लालबहादुर ढेंगा / एचकेनेपाल डट कम-
दुबई, युएई। दुबईको एभरेष्ट होटलमा युएईमा कार्यरत नेपालीहरुले अग्रेजी नयां बर्ष २०१४ लाई विविध रंगारंग सांस्कृतिक कार्यक्रमको माहौलका साथ शुभकामना आदानप्रदान गरेर मनाएका छन्। कार्यक्रम नेपाल पत्रकार महासंघ युएई शाखाले नयां बर्षको अवसरमा आयोजना गरेको हो।
कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन मध्य पूर्व संयोजक चन्द्र रोका रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहालले गर्नु भएको थियो। अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय कलाकारहरु, समाजसेवी, महिला र पत्रकारहरु रहेका थिए।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई औपचारिक कार्यक्रम पत्रकार त्रिलोचन कोइरालाले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई पत्रकार निमेष गिरीले संचालन गर्नु भएको थियो। अध्यक्ष अर्जुन दाहालको शुभकामनाबाट थालनी भए लगत्तै प्रमुख अतिथिबाट ब्यानरको उद्घाटन पश्यात् शुभकामना मन्तव्य कार्यक्रम संयोजक एकेन्द्र थापाले राख्नु भएको थियो।
साहित्यकार समदर्शी काइलाको कविता “आदिम गुफाबाट एकाबिहानै निस्किएर, अलिकतिमाथि देउरालीसम्म पुगेर,” बाचन लगत्तै “म त आउने थिएन, यहि चाल होला भनेर” प्रकाश न्यौपानेले गाएको गीतले हललाई तताउन सुरु गरेको थियो। हल तातेको मौकामा रमेश खड्काको हास्य नृत्यले सम्पूर्ण दर्शकलाई हास्दै लोटपोट हुन बाध्य तुल्याएको थियो। “डाडै फुर्के सल्लो” र “जिम्बाल बाको आगनमा सत्य नारायण पूजा भाको” गोपी कृष्ण पंगेनीको गीतमा सबै नाच्न थालेका थिए भने स्थानीय चर्चित कलाकार दीपक तमुको “फुल मन्जरीले” गीतमा गरेको नृत्यलाई सबैले मन पराए। “छाएछ बसन्त” रेखा घिमिरेले गाएको गीत पनि निक्कै सान्र्दभिक लाग्दथ्यो।
विविध सांस्कृतिक प्रस्तुतिका साथै कविता बाचनले पनि कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिएको थियो। कविता बाचन गर्ने साहित्यकारहरुमा समदर्शी काइला, बुनु उप्रेती, बिद्रोही साइला र उमेश राई रहेका थिए। सो अवसरमा चर्चित गायिका रेखा घिमिरेको “खुशी” एल्वम दुबईमा छायांकन गरिएको म्युजिक भिडियोको विमोचन गरिएको थियो। नेपालबाट आएका एशिया कप क्रिकेट टिमलाई एनआरएनए युएई र नेपाल पत्रकार महासंघ युएई शाखाले संयुक्त रुपमा खादा ओढाएर सम्मान समेत गरेका छन्।
नयां बर्ष २०१४ को पावन अवसरमा आ–आफ्ना मन्तव्य र शुभकामना राख्ने वक्ताहरुमा अर्जुन दाहाल, चन्द्र रोका, ज्ञानेन्द्र कार्की, कृष्ण भुसाल, डिआर गुरुङ, यामलाल पंगेनी, हेमन्त पौडेल, डियल शर्मा, राज बस्नेत, राजु खड्का, दीपकराज पौडेल, पिताम्बर पाण्डे र बाबुराम बिक रहेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b