एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २३ माघ। नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्रष्ट्रिय क्षेत्रका दस जना प्रतिभालाई २०७० सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन्।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो। धर्मसंस्कृतिको सम्वर्धन, संरक्षण र जागरणमा समर्पित श्री १००८ डा. कृष्णदास महायोगी सिद्धबाबालाई नइ चन्द्रधन पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ।

नेपाली भाषा तथा साहित्यको स्तरीय सृजनाका निम्ति श्री विजय चालिसेलाई नइ ईश्वरवल्लभ पुरस्कार र प्रा.डा.कपिल लामिछानेलाई नइ धनरुप पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। त्यसै गरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति श्री प्रमोद प्रधानलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नेपाली साहित्यको समालोचना लेखनमा महत्त्वपर्ण योगदान गरेवापत डा.लक्ष्मणप्रसाद गौतमलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ। साथै नारी स्रष्टाको खोज, अध्ययन र अनुसन्धानमा समर्पित श्रीमती लीला लुइटेललाई नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। आधुनिक सङ्गीतको महिमा वृद्धि गराउने योगदानका निम्ति श्री जुजुकाजी रञ्जितलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

श्री रामप्रसाद पन्तलाई साहित्य सृजना तथा साहित्यिक पत्रकारिताका निम्ति नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यमा सदैव जागरूक अमेरिकाका श्रीमती नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

यसै गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तारमा योगदान पुर्‍याएबापत तेस्रो लिङ्गी श्री उमेश पाण्डे ‘निरुता’लाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ। यी पुरस्कार आगामी फागुन २२ गते काठमाडौंमा प्रदान गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्। नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका पच्चीस वटा पुरस्कार प्रदान गर्दै आएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस