देवराज राई –
कार्यकारी प्रमुख सीवाई ल्योङले पोलिसी एड्रेसमा भनेका छन्– साउथ एशियन इथनिक माइनोरीटीजहरू ६० हजार छन्, पछिल्लो दशकमा ५० प्रतिशत बृद्धि भएर गएका छन्। किटानीका साथ हामी र हाम्रा नानीहरूलाई डिस एडभान्टेज समूहमा राखेर सहयोग गर्ने नाममा हाम्रो नाडी छाम्ने काम भएको छ । हामीलाई अपांग, असक्षम वर्गमा राखेर इन्टिग्रेसनको नाममा चिनियाँ भाषालाई कारक मान्नु कतिसम्म जायज छ ? के हो त वास्तविक समस्या ? यस बारेमा विभिन्न चर्चा–परिचर्चा भइरहेका छन् । हाम्रो प्रश्न छ– किन साउथ एशियन मात्र ? ईष्ट एशियन अनि यूरोपियन पनि त छन् । उनीहरूले अंग्रेजी पढ्दा इन्टिग्रेसन भयो ? हामीले पढ्दा डिस एडभान्टेज?
सन् १९९७ सालमा हङकङ चीनमा हस्तान्तरण भए लगत्तै धेरै माध्यमिक विद्यालयहरूमा पठन–पाठनको माध्यम चिनियाँ भाषामा परिवर्तन भयो । बेलायतको उपनिवेशपछि हङकङको भविष्य के हुने हो ? धेरै स्थानीयहरू ढुक्क हुन सकेनन् । विश्वविद्यालयमा विधार्थीहरूको भर्ना कम हुन गयो । अंग्रेजी भाषामा दख्खल कम भएको कारण अन्ततः सय अधिक माध्यमिक विद्यालयहरू अंग्रेजी माध्यममा फर्र्किए । स्कुल बेस मेडियम अफ इन्सट्रक्सनलाई शिक्षा विभागले सहज बनाइदियो । हस्तान्तरणपछि भएको आर्थिक मन्दी र २००३ सालमा भएको सार्स रोगको महामारीका कारण यहाँको बाल जन्मदर न्यून भयो । स्थानीय चिनियाँका बच्चा जन्मेनन्, हाम्रा विधार्थी संख्या बढ्यो । सरकारले न्यूनतम विधार्थी भर्ना मानदण्ड तयार गरेको कारण सन् २००१–२००७ सालबीचमा न्यू टेरीटोरीज क्षेत्रका अधिकांश भिलेज स्कुलहरू विधार्थीहरूको अभावमा सदाका लागि बन्द भए। केही विद्यालयहरू एकअर्कामा समाहित भए अनि फेरि बन्द भए।
विद्यालयहरूमा एनसीएस विधार्थीहरू
नन चाइनिज स्पिकिङ (एनसीएस) विद्यार्थीलाई भर्नाका लागि सरकारी विद्यालयहरूले ठूलै योजना बनाए । विभिन्न प्रलोभन देखाएर न्यूनतम विद्यार्थीहरूका कारण बन्द हुन लागेका विद्यालयहरूमा उनीहरुलाई भर्ना गरियो । अहिले पनि न्यू टेरीटोरिजका अधिकांश माध्यमिक विद्यालयहरू विद्यार्थी अभावको कारण बन्द हुने अवस्थामा छन् । ती विद्यालयहरूमा एनसीएस विद्यार्थीलाई भर्ना लिने अनि २०१६ सालसम्म जसोतसो बाँचिरहने हिसाबकिताबमा लागेका छन् माध्यमिक विद्यालयहरू । किनभने २०१६ सालपछि प्राथमिक तहबाट धेरै विधार्थीहरू माध्यमिक विद्यालयमा प्रवेश गर्नेछन् । त्यतिबेला ती विद्यालयहरूलाई हाम्रा नानीहरूको आवश्यकता पर्ने छैन । जब एनसीएस विद्यार्थीहरू जम्मा हुन थाले, ती विद्यालयहरूमा बाइलिइङ्ग्योल टिचिङ प्रारम्भ भयो । अंग्रेजी भाषामा दक्षता नभएका धेरै शिक्षकहरू विस्तारै पाखा लागे । एनसीएस अभिभावकहरूको संलग्नता बढेपछि ती विद्यालयहरूमा विधिवत अंग्रेजी भाषाका पाठ्यक्रमहरूले प्रवेश पाए । हाम्रो संख्या बृद्धिसँगै जातीय अल्पसंख्यकको मातृभाषा, साहित्य, संस्कृतिहरूका आधारभूत ज्ञानहरू लिने क्रम प्रारम्भ भयो।
डेजिग्नेटेड विद्यालय र सेग्रीगेसनका कुरा
एनसीएस विद्यार्थीहरुको अधिक संख्या भएका विद्यालयहरूलाई शिक्षा विभागले २००६–२००७ शैक्षिक शत्रदेखि डेजिग्नेटेड स्कुल भनी नामाकरण गरिदियो, प्रति स्कुल ३ लाख डलर र २०१२ सालमा आएर ६ लाख डलर प्रति स्कूल बजेट निकासा गरिदियो । एनएसी (न्यूली अराइभ्ड चिल्ड्रेन) विधार्थीहरूको इमोसनल निड्सका लागि सहयोग गर्न जातीय अल्पसंख्यक शिक्षक, कर्मचारी विद्यालयहरूले भर्ना ग¥यो । यो क्रमसँगै धेरै विद्यालयहरूमा चिनियाँ, नेपाली, पाकिस्तानी विधार्थीहरूसँगै अध्ययन गर्न पाए । केही विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्ययन गर्न नसकेका चिनियाँ विधार्थीहरूका लागि चिनियाँ माध्यममा पढाइ भइरहेको छ । सन् १९९० अघिदेखि नै अल्पसंख्यक विधार्थीहरूलाई भर्ना लिइरहेका विद्यालयहरू, जो आफू बसेको स्थान भन्दा धेरै टाढा थिए, मा गइरहनु पर्ने एक प्रकारको झन्झट समाप्त भयो । आफू वरपर रहेका डेजिग्नेटेड विद्यालयहरूमा उच्च मनोबलका साथ हाम्रा नानीहरूले चिनियाँभाषा लगायतका विषयहरू पढ्न पाएका थिए।
डेजिग्नेटेड विद्यालयहरू पछि निर्धारण गरिएको होइन । जुन विद्यालयहरूमा एनसीएस विधार्थीहरूको संख्या बढ्नुमा कुनै करकाप थिएन । अभिभावकहरूको नीजि विचार र विद्यालयप्रतिको भरोसाका कारण उनीहरू अंग्रेजी माध्यमको विद्यालयहरू, जहाँ निशुल्क पढाइ हुन्छ, को माग गरिरहेको अवस्थामा थियो । चिनियाँ भाषामा टेलरमेड करिकुलमहरू ईडीबीको सहयोगमा निर्माण भएर पढाउन थालियो । धेरै विधार्थीहरूको चिनियाँ भाषा यसर्थ पनि राम्रो भएर गएको थियो।
धेरैले इन्टरनेशनल विद्यालयहरूमा पढाउन सक्ने अवस्था थिएन जसका कारण आफूलाई पायक पर्ने विद्यालयहरू खोज्नु, अनि विद्यालय स्वयंले पनि विद्यालयमा एनसीएस विधार्थीहरू राखेर भए पनि विद्यालय चलाउनु पर्ने वाध्यता थियो । जसका कारण धेरै विद्यालयहरूमा जब एनसीएस विद्यार्थीहरु पढ्न थाले ती विद्यालयहरूमा स्थानीय चिनियाँ समूदायले आफ्ना नानीहरू राख्न छाडे । अर्थात भनौं हाम्रा नानीहरूसँग घूलमिल हुनु चाहेनन् । उनीहरूले विकल्प रोजे । के यो तीतो यथार्थ होइन र ? के यो जातीय भेदभाव होइन र?
शैक्षिक सत्र २००६÷७ मा डेजिग्नेटेड प्रारम्भ हँुदा मात्र १५ विद्यालहरू थिए । २०१२÷१३ मा आइपुग्दा २० प्राथमिक र १० माध्यमिक विद्यालयहरूमा एनसीएस विधार्थीहरूको उपस्थिति बढेर गयो । जहाँ उनीहरू मल्टीकल्चर एजुकेशनलाई प्राथमिकता दिन थाले । शिक्षा विभागले धेरै नजीकबाट एनसीएस विद्यार्थीहरुलाई हेर्ने र खोतल्ने काम ग¥यो । तथापि माध्यमिक तहबाट ड्रप आउटको क्रम रोकिएन, रोकिएको छैन ? यसको सुक्ष्म अध्ययन आवश्यकता भएकोबेला समान अवसर आयोग (ईओसी)को दबाबमा शिक्षा विभागले डेजिगनेटेड विद्यालयहरू खारेज गर्न दबाब दियो । ईओसीलाई युनिसन नामक गैह्र सरकारी संस्थाले ब्याकअप ग¥यो । युनिसनलाई केही अवसरवादीहरूले साथ दिए।
अन्ततः शैक्षिक सत्र २०१३÷१४ देखि ईडीबीले विद्यालयहरूलाई समेत थाहै नदिई डेजीगनेटेड नाम हटाइदियो । २०१४÷१५ को शैक्षिक शत्रदेखि सेन्ट्रल एलोकेशनका लागि जब फारम भर्ने समय आयो तब अभिभावकहरूलाई सन् १९८० सालभन्दा अगाडिदेखि एनसीएस विधार्थीहरूलाई भर्ना गरिरहेको विद्यालयहरूलाई मात्र सप्लीमेन्ट्री स्कूल भनी अभिभावकहरूलाई भ्रम फैलाउने काम गरेको छ । माध्यमिक विद्यालयको फारममा पनि यो समस्या पक्कै आउने छ।
इन्टिग्रेशन भनेको एसिमिलेशन होइन । समाहित भइजानु होइन । विभिन्न बिल अफ राईट्सहरूले पनि हामीलाई साथ दिएको छ । चौतर्फी विकासमा विद्याथीर्ले ज्ञान पाउनु उसको नैसर्गिक अधिकार हो । यस कारण अंगेजी माध्ययममा पढाइ हुनुलाई सेग्रीगेशन मान्ने ? यो नितान्त अभिभावकहरूको रोजाइको कुरा हो । मेन स्ट्रीममा भर्ना गर्न चाहेको भए यहाँका ब्याण्ड १ अंग्रेजी माध्यमका विद्यालयहरूमा हाम्रा नानीहरूलाई किन भर्ना लिइन्न ? के हाम्रा नानीहरू उनीहरू भन्दा कमजोर छन र ? किन हाम्रा नानीहरू जो ब्याण्ड ३ विद्यालयहरूमा पठाउन खोजिएको छ?
के चिनियाँ भाषा जान्नु इन्टिग्रेशन हो?
शैक्षिक शत्र २०११÷१२ मा फर्मी वङको युनिसनले केही पाकिस्तानीहरूलाई जम्मा गरेर चिनियाँ भाषा नजानेको कारण आफूहरूले काम नपाएको भन्दै हल्लीखल्ली ग¥यो । यतिका वर्ष पढेर पनि चिनियाँ भाषा सिक्न नसक्नुको कारण विद्यालयलाई दोष दिइयो । फर्मी वङलाई थाहा भएन– इन्टिग्रेशनको मूख्य कारक तत्व के हो भनेर ? सम्पूर्ण दोष चिनियाँ भाषालाई दिइयो।
जबरजस्त चिनियाँभाषा पढाउन विद्यालय स्तरमा मात्र होइन – यहाँका सबै गैह्र सरकारी संस्थाहरूलाई समेत धेरे रकमहरू निकासा गरी दिए । ती एनजीओहरूले हाम्रो नाममा आएको बजेट निकासा गरी, खान, बस्न, हात धून, हिड्न सबै सिकाए । हामीलाई हाम्रा पोशाकहरू प्रदर्शन गर्न लगाए । हाम्रो कमि कजोरीहरूमा उनीहरूले मौकाको फाइदा उठाउँदै चिनियाँबन्न खूबै सिकाए, सिकाइरहेका छन् । फेरि पनि समस्या त त्यही छ ।
हामी हङकङको बासिन्दा, उनीहरूले कहिल्यै सम्झेका छैनन् । हाम्रो पृष्ठभूमि र योगदान कही कतै उल्लेख छैन । हामीलाई हङकङको आधारभूत कानुन प्रदत्त मौलिक अधिकार प्रयोग गर्न दिन चाहिरहेका छैनन् । हरेक दिन प्रत्यक्ष–अप्रत्यक्ष भेदभावको कारण चिनियाँ भाषा होइन । ग्रासरुटमा चिनियाँ भाषाले महत्व राख्छ तर यो इन्टिग्रेसन नहुनुको प्रमुख कारण होइन । अस्तित्व स्वीकार नहुनु चाँहि प्रमुख कारण हो।
यूनिसन, संचारमाध्यम र इन्टिग्रेसन
हङकङमा जातीय अल्पसंख्यकको मूख्य समस्याहरूलाई अन्ततिर मोड्दै मूल समाजमा इन्टिग्रेसन नहुनुको कारण युनिसनले चिनियाँ भाषालाई मानेको छ। हाम्रो प्रश्न छ– जातीय अल्पसंख्यकको सरोकारवालाहरू, यस बारेमा दक्ष व्यक्तिहरूसँग छलफल नगरी युनिसनले झारो टार्ने काम किन गरिरहेको छ?
संचारमाध्यमको कुरा गर्ने हो भने यहाँको मूलधारका संचारमाध्यमहरूले हामीलाई कहिल्यै पनि साथ दिएको छैन। हङकङको जातीय अल्पसंख्यकहरूको योगदान, उनीहरूले पाएको सफलता कहिल्यै पनि संचार माध्यममा अटाउँदैनन् । यी संचारमाध्यमहरूले साउथ एशियन इथनिक माइनोरीटीजहरूलाई नकरात्मक कोणबाट प्रोजेक्शन गरी मूलधारसँग ठूलो ग्याप सृजना गरेको छ । हामीहरू स्थानीय नजरमा ड्रगिष्ट, फाइटर बनेका छौं । तल्लो स्तरको काम गर्नेमा कहलिएका छौं । हाम्रा पितापुर्खाहरूले हङकङको लिगेसी निर्माणमा दिएको योगदान न त संचारमाध्यममा छन् न त युनिसनलाई थाहा नै छ । जबसम्म जातीय अल्पसंख्यकहरू पनि हङकङका बासिन्दाहरू हुन्, उनीहरू पनि हङकङको एक भाग हुन् उनीहरूको भाषा, संस्कृतिहरू हङकङका हुन् भनी सरकारले संरक्षणका लागि पहल गर्दैन तबसम्म इन्टिग्रेसन हुन्न।
किन विधार्थीहरू माध्यमिक तहबाट ड्रपआउट भइरहेका छन् ?
हामीसँग उपलब्ध भएका विविध तथ्याङ्कलाई हेर्दा एनसीएस विद्यार्थीहरू धेरै दूव्र्यसनी छन्, ती मध्ये नेपालीहरू अलि बढी । सुन्दा दुःख अनि अचम्म लाग्छ नेपालीहरूका लागि, यो नमिठो यथार्थ हो । माध्यमिक विद्यालयबाट किन यति धेरै ड्रपआउट भइरहेका छन् ?
मैले प्राथमिक तहमा पढाएको तर माध्यमिक विद्यालयबाट बीचैमा अध्ययन छाडेका १० जना विधार्थीहरूमा हालै नमूना सर्वेक्षण गरेको थिएँ । उनीहरू मध्ये ३ जनाले ड्रपआउट हुनुमा परिवारको कारण बताए, ७ जनाले विद्यालयका शिक्षकको कारण बताए । यसकारण हामी भन्न सक्छौ हाम्रो विधार्थीहरूलाई वर्तमान अवस्थाको पाठ्यक्रमले समेट्न सकेको छैन । यहाँको विद्यालयप्रति हाम्रा नानीहरू सुरक्षित महशुश गर्न सकिरहेका छैनन् । चिनियाँ समूदायका शिक्षकहरूले हाम्रा नानीहरूको सेन्टीमेण्ट बुझ्न सकेका छैन । मोनोटोनस भइरहेको छ अध्ययन–अध्यापन ।
एनसीएस विद्यार्थीहरूको यो समस्याप्रति हामीले केही विद्वानहरूसँग छलफल चलायौं । उनीहरू भन्छन्– विधार्थीहरू ड्रपआउट हुनुको प्रमुख कारण यहाँको करीकुलम र चिनियाँ पर्सिप्सन बोकेका शिक्षक शिक्षिकाहरू । धेरैले इन्टिग्रेसनका लागि सिंगापूरमाजस्तै मल्टीकल्चर एजुकेशन करीकुलम ठीक हुन्छ भनिरहेका छन् । किन हामीलाई जबरजस्त चिनियाँ भाषा लाद्न खोजिएको छ?
भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा
मेरो लेख चिनियाँ भाषाको विरुद्धमा होइन । म पनि चिनियाँ भाषा अहिले सिकिरहेको छु। भाषाको ज्ञानले मानिसको पहुँचलाई बृहत्तर बनाउँछ। स्थानीय भाषा सिक्नुमा कुनै विमति होइन । गएको १० वर्ष एनसीएस विद्यार्थीहरूको संगतमा उनीहरूलाई मैले कहिल्यै पनि भनेको छैन कि चिनियाँ भाषा नसिकौं।हरेक दिनजसो हुने विधार्थी र शिक्षाकर्मीसँगको सेमिनार, बैठक र कक्षाहरूमा मैले चिनियाँ भाषा पढाउने तरिकामा प्रश्न गरेको छु । शिक्षा विभाग र विद्यालयले उपलब्ध गराएको तालिमहरूमा भनेको छु । भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा हो।
पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एचकेसीई होस वा एचकेडएसीई, ०.५ प्रतिशत एनसीएस विधार्थीहरूमात्र उत्तीर्ण भइरहेको तथ्य हामीसँग छ। ईडीबीसँग पनि छ तर उनीहरू किन पास भइरहेका छैनन् प्रति चासो छैन। हाम्रा विधार्थीहरू किन ड्रपआउट भइरहेका छन् भन्ने कुरामा चासो छैन। उनीहरू त केबल जुन लेभलबाट छाडोस् मतलब भएन, केवल चिनियाँ भाषा जानोस् भन्ने मात्र छ। ०.५ प्रतिशत भित्र हामी नेपाली कतिमा पर्छौ?
एचकेडएसई परीक्षामा हाम्रो परिणाम शून्य भने होइन। सैक्षिकसत्र २०१२÷१३ मा २४ अधिक नेपाली विधार्थीहरूले परीक्षा उत्तीर्ण गरी विश्वविद्यालयहरूमा स्थान सुरक्षित गरेका छन्। ती सबै विधार्थीहरू इङलीस स्ट्रीमका विद्यालयबाट गएका विधार्थीहरू थिए । जो विधार्थीहरू मेन स्ट्रीमबाट थिए उनीहरू परीक्षामा अनुत्तीर्ण रहे । हामीले बुझ्नु पर्ने कुरा के हो भने– हाम्रो उद्देश्य भनेको यहाँको विश्वविद्यालयहरूमा हाम्रा नानीहरू पुगेर उच्च शिक्षा हासिल गरोस भन्ने हो। ग्लोबल सिटिजन बनुन् भन्ने हो । नत्र त स्नातक, स्नात्तकोत्तर नेपालमा पढी आई यहाँ फोहर सफा गर्नुजस्तै हो । अध्ययनलाई सम्मान गरौ भन्ने हो।
यदि कसैले चिनियाँ भाषाको कारण नानीहरू विश्वविद्यालयमा पुगेका छैनन् भन्छ भने म उनीहरूलाई गएको वर्ष उत्तीर्ण भएको विधार्थीहरूको जीसीएससी परीक्षामा सबैले पाएको ए अथवा ए स्टार देखाउन सक्छु । हाम्रो समस्या गणित, लिबरल स्टडीज, साइन्स विषयहरू हुन किनभने माध्यमिक विद्यालयहरूमा ती विषय राम्ररी पढाउन जान्ने शिक्षकहरूको अभाव छ । अंग्रेजी माध्यममा पढाउँदा त हाम्रो हालत ०.५ प्रतिशतमा छ भने चिनियाँ माध्यममा पढाएमा कसो होला?
हङकङ विश्व सहर हो, हाम्रो पनि हो। यसको सवल र दूर्वल पक्षहरूमा हाम्रो संलग्नता हुनु जरुरी हुन्छ। हो यहाँको मूलधार ९५ प्रतिशत एकै किसिमको छ। हाम्रो आवाजहरू सानो सुनिन्छ। के हामी कमजोर छौ भन्दैमा सबै कुरा त्याग्ने हो । हङकङको वासिन्दा भएका कारण हामीलाई पनि उत्तीकै अधिकारहरू कानुनले प्रदान गरेको छ । हामी सबै मिलेर हङकङको उन्नतिका लागि काम गर्नु पर्छ।
एक अभिभावक वा समाजको अगुवा भएका कारण हामीले भविष्य, समुदायको भविष्यप्रति सरोकार राख्न अति आवश्यक छैन र ? हामीले बोल्ने भाषा, साहित्य संस्कृतिहरू संरक्षण गरिदेऊ भन्ने हाम्रो कर्तव्य होइन र ? हामी र हाम्रा नानीहरूलाई कस्तो शिक्षादीक्षा आवश्यक छ भन्ने कुरा निक्र्योल गर्ने अधिकार हाम्रो होइन र ? चिनियाँ भाषा सिक्ने बहानामा हामीले हाम्रो परिचय नै समाप्त गर्नु त भएन नि ! कामका लागि भाषा सिक्ने हो भने पुतोङ्वा हाम्रा नानीहरूलाई सिकाउ न।
हामीले विद्यालय र अभिभावक स्तरमा छलफल प्रारम्भ गरौं र यसलाई सामाजिक रुपमा उठान गरौ । अन्य समूदाय जस्तै पाकिस्तानी, इण्डियन, फिलिपिनो समूदायसँग पनि चर्चा गरौं । यहाँ कुनै तर्क वा वादविवाद गर्नका लागि यो लेख लेखिएको होइन । यो हाम्रो साझा सवाल हो । हङकङको उन्नति प्रगतिमा हाम्रो प्रत्यक्ष संलग्नता छ । हार्मोनियस सोसाईटी निर्माण गर्न हामी सबैको कर्तव्य हो । हामीलाई एथनिक माइनोरिटिजको लेबल लागेको छ, यसलाई हटाई हङकङेली नेपाली, हङकङेली पाकिस्तानी बनेर वास्तविक हङकङेली वासिन्दा बनौं । वास्तविक बहुसाँस्कृतिक मूल्य मान्यता भएको समाज निर्माण गरौं।
लेखक पातह्योङ विद्यालयका शिक्षक हुन्। –सम्पादक
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस