रोशनको सम्वन्ध विमोचित
शिव मुखिया / एचकेनेपाल डट कम-
अमेरिकामा वस्दै आएका गायक रोशन गुरुङको चौथो गीति संग्रह ‘सम्वन्ध’ सोमवार विमोचन भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्वर गुरुङले एक सांगीतिक जमघटमा एल्वम विमोचन गरेका हुन्। एल्वममा लोक फ्लेबरका सातवटा आधुनिक गीत समेटिएको छ।

संगीतकार संभुजित वास्कोटाको सभाध्यक्षमा आयोजित कार्यक्रममा वुलु मुकारुङ, श्रवण मुकारुङ, उदय सोताङ, राजेशपायल राईलगायत संगीतकर्मीहरुको वाक्लो उपस्थिती थियो। ‘स्नेह’ पछि लामो अन्तरालमा रोशनको यो एल्वम वजारमा आएको हो। यसमा उदय सोताङ, संभुजित वास्कोटा, गणेश गुरुङ, शान्तिराम राई, एलवी गुरुङको संगीत सुन्न पाइन्छ। त्यस्तै, एल्वमका लागि तुलसी वस्नेत, कुमार विवाहित, विनोद रोक्का, टेक गुरुङ, सुमन योञ्जनले गीत लेखेका छन्। म्युजिक नेपालले वजारमा ल्याएको एल्वमको सिआरविटी विक्रीवाट हुने आम्दानी जेहेन्दार तथा गरिव विद्यार्थीको पढाईमा खर्चने गायक रोशनले वताए।

२०५६ मा ‘तिम्रो सम्झना’ मार्फत गायकी पहिचान वनाएका रोशनको ‘रेशमैको पछ्यौरी’, ‘सवैकुरा भन्दा नि पैसै ठूलो छ’, ‘दोभानमा वाढी आयो’, ‘भिज्ला है आँशुले पछ्यौरी’ गीत लोकप्रिय छन्। हाल उनी अमेरिकाको न्युर्योकमा वस्दै आएका छन्।

सम्वन्ध गाँस्न फर्किए गायक रोशन गुरुङ
शिव मुखिया / एचकेनेपाल डट कम-
गायक रोशन गुरुङ नेपाल फर्किएका छन्, एल्वम सम्वन्ध लिएर। चार वर्ष यता अमेरिकामा वसोवास गरिरहेका उनी आफ्नो ‘सांगीतिक रित्तता’ मेट्न नयाँ कोसेली लिएर आएका हुन्। ‘भिज्ला है आँशुले पछ्यौरी’ गीतसंगै चर्चाको शिखरमा पुगेका उनी एकाएक विदेशिएका थिए। २०५६ मा ‘तिम्रो सम्झनामा’ गीति संग्रहसहित प्रस्तुत भएका उनले निरन्तर चार वटा सोलो एल्वम ल्याइसकेका छन्। त्यस्तै, फिल्मी संगीतमा उनको उपस्थिती वाक्लै रह्यो। रोशनले मलेसिया, जापान, सिंगापुर, दक्षिण कोरिया लगायत थुप्रै मुलुकमा पुगेर स्टेज तताइसकेका छन्। इलामको नयाँ वजारमा जन्मि हुर्केका यिनै गायकसंग पछिल्लो एल्वमको सेरोफेरोमा गरिएको कुराकानी।

एल्वम रिलिजकै लागि नेपाल फर्कनुभएको हो?
मुख्य योजना त्यही नै हो। त्यसवाहेक सानातिना अरु काम पनि भ्याइन्छ। पशुपतिको यात्रामा सिध्राको व्यापार गर्नै पर्यो नि।

‘सम्वन्ध’ एल्वमले तपाईको पुरानो सम्वन्धलाई नविकरण गर्ला?
अपेक्षा त्यही छ। ‘स्नेह’ पछिको सांगीतिक ग्याप मेट्न यो एल्वम ल्याएको हो। यस एल्वमले श्रोतामाझ मेरो सम्वन्ध गाँस्ने पुलको भूमिका खेल्छ भन्ने कुरामा म पूरापुर विश्वस्त छु।

कस्ता गीत छ यसमा?
लोक फ्लेवरका ७ वटा गीत छन्।

नेपाली संगीतकर्मीहरु ‘गीतको वजार ध्वस्त भयो’ भनिरहेका छन् तर, तपाईले त दुस्सहास गर्नुभो नि?
निश्चय नै अहिलेको सन्दर्भमा गीति एल्वम निकाल्नु भएको दुस्साहस गर्नु वरावर छ। विगतमा जस्तो क्यासेट विक्री गरेर पैसा कमाउंछु भन्ने त परको कुरा भो, लगानी उठाउन पनि संभव छैन।

यो सवै कुरा थाहा पाउंदा पाउंदै पनि ….
(विचैमा) हुन त यो कुरा भन्दा अलि अर्कै अर्थ लाग्ला। तर, पैसाका लागि एल्वम निकालेको होइन। अरु नै कामवाट मैले हातमुख जोडिरहेको छु, यो एल्वम केवल सांगीतिक ग्याप मेन्टेन गर्न मात्र हो। मेरो फेसवुक फ्यान पेजमा करिव चार हजार जति फ्यान छन्। उनीहरुले पटक पटक ‘तपाईको नयाँ गीत सुन्न पाइएन’ भनेर प्रश्न गर्छन्। उनीहरु जस्ता शुभचिन्तकका लागि मैले यो एल्वम ल्याएको हुं। यसको सिआरविटीवाट प्राप्त हुने रकमको सम्पूर्ण हिस्सा कुनै विद्यार्थीको पढाईका लागि च्यारिटी गर्छु भन्ने सोचाई छ।

लामो समय पो गायव हुनुभो त?
यसलाई गायव पनि भनिहाल्न उचित नहोला। म चार वर्ष यता अमेरिकामा छु। भूगोल फरक भएपनि मेरो लगाव संगीतमै छ। त्यहाँ पनि स्रोतालाई म नेपाली गीत संगीत सुनाइरहेको छु। ज्याक्सन हाइटमा हाम्रो मालिंगो रेष्टुराँ छ, त्यहाँ हरेक शुक्रवार, शनिवार र आइतवार गाइन्छ। त्यस्तै प्राय हरेक साता विभिन्न स्थानमा कन्सर्ट गरिन्छ।

कस्ता गीतमा चाख दिदारहेछन्, प्रवासी नेपालीले ?
लोक फ्लेवरको गीत। यस्ता गीतमा आफ्नोपन हुन्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस