जय आले/ एचकेनेपाल डट कम-
कुवेत, ०१ फेब्रुअरी। कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तामाङ समुदायको सकृय जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले आफ्नो महान पर्व २८५०औं सोनाम ल्होछार ३१ जनवरी २०१४ का दिन भव्य रुपमा मनाएको छ।

कुवेतको मालियास्थित होटल एशिया-एशियामा घेदुङ कुवेतको सातौं प्रस्तुति स्वरुप आयोजित “सोनाम ल्होछार-२०१४” मा नेपालका बहुचर्चित लोक गायक मिलन लामा र मेन्दोमाया सेलो गायिका रमला पाख्रिनको साथमा घेदुङ कुवेतका स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र बिभिन्न तामाङ परिकारहरुले पाहुनाहरुको स्वागत तथा लामा गुरुहरुको मन्त्र बाचनले कुवेत साँचै नै केही छिन ल्होछारमय रह्यो।

नेपाली कला र संस्कृतिप्रेमी दर्शकहरुले खचाखच भरिएको एशिया-एशिया होटलमा आफ्नो जादुमय कला र गलाको व्यंगात्मक प्रस्तुतिले मिलन लामाले सबैलाई पेट मिचीमिची मात्रै हँसाएनन्, सबैलाई आफूसँगै संगितमा झुम्न र कम्मर मर्काइ मर्काइ नाच्न पनि वाध्य बनाए भने महामहिम राजदूत समेत उफ्रीउफ्री हाँसेको दृश्यले लामाको कला र घेदुङ कुवेतको छनौटलाई सबैले खुलेर प्रशंसा गरे। यसैगरी, सुरिलो स्वरकी धनी सेलो गायिका रमला पाख्रिनको सोह्र नपुग्दै बोलकोलगायत अन्य सेलो गीतहरुले पनि दर्शकहरुलाई खुब नचायो भने घेदुङ कुवेतका स्थानिय कलाकारहरुको आकर्षक नृत्य र लोक पप गीतहरुले झनै ल्होछारलाई सुगन्ध भर्ने काम गर्‍यो।

नेपालको राष्ट्रिय गानपछि महामहिम राजदूतले बुद्ध भगवानको प्रतिमामा द्धिप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलानको सभापतित्व तथा महामहिम राजदूत मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका बरिष्ट सल्लाहकार आश लोप्चनले उपस्थित सम्पूर्ण पाहुना तथा अतिथिगणलाई स्वागत गर्नु भएको थियो। यस्तै, संरक्षक राजेन्द्र तामाङले तामाङ जाति र सोनाम ल्होछारको बारेमा प्रकाश पार्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

यसैगरी, महामहिम राजदूत मधुबन प्रसाद पौडेल, एनआरएनए कुवेतका अध्यक्ष धर्मराज गिरी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष जय आले र युएई एक्सचेन्ज कुवेतका बिडिएम हेड रेन्जिथ एस पिल्लाईले कार्यक्रम सफलताको कामना गर्दै सम्पूर्ण प्रबासी नेपालीहरुलाई ल्होछारको शुभकामना दिएका थिए।

ज्याबरानी एल्बमका धनी तथा तामाङ घेदुङ कुवेतका कलाकार पुष्प वाईवा तामाङको संयोजकत्व रहेको ल्होछार तथा साँस्कृतिक कार्यक्रमलाई महासचिव अमृत लोप्चन तामाङ, सचिव कृष्ण स्याङतान र नव उद्घोषिका शर्मिला तामाङले संयुक्त रुपमा सञ्चालन गरेर सबैको मन जिते भने नृत्य निर्देशक अशोक लामाले समेत बेला बेलामा कार्यक्रमलाई उद्घोष गरेर थप रौनक भरे।

कार्यक्रममा अतिथि कलाकार मिलन लामाले माझी दाई, जिम्मु बेच्न जाउँ, माफि मुश्किल, माछिलाई फुर्लुङ जस्ता गरेर करिब १ दर्जन लोकप्रिय गीतहरु दर्शक माझ पस्केका थिए भने गायिका रमला पाख्रिनले पनि सोह्र नपुग्दै, मेहेन्दोमाया र अन्य सेलो गरेर करिब आठ गीतहरु दर्शकलाई पस्केकी थिईन भने पाख्रिनले सो अबसरमा आफ्नो नयाँ एल्बम “रमला”लाई समेत राजदूतको हातबाट बिमोचन गराईन्।

यस्तै, आयोजकले कार्यक्रममा महामहिम राजदूतलाई कुवेतमा वहाँले आफ्नो कार्यकाल पुरा गरेर छिट्टै नेपाल जानु हुने भएकोले बिदाई स्वरुप दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको थियो भने अतिथिन कलाकार र बिशेष सहयोगिहरुलाई राजदूतको हातबाट मायाको चिनो दिई सम्मान गरेको थियो।

कार्यक्रम दिनको १२.३० बजेदेखि बेलुकी करिब ८.३० बजेसम्म एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको थियो। प्रवेशद्वारमा बुद्ध भगवानको पूजा आर्चना, टिका तथा पाहुना सम्मानको चुस्त ब्यबस्था गरिएको थियो। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र खानाको व्यवस्था गरिएको थियो।

यसैगरी, स्थानीय कलाकारहरुले दिएको प्रस्तुति क्रमशः निम्न अनुसार रहेका छन्। स्थानीय कलाकारहरुलाई कलाकार संयोजक तथा घेदुङ कुवेतका नृत्य निर्देशक अशोक लामा र सह-संयोजक सन्जु तामाङले प्रशिक्षण दिएर तयारी गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस