एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ माघ। नायिका तथा निर्मात्री रेखा थापाले आफूलाई नेपाल चलचित्र प्राबिधिक संघले दबावपूर्ण धम्की दिएको भन्दै आपत्ति जनाएकी छन्। उनले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले मलेसिया जारी अवार्ड समारोहमा आफू उपस्थित हुन नसक्नुलाई गलत ढंगले प्रस्तुत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

प्रेस बिज्ञप्तिको पूर्ण विवरणः
नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) को आयोजनामा पहिलो पटक मुलुक बाहिर सम्पन्न भईरहेको अवार्ड समारोहको बिषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सही र सत्य समाचारबाट सु-सूचित हुन पाउनु हरेक पाठकहरुको नैसर्गिक अधिकार हो भन्ने मैले बुझेकी छु।

​दिनरात घामपानी नभनी न्यूनतम पारिश्रमीक लिएर श्रम गर्ने प्राबिधिकहरुबाट अवार्ड कार्यक्रम गरिनु आफैमा एउटा गौरबको बिषय हो। मेरो वहाँहरुप्रति सदैव श्रद्धा रहेको छ र रहिरहने छ तर उक्त कार्यक्रममा म एउटा कारणले उपस्थित हुन नपाउनु अनि आयोजकको तर्फबाट अर्को कारण देखाउदै समाचार सम्प्रेषण गरिनुले मलगायत नेपाली चलचित्रलाई आफ्नो मनमा बोकेर हिड्ने लाखौँ दर्शक श्रोता पाठकहरुको भावनामा ठेस पुगेको वास्तबिकतालाई बाहिर ल्याउनै पर्ने अवस्था आएकोले म यो बिज्ञप्ति जारी गर्दैछु।

​दैनिक मजदुरी गर्ने प्राबिधिकहरुको नामबाट सम्पन्न भईरहेको उक्त कार्यक्रममा पञ्चानब्बे प्रतिशत प्राबिधिकलाई नै प्रबेश निषेध गरिनु आफैमा अन्यायपूर्ण त छदैछ सँगसँगै मेरो उपस्थितिको सम्बन्धमा आयोजकबाट मलाई जानकारी नआएको हैन तर सोही समयमा रेखा थापा फाउण्डेशन र मेरो निर्माणधिन चलचित्र हिम्मतवालीको कार्य ब्यस्तताले गर्दा म समारोहमा उपस्थित हुन नपाउने जानकारी गराउँदा पनि उक्त कार्यक्रमको प्रचार सामाग्रीमा मेरो फोटो राखेर प्रचार गरिनु, तिमी उपस्थित नभए तिमीले पाउने अवार्ड अर्कैलाई दिन्छु भनी ममाथि धम्कीपूर्ण दबाब दिईनु अनि रेखा थापा उपस्थित हुन्न भन्ने ठहर भएपछि रेखा थापाले धोका दिईन् भनी प्रचार गरिनुले मलगायत मेरो क्षेत्रलाई हृदयदेखि माया गर्ने सम्पूर्णमा अझ बढी अन्याय भएको मैले ठहर गरेकी छु।

​अवार्ड कार्यक्रम सफलताका साथ सम्पन्न होस् यसको गरीमा अझै उचाईमा पुगोस, प्रतिभावान कलाकार तथा प्राविधिकको उचीत मूल्यांकन हुनेछ भन्ने मैले बिश्वास लिएकी छु। यस्तो बिषम परिस्थितिमा पनि निरन्तर चलचित्र निर्माण गरेर सयौँ प्राबिधिकहरुलाई रोजगारी दिएको यथार्थता अवगत गराउँदै आगामी दिनहरुमा पनि प्राबिधिक संघ र प्राबिधिकहरुप्रति मेरो सदासयता र साथ रहिरहने छ। यस्ता अनर्गल प्रचारकापछि नलागी यथार्थ मनन गरिदिनु हुन सम्पूर्ण चलचित्रकर्मी, पत्रकार र आम दर्शकहरुमा हार्दिक अनुरोध गर्दछु।

​रेखा थापा
(अभिनेत्री र निर्माता)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस