उत्तम अधिकारी/एचकेनेपाल डट कम –
आबुधाबी,२३ फेब्रुअरी। नेकपा (एमाले)का नेता भीम रावलले नेपालमा दिगो शान्ति र लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रवासमा रहेका नेपालीहरुले पनि आ-आफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने बताएका छन्|

प्रवासी नेपाली मञ्च, यूएईको तेश्रो अधिबेशनलाई सम्बोधन गर्दै संबिधानसभा सदस्य समेत रहेका रावलले सो कुरा बताएका हुन्| नेकपा (एमाले)को यूएई प्रवास संगठनको रुपमा रहेको प्रवासी नेपाली मंचको गत शुक्रवार दुबईमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथिको रुपमा सहभागी नेता रावलले ३० लाख भन्दा बढी सक्षम जनशक्ति देश बाहिर रहेको र कसरी त्यो युवाशक्तिलाई स्वदेश फर्कने वातावरण मिलाउने भन्नेतर्फ अबको बहस केन्द्रित हुनुपर्ने धारणा राखे। बिगतको संबिधान सभाले ८० प्रतिशत कार्य सम्पन्न गरेर पनि संबिधान जारी गर्न नसकेकोमा उनले चिन्ता प्रकट गरे। नेपालमा कुनैपनि जाति बहुसंख्यक नरहेका भन्दै उनले १२५ जाती रहेको र १२३ भाषा बोलिने नेपालमा सामाजिक सद्भाव सहितको संघियता आवश्यक रहेको औंल्याए। आर्थिक उन्नति बिना राष्ट्र उँभो नलाग्ने भएकाले आर्थिक पुनर्निर्माणतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड गरे। नेपालमा अहिलेसम्म भएका हरेक परिवर्तनमा प्रवासी नेपालीहरुको योगदान रहेको भन्दै उनले प्रशंसा समेत गरेका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका रावलले राजनीतिलाई स्थिर र शान्तिलाई बलियो बनाउनु अहिलेको प्रमुख आवस्यकता रहेको बताउदै समयमै नयाँ संबिधान जारी गर्न कांग्रेस, एमाले र एमाओबदी तिनवटै प्रमुख दलहरु सरकारमा सहभागी हुनुपर्ने उल्लेख गरे|

तेश्रो अधिबेशनको बन्द शत्रले प्रकाश कोइरालाको नेतृत्वमा सहमतीय आधारमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिको उपाध्यक्षहरुमा महेश गिरि, गिरबहादुर थापा र मोती राई तथा महासचिवमा उत्तम अधिकारी रहेका छन्। त्यसैगरी सचिवहरु भेषराज ढकाल र पुरुषोत्तम सुबेदी तथा कोषाध्यक्षमा राजु गुरुङ चयन भएका छन्| सदस्यहरुमा कृष्ण भुषाल, इन्द्र बहादुर घिमिरे, भिम बहादुर गुरुङ, युबराज भुषाल, राम कुमार ढुंगेल, सिता भुर्तेल, दामोदर दाहाल, मोनाज अर्याल, रोहित कुमार राउत, श्रीकृष्ण राउत, बिक्रम राउत, खुमानन्द अर्याल, रुपक नारायण नकर्मी, राम बहादुर रिमाल रहेका छन्|

प्रमुख अतिथि रावलबाट दीप प्रज्वलन गर्दै बन्द शत्रको उद्घाटन गरिए पश्चात बिशेष प्रस्ताव मार्फत केन्द्रको नीति तथा निर्देशन बमोजिम प्रवासी नेपाली संघ यूएईको नाम परिवर्तन गरी प्रवासी नेपाली मंच यूएईको घोषणा गरिएको थियो| उक्त बन्द शत्रका क्रममा बैदेशिक रोजगारीका लागि मध्यपूर्व आउने नेपालीहरुले श्रम बिभागदेखि विमानस्थलसम्म बिभिन्न चरणमा भोग्नुपरेको समस्या, एमआरपी पासपोर्ट वितरणमा भएका ढिलासुस्ती र त्यसले प्रवासी नेपाली श्रमिकहरुलाई परेको असर, प्रवासका बिभिन्न क्षेत्रमा नेपाली श्रमिकहरुले भोगिरहेका दयनीय अवस्था तथा संगठनको आन्तरिक बिषयबस्तु र नेपालको वर्तमान राजनीतिक अवस्था लगायतका बिषयमा बृहत छलफल भएको थियो|

नयाँ कार्यसमिति चयनसंगै सकिएको बन्द शत्र पश्चात साँस्कृतिक कार्यक्रम सहितको घोषणा सभाको पनि आयोजना गरिएको थियो। नव निर्वाचित अध्यक्ष कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको बिशिष्ट अतिथि यूएईका लागि नेपाली राजदूत धनन्जय झा रहेका थिए भने यहाँ क्रियाशील बिभिन्न संगठन तथा सामाजिक संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो। नव निर्वाचित उपाध्यक्ष मोती राईको संचालनमा रहेको उक्त कार्यक्रममा बिभिन्न वक्ताहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई र शुभकामना ज्ञापन गरेका थिए भने प्रवासी नेपाली जनसांस्कृतिक मञ्च यूएईका कलाकारहरुले आ-आफ्नो प्रस्तुति देखाएका थिए|

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस