एचकेनेपाल डट कम संवाददाता-
एनआरएन थाईल्याण्डले आगामी दुइ बर्षका लागि ३१ बुंदे योजना र कार्यक्रम गत शनिबार एक समारोहका बीच प्रस्तुत गरेको छ। आत्रिअम बैंकक होटेलमा आयोजित उक्त समारोहमा एनआरएन थाईल्याण्डका अध्यक्ष खगेन्द्र राज ढकालले योजना र कार्यक्रम छलफलको लागि पेश गर्दै करीब एक लाखको संख्यामा रहेका नेपालीमूलका नेपालीलाई समावेशी प्रक्रियाबाट समेट्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। सानो र ठूलो पेशा वा व्यवसाय गर्ने भेदभाब नगरी एनआरएन थाईल्याण्डलाई आम नेपालीको साझा चौतारी बनाउने र एक नेपालीले अर्को नेपालीको जीवन स्तर उकास्न खुसीले सहयोग गर्ने बाताबरण बनाउने प्रतिबद्धता अध्यक्ष ढकालले गर्नुभएको थियो।

विभिन्न ५ मुख्य एजेन्डामा विभाजित योजना र कार्यक्रममा एनआरएन थाईल्याण्डको संस्थागत विकास, थाईल्याण्डस्थित नेपाली समुदायको उत्थान, नेपालको संस्कृतिक र पर्यटन विकास, नेपाल केन्द्रित व्यापार व्यवसाय र लगानी प्रबर्द्धन र दानसंग सम्बन्धित आधारभूत कार्यक्रमहरु समेटिएका छन्। दान सहयोगको बिषयमा भने एनआरएन थाईल्याण्ड नेपालको शिक्षा क्षेत्रमा केन्द्रित हुने योजनाअगाडि सारेको छ जसका लागि हेल्प लाइन कोस बनाइ सकिएको र त्यसलाई वृद्धि गर्दे लाने प्रस्ताबमा उल्लेख छ।

८० वर्ष भन्दा लामो इतिहास बोकेको नेपाली समुदायमा तेस्रो पुस्तासम्मका नेपालीहरु रहेकोले नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको निरन्तरता कायम गर्ने उद्धेश्यले नेपाली भाषा अनिवार्य हुने अन्तर्राष्ट्रिय गुणस्तरको नाफारहित बिद्यालयको स्थापना गर्ने कार्यक्रम पनि योजनामा समेटिएको छ। त्यस्तैै गरेर नेपाली दूताबासबाट नेपाली एवं विदेशीलाई दिने सेवामा द्रुतता ल्याउन एनआरएनले स्वयमसेवक खटाउने साथै थाईल्याण्डका मुख्य २ शहर फुकेट र च्यांगमाइमा कन्सुलर अफिस स्थापनाको लागि परराष्ट्र मन्त्रालय र नेपाली दूताबाससंग समन्वय गर्ने पनि प्राथमिकताभित्र रहेको बताइएको छ। त्यसैगरी गौतम बुद्धको दर्शन र लुम्बिनीको सहि प्रचार गर्ने र बैंककस्थित एक पार्कमा लुम्बिनीको रिप्लिका निर्माण गर्न थाई सरकारको अनुमतिको लागि पहल गर्ने पनि योजनाको प्राथमिकतामा परेका छन्।

दुई वर्षे योजनामा विभिन्न कारणले थाईल्याण्डमा जेल जीवन बिताइरहेका नेपालीहरुसंग भेटघाट र आवश्यक सहयोग गर्ने साथै उनीहरुको अवस्थाको बारेमा परिवारमा जानकारी गराउने रहेकोछ। अर्को बैंककमा बारम्बार सुन्ने गरिएका ठगी र मानव तस्करी सम्बन्धि समस्याहरुलाई अध्ययन एवं न्यूनीकरण गर्न एक संयन्त्र निर्माणगरि पीडितलाई आवश्यक सहयोगको वातावरण मिलाउने पनि प्राथमिकता भित्र रहेको बताइएको छ।

त्यस्तै गरी पुर्ख्यौली कागजातको अभावमा एनआरएनको सरकारी परिचय पत्र आवेदन गर्न नमिल्ने अवस्था रहेका हजारौं नेपाली मुलका विदेशी नागरिकहरुलाई नेपाल सरकारको एनआरएन सम्बन्धि ऐनमा उचित सम्बोधनको लागि एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति र नेपाली दूताबासमार्फत थप पहल गर्ने पनि योजनाको प्राथमिकतामा रहेको बताइएको छ। यो समस्या म्यानमार र मलेसियामा पनि रहेकोले यसका लागि एनआरएन थाईल्याण्ड, म्यानमार र मलेसिया मिलेर संयुक्त सम्मेलन गरि आवश्यक कदम चल्ने योजनामा उल्लेख छ।

उक्त ३१ बुंदे योजना र कार्यक्रमप्रति थाईल्याण्डका लागि कार्यवाहक राजदूत तथा एनआरएन थाईल्याण्डका प्रमुख संरक्षक डोरनाथ अर्यालले टिप्पणी गर्दै प्रस्तावित कार्यक्रमहरु नेपाली समुदायको उत्थानमा कोसेढुंगा हुने बताउनु भयो। ठगिएका नेपालीहरुको हीतका लागि मिलेर काम गर्न पनि उहाँले आव्हान गर्नुभयो। विद्यालय निर्माण गर्ने, पर्यटन र संस्कृति प्रबर्द्धन गर्ने योजनाहरु अत्यन्तै सराहनीय भएको र आफूले सम्पूर्ण कार्यक्रमको कार्यन्वयनमा कुनै कसुर नराखी सहयोग गर्ने बताउनु भयो।

त्यसैगरी युनिसेफ थाईल्याण्डका प्रमुख बिजय राजभण्डारी एनआरएन थाईल्याण्डले प्रस्ताब गरेका कार्यक्रमहरु अत्यन्तै दूरगामी महत्वका रहेको र थाईल्याण्डस्थित हजारौ नेपालीमूलका युवा र महिलाको सामाजिक, आर्थिक अवस्थाबारे सर्वेक्षण गर्ने प्रस्ताबमा आफूपनि सहयोग गर्ने बताउनु भयो। दर्जनौ देशमा कामको सिलसिलामा समय बिताए पनि एनआरएन थाईल्याण्डमा जस्तो सोच र कार्यक्रम अन्य स्थानमा नभएको दाबी गर्नुभयो।

प्रस्तुत कार्यक्रमको समिक्षा गर्दै एनआरएन थाईल्याण्डका संरक्षक रमेश श्रेष्ठले सबै कार्यक्रमहरु अत्यन्त महत्वपूर्ण रहेका र एनआरएन थाईल्याण्डलाई थाईल्याण्ड सरकारमा पनि दर्ता गराउने योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले थाईल्याण्डले सबल नेतृत्व पाएको र आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्घता पनि ब्यक्त गर्नुभयो।

सोही कार्यक्रममा बोल्दै एनआरएन थाईल्याण्डका संरक्षक रमेश हमालले प्रस्तावित कार्यक्रमहरु नेपाली समुदायको लागि नाउ हुने भन्दै यी कार्यक्रमहरुले आउने नेतृत्वहरुलाई पनि मार्गदर्शन गर्ने बताउनु भयो। अर्का संरक्षक डेभिड खनालले वर्तमान नेतृत्वले थोरै समयमै धेरै काम गरिसकेको र सबैले सकारात्मक सोच राखेर प्रस्तावित कार्यक्रमहरूलाई सफल बनाउन लग्नु पर्ने सल्लाह दिनुभयो।

राष्ट्रिय समन्वय समितिको तेस्रो विशेष बैठकबीच सम्पन्न उक्त समारोहमा नेपाली राजदूताबास, र एनआरएन थाईल्याण्डका पूर्व अध्यक्षहरु रमेश श्रेष्ठ, रमेश हमाल र मनोज रानालाई सम्मान गर्दै वर्तमान अध्यक्ष खगेन्द्र ढकालले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा वर्तमान उपाध्यक्ष दिलबहादुर थापा (हरि)ले एनआरएन थाईल्याण्डको नयाँ कार्यक्रमहरुलाई कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षहरुसंग आग्रह गर्दै नेपाली दूताबास र थाईल्याण्डमा कार्यरत उच्च ओहोदामा रहनुहुने नेपालीले सहयोग गर्दा धेरै काम गर्न सकिने अवस्था रहेको बताउनु भयो। कार्यक्रममा बिगत ४ महिनाको प्रगति विवरण महासचिब केदार तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब अरुण राज भट्टराईले गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा राष्ट्रिय समन्वय समिति र साखाका पदाधिकारीहरुका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको थियो। उक्त तालिममा एनआरएन थाईल्याण्डका ४० जना अगुवा कार्यकर्ताहरुले भाग लिनु भएको थियो। सकारात्मक सोच र सामाजिक कार्य (Positive thinking and social work), प्रभाबकारी सम्बाद (Effective communication), आर्थिक ब्यबस्थापन (Financial management of social organization), सामाजिक दायित्व (Social responsibility) र समस्या समाधान र निर्णय लिने क्षमता ( Problem solving and decision making) जस्ता ५ वटा विषयमा उक्त तालिम आयोजना भएको एनआरएन थाईल्याण्ड युवा संयोजक दिपेश श्रेष्ठले बताउनुभयो। मेघा चन्द, केदार तिमिल्सिना, हरि थापा, अरुण भट्टराई र खगेन्द्र ढकाल लगायतका विषयमा बिशेषज्ञहरुले उक्त ५ बिषयहरुमा तालिम दिएका थिए। सहभागीहरुलाई एनआरएनका संरक्षक डेभिड खनालले प्रमाण पत्र वितरण गर्नु भएको थियो भने निलिमा लिम्बुले तालिम सेसनको कार्यक्रमलाई संचालन गर्नुभएको थियो।

कार्यकर्ममा राज कर्माचार्यद्वारा संयोजित नेपाली राष्ट्रिय गीत र नृत्यहरु प्रस्तुत भएका थिए भने कार्यक्रमको अन्त्यमा एक अत्रियम बैंकक होटेलमा रात्रि भोजको पनि आयोजना गरिएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस