एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १० चैत्र । पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपालले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका एघार जना प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गरेका छन्। यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन्।
नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्र्बर्धन, संरक्षण र जागरणमा समर्पित जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यलाई प्रदान गरिएको छ।
त्यसै गरी, नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गरियो।
राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत प्रदीप नेपाललाई नइ इश्वरवल्लभ पुरस्कार प्रदान गरिएको छ। साथै अनीता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गरिएको छ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा महत्त्वपूर्ण योगदान गरेवापत डा.देवीप्रसाद सुवेदीलाई नइ इश्वर बराल पुरस्कार प्रदान गरिएको छ। केशव आचार्यलाई नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा समर्पित भई गरिमाशाली योगदान पुर्याएवापत नइ भाजप पुरस्कार प्रदान गरिएको छ।
गीतसङ्गीतमार्फ जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनुका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउनसमेतको योगदानका निम्ति भारत, दार्जिलिङका चन्दन लम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गरियो।
यसै गरी, मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी पिङ्की गुरूङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान भएको छ। त्यसैगरी, विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने वेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईको ‘रात ढलेको थिएन’ कवितासङ्ग्रह र जया राईको ‘बेकर स्ट्रिका दुई आँखा’ कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको छ।
समारोहमा पूर्व प्रधानमन्त्रीद्वय विष्ट तथा नेपालले राजेश्वर देवकोटाद्वारा लिखित माया’ (निबन्धसङ्ग्रह), प्रमिला उप्रेतीद्वारा लिखित ‘अकथा’ (कथासङ्ग्रह), सरला घिमिरद्वारा लिखित ‘डुब्दाडुब्दै’ (कवितासङ्ग्रह) को सार्वजनिकीकरण गरेका छन्।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न सो समारोहमा पूर्व प्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट तथा माधवकुमार नेपाल, पुरस्कृत व्यक्तित्वहरु र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गरेका थिए।
समारोहमा दार्जीलिङ भारतकी डेजी बराइलीले उनको प्रसिद्ध गीत ‘भैसी लड्यो है माया’ गाएकी थिइन्। नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष दस लाख रूपियाँ राशिको पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ।