सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, ३ फागुन। मिस पूर्वाञ्चलका सहभागी युवतिहरुले पर्यटन प्रबर्द्धन कार्यक्रम अन्तर्गत पूर्वको सुन्दर पर्यटनस्थल भेडेटार र नाम्जेमा अवलोकन भ्रमण गरेका छन्।
होटल व्यवसायीको स्वागतपछि एसोसिएसनले भेडेटारमा पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा युवतिहरु सहभागी भए। सेना, प्रहरी, स्थानीयवासी र विभिन्न ठाउँबाट घुम्न आएका पर्यटकहरुले रक्तदान गरिरहेको कार्यक्रममा मिस पूर्वाञ्चलका युवतिहरुपनि रगत दिन इच्छुक बनेर अघि सरे तर धेरै जसोको प्रेसर कम भएकाले रक्तदान गर्न पाएनन्। मिस पूर्वाञ्चलकी सहभागी सोनी राईले भने रक्तदान गरिन्। मिस पूर्वाञ्चलको सहभागीतामा आयोजित रक्तदानमा ४३ पिन्ट रगत संकलन भएको एसोसिएसनका सचिव जीतेन्द्र रुम्दालीले बताए।
रक्तदानपछि मिस पूर्वाञ्चलका आयोजक र सहभागी युवतिहरु नाम्जे र आत्माघर घुमे। भेडेटारदेखि हाईकिङ गर्दै सिएनएनले सन् २०१२मा विश्वका उत्कृष्ठ १२ गन्तव्यमा सूचीकृत गरेको नाम्जेमा पुगेका उनिहरुले त्यहाँको होमस्टे, पर्माकल्चर, आत्माघर र नाम्जेको बारेमा जानकारी लिए। उनीहरुलाई मिस पूर्वाञ्चलका क्रियटिभ डाईरेक्टर राजेन्द्र रिमालले नाम्जे पर्यटनमा विश्वमै परिचित भएको बताए। पूर्वका विभिन्न जिल्लाका सहभागी युवतीहरुमध्ये अधिकांशले पहिलो पटक नाम्जेको भ्रमण गरेका थिए। सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा भईरहेको मिस पूर्वाञ्चलको पाँचौं संस्करणको ट्यालेन्ट शो फाईनलफागुन ५ मा विराटनगरको गुरुकुलमा र १२ गते धरान सभागृहमा फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ।