देवराज राई / एचकेनेपाल डट कम –
नयाँ वर्षको पहिलो दिन नेपाली समुदायका लागि ऐतिहासिक दिन बन्यो, हङकङका राम्रा श्रष्टाकलाकारहरु एक भई नेपाली गीत संगीतको विशिष्ट कार्यक्रम प्रस्तुत गर्न सफल भए । यसको एउटै कारण थियो – नेपाली गीतसंगीतका मूर्धन्य श्रष्टा अम्बर गुरुङको हङकङ आगमन।

अनुभव, दर्शन, विश्व सांगीतिक ज्ञानकालागि महासागर ७६ वर्षीय अम्बर गुरुङ याउ मा तेई कम्युनिटी हलमा उपस्थित हुनुभयो। पार्किकिनसन्स रोगसित युद्ध गर्दै शारीरिक शिथिलता, बोलीमा अस्पतष्ट भएता पनि उहाँ गीत,संगीत प्रस्तुत गर्नु भयो, संगीत प्रयोगबारे बोल्नु भयो । हङकङ गायक कलाकारहरुलाई आशिर्वाद् दिनुभयो । वरिष्ठ संगीतकार दिनेश सुब्बा उहाँको अवस्थाका बारेमा भन्नुहुन्छ “उहाँको अस्पष्ट बोलीबाट स्पष्ट विचारहरु लिने बेला यही हो । बलेको आगो क्षणिक हो तर भुंग्रोको तातो नै दीगो हुन्छ।“


तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

हिमालयन टोन्स् म्युजीक एकेडेमी हङकङको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिनेश सुब्बाले हङकङेली नेपाली कलाकारहरु र नेपाली समुदायको तर्फबाट महासंगीतकारको रुपमा अभिनन्दन्े गर्नु भएको थियो।

अम्बर गुरुङले संगीत गर्नु भएको नेपाली राष्ट्रीय गानबाट प्रारम्भ भएको कार्यक्रममा अम्बर गुरुङ स्वयंले अन्तरक्रियासंगै भारतमा अल इण्डिया रेडियोमा प्रतिबन्ध भएको गीत अगम सिं गिरीकोे शब्दमा रहेको – “नौ लाख तारा उदाए“ गीत र “म अम्बर हुँ तिमी धरती“ गीत प्रस्तुत गर्नु भयो । यस गीतहरुमा प्रयोग भएका विविध प्रसंगहरुका बारेमा चर्चा गर्नु भयो।

उहाँबाट संगीतवद्ध, स्वरवद्ध र रचनामा नेपाली गीत संगीतका कालजयी गीत, संगीतहरुलाई – नेपाली संगीत आकाशमा स्थापित कलाकारहरु बिक्रम गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, चेतमान गुरुङ, ज्ञान सुब्बा, राज तमाङ, सरला गुरुङ, कला चेम्जोङ र सोनाम महर्जनले आफ्नो स्वरमा प्रस्तुत गर्नु भयो।

अम्बर गुरुङ रात्री कार्यक्रममा दिनेश सुब्बाले संगीत संयोजन गर्नु भएको थियो। उहाँसँगै धन थापा, कृष्णभक्त महर्जन, यादव राई, मणि बान्तावा, स्वदेश महर्जनले वाद्यवादनमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको प्रारम्भमा अम्बर गुरुङ सम्बन्धी रबिन राईले तयार पार्नु भएको छोटो बृत्तचित्र प्रदर्शनी गरिएको थियो। कार्यक्रमको उद्घोषण देवराज राईले गर्नु भएको थियो।

हेनरी जी लेउङ याउ मा तेई कम्युनिटी हल हङकङमा साँझ ८ बजे प्रारम्भ भएको कार्यक्रममा हङकङमा आयोजना भएका कार्यक्रमहरुमा सबैभन्दा उत्कृष्ट रहेको श्रोता दर्शकहरुले प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा अन्तिम राई, गणेश न्यौपाने, विजय श्रेष्ठ, सरला गुरुङ, कला चेम्जोङ, शारदा गुरुङ, रोशा लिम्बू, हर्षित आले मगर, पवित्र राई, पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलका विधाथीहरुले समेत आफ्नो मेहनत खर्चिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस