हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १३ माघ। तमु धिं नेपालको वार्षिक मुखपत्र तमु सुँको सोमवार एक कार्यक्रमका विच विमोचन गरिएको छ।

तमु धिं नेपाल नयाँबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, विशेष अतिथि तमु धिं युकेका महासचिव नन्दजंग तमु र अतिथि तमु धिं युकेका सल्लाहकार हिमाल तमुले संयुक्त रुपमा विमोचन गर्नुभएको हो।

त ल्हो स्मारिका २०७० को रुपमा प्रकाशित मुखपत्रको विमोचन कार्यक्रमका प्रमुख अतिथि मिनप्रसाद तमुले तमुहरुको एकता नै आजको आवाश्यकता भएकाले एकताका लागि तमु संघ संस्था एवं अगुवाहरुले जोड दिन आग्रह गर्नुभयो। उहाँले तमुहरु जहाँ रहेपनि जातिय मौलिक भाषा, कला, सँस्कृति र अधिकारका लागि जुट्दै आएको बताउनुहुदै तमु धिं युके र तमु धिं नेपालले सहकार्य गर्दै अगाडि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि तमु धिं युकेका महासचिव नन्दजंग तमुले तमुहरुको हरेक समस्या समाधानका लागि एकतामा जोड दिनुभयो। उहाँले तमुहरु विच एक अर्कामा प्रतिस्पर्धा नभई तमुहरुको एकताबाटै अरुहरुसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो। संघ संस्थाका नाउँमा विभाजित मानसिकता होइन समाजसेवा, एकता र सबै मिलेर तमुहरुको उत्थान गरौं भावना तमुहरुमा हुनुपर्नेमा महासचिव तमुको आग्रह थियो। युकेमा करिब ४५ हजार तमुहरुको बसोवास गरिरहेको र तमु धिं युकेले तमुहरुलाई एकताबद्ध बनाउन पहल गरिरहेको बताउनुहुदै तमु धिं नेपालसँगको सम्बन्ध थप प्रगाढ हुदै जाने विश्वास व्यक्त गर्नुभयो। उहाँले तमुहरुमा राजनीतिक चेतना हुनुपर्छ, चेतना सहितको एकताले अधिकार प्राप्ति हुने दावी गर्नुभयो।

तमु धिं युकेका सल्लाहकार हिमाल तमुले देश विदेशमा तमु संघ संस्थाले समाजसेवामा विशिष्ट योगदान पुर्याइरहेको बताउनुहुदै समाजसेवाका लागि सबै भन्दा पहिलो शर्त अगुवाहरु असल बन्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार एवं तमु सुँका सम्पादक मण्डलका सदस्य सन्तबहादुर तमुले तमु सुँमा समावेश गरिएका विषयवस्तु र विविध पक्षमा चर्चा गर्नुभएको थियो। तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा स्वागत तमु धिं नेपालका प्रथम उपाध्यक्ष कर्णेल रामकाजी तमु र सञ्चालन महासचिव रुद्रकुमारी तमु मैनाले गर्नुभएको थियो।

यसै विच तमु धिं नेपालले आफ्नो क्षेत्रीय समाज तमु सेवा समिति नयाँबजार र फिर्के तमु समाजका नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले खादा लगाएर स्वागत गर्नुभएको थियो।

यसरी नै तमु धिंको बैठकले गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)द्धारा गठित गुरुङ चलचित्रको सेन्सर बोर्डमा तमु धिं नेपालका तर्फबाट कार्यसमिति सदस्य राजेन्द्र तमुलाई चयन गरेको छ भने बैठकमा त ल्होछार कार्यक्रमको समिक्षा समेत गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस