बिल गुरुङ / एचकेनेपाल डट कम-
दोहा, कतार। कतारवासी तमूहरुले तमूहरुको महान पर्व ल्होसार भव्यताका साथ मनाउने तयारी गरि रहेको छ । यस वर्ष सप्रि ल्हो (सर्प वर्ग) लाई बिदाई गर्ने र त ल्हो (घोडा वर्ग) लाई स्वागत गर्ने पर्वको रुपमा मनाईदै छ। तमू (गुरुङ) समाज कतारको आयोजनामा यहि आउने जनवरी १७ तारिख शुक्रवार मुञ्तजा स्थित अलअरबि स्पोर्टस क्लबको हलमा विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुतिहरुका साथ ल्होसार विशेष कर्याक्रम सम्पन्न हुदै छ।
तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा सम्पन्न भईरहेको नेपाली सांगीतिक मेला २०१३ को ग्राण्ड फिनालेलाई पनि सोही ल्होसार विशेष कार्यक्रमका दिन आयोजना गरिदै छ। “नेपाली कला र संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाहरुको खोजि गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको नेपाली सांगीतिक मेलामा विभिन्न विधामा स्थानिय कलाकारहरुले प्रतिष्पर्धा गरि रहेका छन्। विशेषत बैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत नेपाली प्रतिभावान कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउन एउटा मञ्चको व्यवस्था गर्न यो सांगीतिक मेलाको आयोजना गरिएको आयोजकहरु बताउछन्।
तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष आशबहादुर गुरुङका अनुसार एकल गायन प्रतियोगिताबाट गैरआवासीय नेपाली तारा २०१३ कतार, एकल नृत्य प्रतियोगिताबाट गैरआवासीय नेपाली नृत्य तारा २०१३ कतार, लोकदोहोरी गीत प्रतियोगिताबाट उत्कृष्ठ लोकदोहोरी समूह २०१३ कतार र युगल तथा सामुहिक नृत्य प्रतियोगिताबाट उत्कृष्ठ युगल तथा सामुहिक नृत्य समुह २०१३ कतार छनौट गरिने छन्। ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गरेका कलाकारहरुले आआफनो प्रस्तुति पस्कनेछन्। ग्राण्ड फिनाले तथा अन्तिम छनौट चरणमा निर्णायकको ५० प्रतिशत अंक र बाँकी ५० प्रतिशत अंक दर्शकको प्रत्यक्ष भोटको आधारमा विजेता छानिने व्यवस्था मिलाईएको छ। कार्यक्रममा सहभागि हुन दर्शकहरुको लागि क्रमशः ३०, ४० र ५० दरका टिकटको व्यवस्था गरिएको छ।
नेपाली सांगीतिक मेला २०१३ कार्यक्रमका संयोजक तथा तमू (गुरुङ) समाज कतारका अध्यक्ष बिमल गुरुङका अनुसार तमूहरुको महान पर्व ल्होसारलाई प्रवासमा भए पनि विशेष बनाउने प्रयास स्वरुप विभिन्न तयारी भई रहेका छन्। ल्होसारसंग सम्बन्धित विभिन्न प्रस्तुतिहरु रहनुका साथै सांगीतिक मेला कार्यक्रमको ग्राण्ड फिनाले पनि सोही दिन हुने भएकोले यस वर्ष कतारको तमू ल्होसार बास्तवमा नै बिशेष हुनेछ।
ग्राण्ड फिनालेमा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्न र आआफनो प्रस्तुति पस्कन रिमा गुरुङ होडा, नन्दिता केसी, राजु गुरुङ र देबिका गुरुङलगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कतार आउने भएका छन्। कतारमा आयोजना गर्न लागिएको यस प्रकारको छुटटै कार्यक्रमलाई सफल पारिदन आयोजकले सम्पूर्ण कतारवासी नेपाली दाजुभाई र दिदीबहिनीहरुसंग सहयोगको अपेक्षा समेत गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b