एचकेनेपाल डट कम संवाददाता-
लुम्बिनी, १ माघ। लुम्बिनी शान्ति म्याराथनको मिति घोषणासगै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा बुधबार आयोजना गरिएको छ। मुलुककै पहिलो पिस म्याराथन आयोजना गर्न लागेको लुम्बिनी पिस म्याराथनले त्यसकै तयारीका लागि शान्ति पदयात्रा गरेको हो।

भगवान बुद्धको पाइला पछ्याउँदै नारा दिइएको म्याराथन आगामी मार्च १६ मा आयोजना गरिने लुम्बिनीका सदभावना दूत बिक्रम पाँडेले गरिने जानकारी दिए। शान्ति दिपबाट शुरु भएको पदयात्रा मायादेवी मन्दिर परिक्रमा गर्दै पुनः शान्ति दिपमै आएर सकिएको थियो। पदयात्रामा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, किर्तिमानी धावक बैकुण्ठ मानन्धर, लुम्बिनीका आवासीय भिक्षुहरु, व्यवसायी, खेलाडी र स्थानीयको सहभागिता थियो।

पदायात्रापछि आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष पाँडेले सन् २०१२ यता लुम्बिनी प्रवद्र्धनका लागि गरिएका कार्यक्रहरुको निरन्तरताको कडीकै रुपमा शान्ति पदयात्रा गरिएको जनाए। उनले भने, “गत बर्ष लुम्बिनी भ्रमण बर्ष २०१२को समापनको अबसर पारेर पिस म्याराथन गर्न सफल भएका थियौ, आज पिस वाकको आयोजना गर्यौं। अब मार्च १६ मा पहिलो पटक लुम्बिनी पिस म्याराथन गर्दैछौं।”

नेपालमै पहिलोपटक आयोजना हुने म्याराथनलाई हरेक बर्षमा निरन्तरता दिईने आयोजकले जनाएका छन्। यस्ता कार्यक्रमले लुम्बिनीकै प्रवद्र्धन हुने भन्दै पाँडेले थपे, ‘पिस म्याराथनकै माध्यमबाट हामी लुम्बिनीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउन चाहन्छौं। यसकालागि पिस म्यारथनको निरन्तरतामा हाम्रो जोड हुनेछ।’ पदयात्रापछि आयोजित कार्यक्रममा पूर्व मिस नेपाल श्रेष्ठले पदयात्रामाझैं म्याराथनमा पनि सहभागी हुन सबैमा आग्रह गरिन्। ‘लुम्बिनीको प्रवद्र्र्धनका लागि हुने म्याराथनमा सबै नेपालीले भाग लनुपर्छ। मेरो शुभकामना छ,’ उनले भनिन्।

लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयले शान्ति पदयात्राको निरन्तरतामा जोड दिए । विश्व शान्तिको सन्देश फैलाउन यस्ता कार्यक्रम फलदायी हुने भन्दै उनले लुम्बिनीको प्रचारका लागि बृहत म्याराथनको आयोजना सार्थक हुने विश्वास व्यक्त गरे। ‘शान्तिको मुहान लुम्बिनी हो भन्ने प्रचारका लागि म्याराथन एउटा सरल र सकारात्मक उपाय हो,’ उनले भने।

म्याराथन आयोजनाले प्राचीन तिलौराकोटलगायत गौतम बुद्धको जन्मस्थलसहित यहाँका महत्वपूर्ण सम्पदाहरुको प्रचार प्रसार हुने आयोजकको विश्वास छ। ४२ किलोमिटरको म्याराथन तिलौराकोटबाट शुरु भइ गोटिहवा, कुदान, दोहनी, बरहिया, पकडी, लबनीहुँदै मायादेवी मन्दिरमा सकिनेछ। पुरुष र महिला गरी दुई बिधामा छुट्टाछुट्टै हुने म्याराथनमा खुला र विद्यार्थीका लागि ५ किलोमिटर र १० किलोमिटरको कर्पाेरेट रिले समेत आयोजना गरिनेछ।

कार्यक्रम संयोजक शिखर पाँडेले म्याराथनमा स्वदेशी र विदेशी गरी कम्तिमा २ सय धावकहरुले सहभागिता जनाउने विश्वास व्यक्त गरे। प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएकाले सहभागितामा भन्दा प्रचारमा ध्यान दिइएको पाँडेको भनाई थियो। उनले भने, ‘विदेशबाट समेत यो प्रतियोगिता बारे जिज्ञासाहरु प्राप्त भएका छन्। म्याराथन बुद्ध जन्मस्थलमा हुने भएकाले विश्वको ध्यान आकर्षित हुन्छ भन्ने विश्वास हो।’ म्याराथनलाई खेलकुदभन्दा पनि लुम्बिनी प्रवद्र्धन र रमाइलो उत्सवको रुपमा मनाइने उनले जनाए।

तस्वीर सौजन्यः लुम्बिनी म्याराथन

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस