रमेश खावाजु/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, कोरियामा भक्तपुर समाजद्वारा कोरियनहरुको महान् चाड सलनालको अवसरमा राजधानी सउलको दोङदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टमा गरिएको “भेटघाट तथा परिचयात्मक” कार्यक्रम सम्पन्न भएको छ।

“विदेशमा बसे पनि आफ्नो ठाउँलाइ नभुलौं तथा आफू जन्मेको हुर्केको ठाउँमा आफुले सक्दो योगदान पुर्याउ” भन्ने नाराका साथ गरिएको भेटघाट कार्यक्रममा नयाँ साथीहरुको बीच एक आपसमा परिचय गर्नुका साथै संस्थाका भाबी योजनाका बिषयमा छलफल पनि गरिएको कार्यक्रम संयोजक मोहन सैंजुले बताए। सैंजुले नै नेपालका तिम्ल्याहा शिशुहरुको उपचारको लागि कोरियामा संकलन गरेको रकम नेपालमा छिटै नै हस्तान्तरण गर्ने बताए। त्यस्तै ६ बर्षअघि दक्षिण कोरिया प्रवेश गरेका भक्तपुर बालकोट निवासी नवराज शिवाकोटीले पहिलो पटक भक्तपुर जिल्लाका साथीहरुबीच भेटघाट गर्न पाउदा खुसि लागेको बताए। जनसम्पर्क समिति कोरियाका सभापतिसमेत रहेका नवराज शिवाकोटीले भक्तपुर समाज कोरियाले गर्न लागेका हरेक क्रियाकलापलाइ आफूले पूर्ण समर्थन तथा विभिन्न तवरले सहयोग गर्ने पनि बताए।

५ महिनाअघि स्थापना भएको भक्तपुर समाज कोरियाले सन् २०१४ को सुरुवातसंगै परोपकारी कार्यमा पहिलो पाइला चालेका छन्। “तिम्ल्याहा शिशुहरुको उपचारको लागि हामी सबै मिलेर परोपकारी भावनाका साथ सहयोग गरौँ ” नाराका साथ नेपालमा आर्थिक अभाबले उपचार गर्न कठिनाइ भोगिरहेका तिम्ल्याहा शिशुहरुको उपचारको लागि कोरियामा भक्तपुर समाजले गत जनवरी ११ तारिक देखि रकम संकलन गरिरहेका छन्। हालसम्म करिब १४ लाख ९९ हजार कोरियन वन संकलन भैसकेको छ। अब छिटै नै सम्पूर्ण सहयोगदाताहरुले दिएको रकम नामावलीहरुसहित विभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशित गर्ने संस्थाका कोषध्यक्ष राजमान प्रजापतिले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस