१२ औं आहा रारा गोल्ड कपमा तयारी तिव्र
ब्रुनाईको एक टोलीसहित १२ टिम सहभागी हुने
दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, १० फागुन। मोफोसलको प्रतिष्ठित आहा रारा गोल्ड कपको १२ औं संस्करणमा एक विदेशी ब्रुनाईको फस्ट रोयल गोर्खा राईल फुटवल टिमसहित १२ टिमको सहभागिता रहने भएको छ। अन्तर्राष्ट्रिय अन्तर क्लव स्तरीय आमन्त्रित आहा रारा गोल्ड कप २०७० फुटवल प्रतियोगितामा तीन विभागीय, नेपालका ए डिभिजनका चर्चित क्लवसहित आयोजकको गरी १२ टिमको सहभागिता रहने शनिबार पोखरामा आयोजना भएकोे पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
पोखरा रंगशालामा फागुनको २० गतेदेखि संचालन हुने प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ्ग मर्स्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, एनएमवि मच्छिन्द्र फुटबल क्लब काठमाडौं, सिएमजि संकटा क्लब काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल ए.पि.एफ. क्लब, सामसुङ्ग जावलाखेल युथ क्लब काठमाडौं सिम्रिक सरस्वती यूथ क्लब, काठमाडौं एन्फा एकेडेमी यूथ १६, काठमाडौं र धरान फुटबल क्लब सुनसरी सहभागी हुने क्लवले जनाएको छ।
सहारा क्लब पोखराको आयोजना, रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा चैत १ गतेसम्म संचालन हने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए। “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ क्लबले यस बर्ष आयोजना गर्ने लागेको उक्त प्रतियोगिताको तयारी तिव्र पारेको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।
एसियाली ह्याण्डवल महासंघद्धारा गठित युडीसीको हालै कार्यसमिति सदस्यमा चयन भएका नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङलाई खादा लगायर कार्यक्रममा स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै गुरुङले मोफोसलको प्रतिष्ठित आहा रारा गोल्ड कपलाई सफल पार्न आग्रह गर्दै खेल संस्कारलाई सवैले आत्मसात गर्नुपर्ने बताए। प्रतियोगिता सम्पन्न गर्न ६५ लाख २२ हजार खर्च लाग्ने भएको प्रतियोगिताका संयोजक हरीराम गुरुङले बताए। उक्त प्रतियोगिताबाट ८० लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ।
रेडबुलकोसह प्रायोजन, कोकाकोला र कलर्स मोबाईलको उप प्रायोजन, पार्वड बाई नोभा दुध, साथै ईको पानि, नमस्ते एजुकेशन फाउनण्डेसन प्रा. लि. सानमिगेल वियर, बुद्ध एयर, टि.भि.एस. मोटर साईकल, ईमोन क्याफे, एल.जी. टेलिभिजनको प्रायोजन, नेपाल पर्यटन बोर्डको प्रवद्र्धक, कास्की जिल्ला फुटबल संघ, जिल्ला तथा क्षेत्रिय खेलकुद विकास समिति, राष्ट्रिय खेलकूद परिषद् एवं अखिल नेपाल फूटबल संघको विशेष सहयोग र पोखरा उप महानगर पालिकाको संयोजनमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।
मोफसलमा रहेको सहारा क्लब पोखराबाट निरन्तर आयोजित यो प्रतियोगिता क्याराभान गोल्ड कप २०५८ समेत गरी तेह्रौं हो। यसपूर्व क्याराभान गोल्ड कप २०५८ मा नेपाल पुलिस क्लब, प्रथम आहा गोल्ड कप २०५९ मा नेपाल पुलिस क्लब, द्वितिय र तृतीय आहा गोल्ड कप २०६०/२०६१मा मनाङ्ग मस्र्याङ्गदी क्लब र चौथो आहा गोल्ड कप २०६२ मा अफ्रिकन यूनाईटेड क्लब,पाचौँ आहा गोल्ड कप २०६३ मा, थ्रि स्टार क्लब, छैटौँ/सातौं/आठौं आहा गोल्ड कप २०६४/२०६५/२०६६, मा नेपाल पुलिस क्लबले प्र्रथम, नवौं आहा गोल्ड कप २०६७ मा थ्रि स्टार क्लब, दशौं आहा गोल्ड कप २०६८ मा, मनाङ्ग मस्र्याङ्गदी क्लब रएघारौं आहा ! रारा गोल्ड कप २०६९ मा थ्रिस्टार क्लबले प्र्रथम स्थान प्राप्त गर्न सफल भएका थिए।
२०५८ सालबाट कठिन परिस्थिती एंव विपन्न बर्गका वालकहरुको सहारा एकेडेमीमा हाल तेश्रो व्याजको रुपमा १० जिल्लाका १७ जना रहेको महासचिव केशवबहादुर थापाले बताए। आहा रारा गोल्ड कप तथा दाताको सहयागले क्लवले पोखरा १७ दोविल्लामा २ करोडको सहारा एकेडेमी तयार पारेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस