राजु गुरुङ / एचकेनेपाल डट कम-
कुवेत। बैदेशिक रोजगारिमा रहेका प्रबासी तमूहरुले यसपाली ‘सप्री’ ल्हो (सर्प बर्ग) लाई बिदाइ गरी ‘त’ ल्हो (घोडा बर्ग) लाई स्वागत गर्दै भब्य रुपमा मनाए।

जहाँ रहे पनि आफ्नो मौलिक संस्कृति र परम्पराहरुलाई संरक्षण एवं प्रबर्धन गर्ने प्रयासका साथ स्थापना भएको तमू समाज, कुवेतको आयोजनामा शुक्रबार कुवेतको अब्बासियास्थित वेड्डिङ हलमा सम्पन्न भएको हो। सचिब राजु गुरुङद्वारा औपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष खोप गुरुङले गर्नु भएको थियो।

तमू समाज कुवेत


प्रमुख अतिथि कुवेतका लागि प्रथम नेपाली राजदूत मधुबनप्रसाद पौडेलद्वारा दिप प्रज्वलन गरी उदघाटन गरिएको कार्यक्रममा नेपाली दूताबास कुवेतका सदस्यहरु, कुवेतमा स्थापित अन्य संस्थाका प्रमुखहरु, समाजसेवी तथा बुद्धिजीबीहरु, पत्रकारहरु तथा अन्य आगन्तुकहरुको बाक्लो उपस्थिती रहेको थियो।

तमू साँस्कृतिक परिवारका कलाकारहरुद्वारा राष्ट्र सम्मानको निम्ति नेपाली राष्ट्रिय गीत तथा तमू जातिय स्वभिमानको निम्ती ‘तमू ह्युल्सा’ गाएर शुरुवात भएको उक्त ल्होछार पर्वमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई समाजका उपाध्यक्ष नबिन गुरुङले मन्तब्यद्वारा स्वागत गरेका थिए भने ल्होछार कार्यक्रमका संयोजक तथा समाजका सल्लाहकार अमर गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आउँदै गरेको ‘त’ ल्हो को शुभ कामना दिनु भएको थियो। त्यस्तै गरी अन्य शुभकामना मन्त्यब्य दिनेहरुमा गैरआवासीय नेपाली संघ, कुवेतका अध्यक्ष धर्मराज गिरी, मगर समाज, कुवेतका अध्यक्ष मित्र सिन्जाली मगर हुनुहुन्थ्यो। प्रमुख अतिथि राजदूतले कुवेतमा रहेका तमूहरुले आफ्नो जातिय पहिचान र सँस्कृति संरक्षणको लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै घोडा बर्गको आगमनको अवसरमा सबैमा शान्ति, शुख र समृद्धिको शुभकामना दिनु भयो।

ल्होछार कार्यक्रमको महत्वपूर्ण भाग रहेको स्याँई स्याँई कार्यक्रममा समाजका सल्लाहकार एवं जेष्ठ ब्यक्तित्व मान बहादुर गुरुङद्वारा ‘सप्री’ ल्हो (सर्प बर्ग) र ‘त’ ल्हो (घोडा बर्ग)का महिला तथा पुरुषहरुलाई रिपा (पैरु) लगाइ बिदाइ तथा स्वागत गर्दै रिपा (पैरु) लगाइ शुभकामना दिएका थिए। त्यस्तै गरी प्रबास मै भए पनि तमू भेषभूषा प्रतिको लगाब र स्नेह दर्शाउने दुई पुरुष र दुई महिलाहरुलाई तमू समाज कुवेतले कदरपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो।

कार्यक्रमको दोस्रो चरणलाई समाजका महासचिब धिरज गुरुङ र महिला सदस्य रञ्जना गुरुङको युगल जोडीले निकै रोमाञ्चक रुपमा सञ्चालन गरेका थिए। सो चरणमा तमू साँस्कृतिक परिवारका कलाकार तथा स्थानीय कलाकारहरुद्वारा तमू संस्कृतिमा आधारित नृत्यहरु, आधुनिक गीत तथा नृत्यहरुद्वारा भरपूर मनोरञ्जन दिएका थिए। बिशेष गरी सालैजो गीत, कौडा नृत्य, तमू भाषाका गीतहरुले दर्शकहरुलाई नाँच्न वाध्य बनाएका थिए भने नबिन श्रेष्ठको हाँस्यब्यंग प्रस्तुतीले सबैलाई हसाएको थियो त्यस्तै गरी गोपिन गुरुङको साहसिक ‘स्टण्ड’ ट्युबलाईट नृत्यले दर्शकहरुलाई भाव-विभोर तुल्याएका थियो।

सोही अवसरमा गत ११ अक्टोबर २०१३ का दिन तमू समाज, कुवेतको आयोजनामा सम्पन्न सामुहिक रक्तदान कार्यक्रममा सहभागी स्वंयसेवी रक्तदाताहरुलाई कुवेत सरकारद्वारा सञ्चालित सेन्ट्रल ब्लड बैंकद्वारा जारी कदर-पत्र बितरण गरिएको थियो। कुवेतमा पहिलो पटक रक्तदान जस्तो मानबीय कार्य गरेकोमा खुशी प्रकट गर्दै नेपाली दूताबासको नाममा सेन्ट्रल ब्लड बैंक द्वारा जारी ‘मोमेन्टोस’ पनि सोही अवसरमा तमू समाजका पदाधिकारीहरु द्वारा महामहिमा राजदूतलाई हस्तान्तरण गरेको थियो।

ल्होछार पर्व कार्यक्रममा तमू चेलीहरुले तयार पारेको सेल रोटी, अचार र तरकारीको स्वादिष्ट परिकारले उपस्थित सबैलाई भोजन गराएको थियो। समाजले सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुप्रति आभार प्रकट गरेको थियो त्यस्तै गरी अतिथि कलाकार तथा नृत्य निर्देशकद्वय नबिन श्रेष्ठ र सञ्जीब श्रेष्ठ एवं नृत्यकार मनिता छिस्तललाई पनि आयोजक तमू समाजले कदर पत्रसहित सम्मान गर्‍यो। अन्त्यमा सम्पूर्ण कलाकारहरुलाई कदर-पत्र र मायाको चिनोद्वारा सम्मान गर्दै सभापति खोप गुरुङद्वारा कार्यक्रम बिसर्जन गरिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस