोषणापत्रहरुमा कसरी समाविष्ट गरेका छन् भन्ने कुरा सविस्तार उल्लेख गनुभयो । वहाँले नेपालको नागरिकता ऐन, गैर–आवासीय नेपाली सम्बन्धि विधेयक तथा नियमहरु, गैर–आवासीय नेपाली परिचयपत्र आदिको बारेमा संस्थाको धारणा प्रस्तुत गर्नुभएको थियो।

बैठकमा कार्यदलका सदस्य डा. अच्यूत गौतमले “विश्व–भूमण्डलीकरणको यूगमा नागरिकताको सैद्धान्तिक अवधारणा र नेपाली नागरिकताको निरन्तरताको महत्व” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। वहाँले विश्वग्रामको युगमा एक देशको नगारिक अर्को देशमा बसाई सर्ने क्रम तिब्र बन्दै गएको बस्तुगत अवस्थामा नेपालले पनि यस कुरालाई आत्मसात गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । बैठकमा कार्यदलका सदस्य डा. कृष्ण रेग्मीले “दोहोरो नागरिकताको विश्वव्यापी प्रयोग र नेपाली नागरिकताको निरन्तरताको प्रसंग” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले २१औं शताव्दीको अत्याधुनिक भूमण्डलीकृत विश्वमा दोहोरो नागरिकता विश्वभर प्रभावकारी रुपमा प्रयोग भईरहेको तथ्यांक पेश गर्दै नेपालले पनि यसलाई स्वीकार गर्नैपर्ने अन्तर्राष्ट्रिय परिस्थिती बनेको तथ्य पेश गर्नुभएको थियो । वहाँले साउथ एशियामा पाकिस्तानले अंगिकार गरेको दोहोरो नागरिकताको मोडेललाई नेपालले पनि अवलम्बन गर्दा प्रवासी नेपालीहरुको मागलाई संवोधन हुनसक्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यपत्रमा अन्य सदस्यहरु दिनेश घिमिरे, कृष्णप्रसाद भट्टराई र डा. रामकुमार अधिकारीले सहयोग गर्नुभएको थियो । कार्यदलका अर्का सदस्य ई. राजेश पाठकले “नेपालमा लगानी र विकासमा प्रवासी नेपालीको नागरिकता निरन्तरता सम्बन्धि प्रसंग” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले गैरआवासीय नेपालीहरुलाई संगठित गरी नेपालको विकास निर्माणमा सरिक गराउन सके उनिहरुबाट लगानीको प्रचूर सम्भावना रहेको तथ्य प्रस्तुत गर्नुभयो । वहाँले जापान, कोरिया, चीन आदि देशहरुको विकासमा प्रवासी नागरिकहरुको महत्वपूर्ण योगदान रहेको तथ्य पेश गर्दै नेपालले पनि ति देशहरुले जस्तै विविध अवसर र लाभहरु दिदै प्रवासी नेपालीहरुलाई राष्ट्र निर्माणको मूलप्रवाहमा लैजान सुझाव प्रस्तुत गर्नुभयो । वहाँलाई सो कार्यपत्र तयार पार्न ई. नारद भण्डारी, ई. लेखनाथ खरेल, आङकलजंग लामा र जीव बेलवासेले सहयोग गर्नुभएको थियो।

बैठकमा कार्यदलका अर्का सदस्य डा. विष्णुप्रसाद घिमिरेले “गैर–आवासीय नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको माग र आवासीय नेपालीको दृष्टिकोण” सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले आवासीय नेपालीहरुको दृष्टिमा प्रवासी नेपालीहरुलाई हेर्ने दृष्टिकोण फराकिलो भईनसकेको प्रसंगहरु प्रस्तुत गर्नुभयो । वहाँले विदेशमा बस्ने नेपालीले नेपालको विकास निर्माणमा संलग्न नरहेको, देशमा कर तिर्ने दायित्वबाट उम्केको, दुवै हातमा लडडु लिने प्रयासमा रहेको, देशबाट युवाशक्ति पलायन भएको, देशलाई संकट पर्दा सहयोग गर्न नसकेको जस्ता दृष्टिकोणहरु जव्वर रुपमा गाँजिएर बसेको कुरा प्रस्तुत गर्नुभयो । तथापी देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिटयान्सबाट धानिएको, गाउँघरको अर्थतन्त्रलाई विदेशमा गई कमाई गर्नेले नै धानिरहेको, विभिन्न ज्ञान र प्रविधिलाई हस्तान्तरण गरिरहेको र देशलाई समग्र विकासमा विभिन्न कल्याणकारी क्रियाकलापबाट मद्दत पु¥याईरहेको तथ्यांक प्रस्तुत गर्नुभयो । वहाँलाई कार्यपत्र तयार पार्न कार्यदलका अर्का सदस्य डा.कृष्ण अधिकारीले सहयोग गर्नुभएको थियो।

बैठकमा कार्यदलका अर्का सदस्य शुष्मा राईले “ब्रिटिश–गोर्खा सेना र नेपाली नागरिकता निरन्तरताको सवाल” विषयमा आफ्नो अवधारणापत्र पेश गर्नुभएको थियो। वहाँले गोर्खा सेना नेपाल र बृटिश सरकारको संझौता अन्तर्गतबाट भर्ति भएको, स्वेच्छाले नभई बाध्यतावश ब्रिटिश नागरिक बन्नुपरेको तथ्य पेश गर्दै यहि कारणले नेपाली नागरिकता खारेजी हुन नहुने विचार प्र्रस्तुत गर्नुभयो । वहाँले गोर्खा सेना नेपाल–बेलायत मैत्रि सम्बन्धको सेतुको रुपमा रहेको प्रसंग उल्लेख गर्दै नेपाली नागरिकताको निरन्तरता हुनैपर्ने दावी प्रस्तुत गर्नुभयो । वहाँलाई डा. अच्यूत गौतम र डा.कृष्ण अधिकारीले कार्यपत्रमा मद्दत गर्नुभएको थियो।

बैठकमा कार्यदलका सदस्य कृष्ण उपाध्यायले “सामाजीक विकासमा प्रवासी नेपालीको भुमिका र नेपाली नागरिकता निरन्तरताको महत्व”को वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले नेपाली सामाजिक–सांस्कृतिक पक्षको विश्वव्यापी प्रसारणको माध्यम प्रवासी नेपालीहरु भएकोले उनिहरुको नेपालीत्वलाई जोगाई राख्ने हो भने नेपालसंग जोडिने गाँठो नेपाली नागरिकता नै रहेको तथ्य प्रस्तुत गर्दै वहाँले यस्को प्राप्तीको लागि नेपालको सरकार, संविधानसभा, राजनीतिक दलहरु, अन्य सरकारी तथा गैरसरकारी संयन्त्रहरु र नेपाली जनताको विचमा यस विषयलाई स्पष्टताकासाथ प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाली जनताले नै प्रवासी नेपालीहरुको नेपाली नागरिकताको निरन्तरताको महत्व बुझेको प्रसंग प्रस्तुत गर्दै वहाँले जनताकै सहयोगमा नै प्रवासी नेपालीको यो हक प्राप्त हुने तथ्य पेश गर्नुभयो । कार्यदलका अर्का सदस्य यादव श्रेष्ठले “शिप तथा प्रविधि हस्तान्तरणमा प्रवासी नेपालीहरुको भुमिका र नेपाली नागरिकता निरन्तरताको आवश्यकता” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का सदस्य डा. पदम सिंखडाले “नेपालको स्वास्थ्य क्षेत्रको विकासमा प्रवासी नेपालीहरुको भुमिका र नेपाली नागरिकता निरन्तरताको औचित्य” बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यि सम्पूर्ण कार्यपत्रहरुको छलफलमा बैठकका सहभागी सम्पूर्ण सदस्यहरुले सक्रियपुर्वक भाग लिएका थिए । बैठकलाई नेपालबाट बेलायत भ्रमणमा रहनुभएका कार्यक्रमका प्रमुख अतिथि, जेष्ठ नागरिक संघका केन्द्रिय अध्यक्ष तथा पेशागत महासंघका नेता मोहनबहादुर केसीले कार्यक्रममा प्रमुख अतिथ्यताको अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिनुहुँदै प्रवासी नेपालीहरुको यो समस्या बेलायतमा मात्र सिमित नभई फ्रान्स, स्पेन, बेल्जियम, तथा यूरोपका अन्य देशहरु, अमेरिका, अष्ट्रेलियामा पनि व्यापक रहेको आफ्नो भ्रमणको क्रममा थाहा पाएको विचार व्यक्त गर्नुभयो । वहाँले नेपालको सर्वाङ्गीण विकासमा प्रवासी नेपालीहरुलाई मूलप्रवाहमा रहने भुमिका दिनुपर्ने जसको लागि उनिहरुको समस्यालाई नेपालले सुनेर यथाशिघ्र पूरा गर्नुपर्ने धारणा राख्नुभयो।

बैठकको अन्त्यमा कार्यदलका संयोजक भक्त गुरुङले कार्यदल एनआरएन र अन्य संघसंस्थाहरुसंग हातेमालो गर्दै अघि बढ्ने, नेकपा (एमाले) को नवौं महाधिवेसनको मूल कार्यपत्रमा नेपाली नागरिकताको निरन्तरताको विषयलाई समाविष्ट गराउने, नेपाल सरकार, संविधानसभा तथा नेपालका राजनीतिक दल तथा अन्य पक्षहरुसंग यो मागलाई अगाडि बढाउने कार्ययोजना तयार प्रस्तुत गर्नुभयो। निकट भविष्यमा बेलायतमा कार्यरत नेपाली संघसस्थाहरुको सहभागितामा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र नेपाली नागरिकता निरन्तरता सम्बन्धि अवधारणापत्र यथाशिघ्र प्रकासित गरी व्यापक जनताको विचमा यस विषयलाई लैजाने निर्णय समेत गरेको छ। बैठकले कार्यक्रम आयोजना गर्न सहयोग पु¥याएका नर्थवेष्ट कलेजका यादव श्रेष्ठ, कार्यक्रमको व्यवस्थापनमा सहयोग पु¥याउने प्रवासी नेपाली मञ्च रेडिङ इकाईका अध्यक्ष अर्जुन बस्नेत सहित सम्पूर्ण इकाई कमिटि, प्रवासी नेपाली मञ्चका केन्द्रिय उपाध्यक्ष रमेश वास्तोला, प्रवक्ता कुमार केसी लगायतलाई विशेष धन्यवाद प्रदान गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस