एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १४ फागुन। सुदूरपश्चिमाञ्चल गजल मञ्च कैलालीले प्रत्येक वर्ष प्रदान गर्दै आएको “पत्थर गजल साधना सम्मान” बाट पोखरेली युवा गजलकार प्रकाश ज्ञवाली सम्मानित हुने भएका छन्।
यो सम्मान उनको प्रथम गजल संग्रह ‘अक्षर बिउँझिएको समय’ लाई प्रदान गरिएको संस्थाको अध्यक्ष अशोक बोहोरा ‘असिम पीडा’ ले जानकारी गराए।
गुल्मी जिल्लाको हंसरा–४ मा पिता स्व. जीवनाथ ज्ञवाली र माता मायादेवी ज्ञवालीबाट २०४३ सालमा जन्मिएका ज्ञवाली १० वर्षदेखि पोखरेली साहित्य परिवेशमा क्रियाशील छन्। ‘अक्षर बिउँझिएको समय’ गजल संग्रह २०६८ सालको मोती जयन्तीको अवसरमा प्रकाशित कृति हो। यसअघि पनि उनी रेडियो अन्नपूर्णबाट गजल यात्रा प्रतिभा पुरस्कार–२०६४ गण्डकी वाङ्मय प्रतिष्ठान दमौली तनहूँबाट उत्कृष्ट गजलकार–२०६४ र अक्षर यात्रा प्रतिभा पुरस्कार–२०६७ बाट समेत पुरस्कृत भइसकेका छन्।सुदूरपश्चिमाञ्चल गजल मञ्च कैलालीले सो पुरस्कार यही फागुुन २४ गते शनिबार एक भव्य समारोहबीच प्रदान गरिने जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस