Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

वर्खास्त मन्त्रीद्वारा प्रधानमन्त्रीलाई चुनौती

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले पदमुक्त गराइएकी निर्वतमान श्रम तथा यातायात मन्त्री सरिता गिरीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा गिरीले राज्यका सम्पूर्ण संयन्त्र लगाएर आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न समेत प्रधानमन्त्रीलाई चुनौती दिईन्।

साक्षात्कारमा उनले प्रधानमन्त्रीले ब्यूरोक्रेसिको दवावमा परेर आफूलाई हटाएको दावी गर्दै आफूबाट भ्रष्टाचार गराउने योजना असफल भए पनि बाध्यताबस पदमुक्त गरेको आरोप लगाईन्। उनले भनिन्-मलाई चार वटा नयाँ म्यान पावर दर्ता गर्न दवाव थियो। मैले मानिनँ त्यसैले मलाई भ्रष्टाचार गराउने योजना असफल भएपछि हटाईएको हो।

उनले नेपाल सरकारका सचिव र सहसचिव इमान्दर भए कुनै पनि किसिमको भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्दै आफू मन्त्री रहिरहँदा भ्रष्टाचार गर्न असजिलो भएकोले हटाईएको दावीसमेत गरिन्। आफूलाई प्रधानमन्त्रीले धेरै दवाव आयो राजिनामा दिएर सहयोग गर्नुस भनेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई भ्रष्टाचारीको तर्फबाट दवाव आएको समेत बताईन्।

प्रधानमन्त्रीसँगको भेटमा आफूले बैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पूर्णचन्द्र भट्टराईले भ्रष्टाचार गरेको लिखित प्रमाणनै बुझाएको भन्दै प्रधानमन्त्रीको जवाफ पछि आफूले सो प्रमाण सार्वजनिक गर्ने चेतावनी दिईन्। पछिल्लो पटक सोमलाल सुवेदीलाई सचिव बनाएर आफूलाई काम गर्न अप्ठ्यारो पारेको गुनासो समेत उनले साक्षात्कारमा गरिन्।

आफूले मन्त्रालय र मातहतको कार्यालयहरुलाई पारदर्शी गर्न पुनसंरचनाको काम सुरु गरिसकेको अवस्थामा महानिर्देशक भट्टराईले सहयोग नगरेको आरोप लगाउँदै मन्त्रीलाई असहयोग गर्ने सहसचिवलाई तीन महिनाको लागि काज सरुवा गर्न नसक्ने मन्त्री पदमा बस्नु भन्दा नबस्नुनै उचित भएको टिप्पणी गरिन्।

प्रधानमन्त्रीले प्रशासन यन्त्रलाई आफ्नो पूर्ण नियन्त्रणमा पारेर शक्ति एकै ठाँउमा केन्द्रीत गरेर कम्यूनिष्ट शासन चलाउन योजना अनुसार काम गरिरहेको आरोप लगाउँदै सचिवको गुनासो मुख्य सचिवले सुन्ने ब्यवस्था गरेर मन्त्रीलाई स्वतन्त्र ढंगले काम गर्न नदिने बातावरण बनाएको समेत बताईन्।

उनले आफ्नो पार्टीले सरकारलाई दिएको र्समर्थन आजैबाट फिर्ता लिएको घोषणा गर्दै अब प्रधानमन्त्री चुनावसम्म मधेसीहरुलाई कुनै न कुनै रुपमा अल्झाएर खतम पार्ने षडयन्त्रमा लागेको आरोप समेत लगाईन्।

प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेको विषयमा लगाएको आरोप सम्बन्धमा उनले मन्त्रालयको विषयमा सञ्चारमाध्यममा विभिन्न खाले टिप्पणी आएकोले त्यसलाई स्पष्टिकरण दिन पत्रकार सम्मेलन आयोजना गरेको भन्दै पत्रकार सम्मेलनले प्रधानमन्त्रीलाई कसरी दवाव दियो भनेर प्रश्न समेत गरिन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by